शिक्षक हरिलाई सबैभन्दा मन पर्ने कृषि तथा पशुपालन

गुल्मी जिल्लाको बलिथुमस्थित टारीमा जन्मी जुभुङ र टारीको गाउँबेँसी गर्दै हुर्केका हरिप्रसाद गौतम हाल काठमाडौँको स्वयम्भूनजिकै बस्ने गर्छन् । २४ वर्षदेखि उनी छाउनीनजिकै रहेको स्वर्णिम स्कुलमा अध्यापनरत छन् । ‘शिक्षण’ उनको मुख्य पेसा भए पनि लेखन, साहित्यको अध्ययन, भ्रमण, चित्रकला र पौडीमा पनि उनको विशेष रूचि छ । छुट्टीका दिनमा गीत सुन्ने र प्राकृतिक वातावरणले युक्त स्थानहरूको भ्रमण गर्दै रमाउने गर्छन् । आम मानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेका १०’ स्तम्भमा यसपटक उनै गौतमलाई प्रस्तुत गरिएको छ ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मेरो सबैभन्दा मनपर्ने खाना नेपाली सादा खाना हो । यसअन्तर्गत सामान्यतयाः दाल, भात, तरकारी र चटनी पर्दछन् । यसका साथै म सलाद, फलफूल, अङ्कुरित गेडागुडी र घिउ विशेष मन पराउँछु । हुन त म कहिलेकाहीँ माछामासु पनि खान्छु तर यी मेरा रोजाइका विषय खासै होइनन् । मलाई नेपाली खाना मन पर्नुको एउटा विशेष कारण छ । त्यो हो: आफ्नोपन र पौष्टिकताको खानी । दालमा शरीरको वृद्धिविकासका लागि चाहिने प्रोटिन, भातमा काम गर्नका लागि चाहिने शक्तिको स्रोतको रूपमा कार्बोहाइड्रेड, तरकारीमा शरीरको लागि चाहिने भिटामिन अनि चटनी/अचार वा सलाद आदिमा दिमागका लागि चाहिने फाइबर र पाचन अवयवलाई सक्रिय राख्ने तत्त्व पाइने हुँदा मलाई नेपाली खाना मन परेको हो । यसका साथै म मिठो खानाको पारखी पनि हुँ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
हुन त आमाको काख जस्तै प्यारो आप्नो जन्मभूमि नै हरेकका लागि लाख हुन्छ । यसमा मेरो पनि दुईमत छैन । त्यसैले जन्मस्थान टारीका वन पखेरा, नदीकिनार, जुभुङका वनपाखा र डाँडाकाँडाप्रति मेरो अमीट छाप छ । यिनै परिवेशमा नै मैले देख्ने हररातका सपनाका कथा रचिन्छन् । तैपनि यसबाट अर्को विकल्प मेरा सामु तेर्सिन्छ भने त्यतिबेला मेरा ओठबाट अनायासै निस्कने शब्द हो : पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो स्थल मेरो मात्रै होइन, संसारभरका प्रकृतिप्रेमी र भ्रमणको पारखीहरूका लागि पनि पहिलो रोजाइ हो । मेरा यी शब्दहरू मात्रै यसको वर्णनका लागि योग्य नहोलान् !

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाई सबैभन्दा मन परेको पुस्तक ‘योजनगन्धा’ हो । औपन्यासिक शैलीमा लेखिएको यो पुस्तक महाभारतको कथावस्तुमा आधारित छ । यस पुस्तकमा तात्कालीन पात्र र परिवेशलाई साँच्चै रोचक र वैज्ञानिक ढङ्गलले प्रस्तुत गरिएको छ । हुन त पाठ्यपुस्तकपछि मैले पढेको पहिलो पुस्तक अन्धविश्वासलाई चिरफार गरिएको मोदनाथ प्रश्रितद्वारा लिखित ‘भूतप्रेतको कथा’ हो, जुन मैले कक्षा ६ मै पढेको थिए । त्यसै गरी मलाई निकै छोएको अर्को पुस्तक ‘जीवन काँडा कि फूल’ हो ।

४. तपाईंलाई सबैभन्दा मन परेको मान्छे को हो ? किन ?
स्वभाविक रूपले बाआमाजत्तिका पूजनीय र आफ्नै छोराछोरीजत्तिको प्यारा त सायदै कोही होलान् । शीलस्वभाव, कर्तव्यपरायणता, सहनशीलता अनि सहयात्राका आत्मीय सम्बन्ध र प्रेमका हिसावले मेरी जीवनसँगिनी मेरो आत्मा हुन् भन्दा पनि फरक नपर्ला । तर, घरपरिवारबाट बाहिर निस्केर कुरा गर्नुपर्दा ‘ढुण्डिराज अर्याल’ सर पहिलो गणित शिक्षक र ‘भेषबहादुर केसी’ सर विज्ञान शिक्षकका रूपमा यो मनले रोजेका व्यक्ति हुन् । स्वभावका हिसाबले जीवनमा दीन पन्थी, शशी पन्थी सरहरू अनि श्रीकृष्ण गौतम मामा र रञ्जन दाहाल भाइलाई कहिल्यै बिर्सन सक्दिनँ । हुन त नेता र अगुवाहरू धेरैलाई मन पराएँ र क्रमशः उनीहरूप्रति विश्वास गुमाउँदै पनि गएँ तर एउटा दूरदर्शी र कुशल नेता बन्न सक्ने व्यक्तिको रूपमा मैले वालेन्द्र शाहलाई मनमा सजाएको छु । व्यक्तिगत चिनजान नभए पनि उनी नै अहिले मेरो मन परेका मान्छे हुन् । त्यसैले भन्न मन लाग्छ, भोलि निराश हुन नपरोस् ।

५. तपाईंलाई सबैभन्दा मन परेको आफ्नै बानी के हो ? किन ?
आफ्नै आत्मालाई ढाँट्न सकिन्न भन्छन् त्यसैले मैले मलाई कसरी ढाँटुला र ! ‘अनवरत लागिरहने, गल्तीबाट सिक्ने र घमण्ड नगर्ने’ मेरा मलाई नै मन परेका बानी हुन् । दुःखीप्रति करूणा, दया, आदर्शवादिता र धार्मिक प्रवृत्ति मैले आमाबाट र सहनशीलता मैले बाबाबाट सिकेको छु । तैपनि, कुनै पनि रहस्यलाई बुझेर अन्तिम निष्कर्षमा नपुगी थकाइ नमार्ने बानी नै मलाई मन परेको आफ्नै बानी हो ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
हुन त विपी र पुष्पलालका बारेमा मैले पढेँ र उहाँहरू प्रति कृतज्ञ रहेँ । मदनलाई सुनेँ र देखेँ पनि । तर मनमोहन अधिकारी, जसको कार्यकाल बहुदलीय व्यवस्था आएपछिको अहिलेसम्मकै स्वर्णिम समय ठहरियो । उनै मेरा मन परेका नेता हुन् । अझ प्रदिप ज्ञवाली र चन्द्र भण्डारी गुल्मीका गहना हुन् तैपनि मेरो मन जित्न सफल रहेका नेताचाहिँ ‘मनमोहन अधिकारी’ नै हुन् ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
जात, धर्म, भाषा, क्षेत्रका हिसाबले मेरो देश र समाजमा विविधता छ । हरेक चाडका आफ्नै विशेषता छन् । त्यसैले पनि यो चाड राम्रो भन्नु बाबाभन्दा आमा जाती भनेजस्तै हो । जब कि जीवनमा बाबाको अहम् भूमिकालाई कम आँकलन गर्नै मिल्दैन । त्यसै गरी एउटा चाड रोज्नुपर्दा मलाई दशैँ मन पर्छ । बिदा मात्रै होइन, महान् चाडको नामले परिचित यो पर्वले पारिवारिक जमघट र मिलन गराउनुका साथै ठुलाको आशीर्वाद र सानालाई गरिने मायाले गर्दा यस चाडकै कारण पारिवारिक तथा आफन्तबिचको सद्भाव र मायाको गाँठो बलियो हुन्छ । यही नै यसको खास कारण हो ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
मलाई सबैभन्दा मन पर्ने पेसा कृषि तथा पशुपालन हो । आवश्यकता, जमाना, परिस्थिति र रूचिले गर्दा मान्छेहरू अहिले थुप्रै पेसा र व्यवसाय अँगाल्न बाध्य छन् । आधारभूत आवश्यकता परिपूर्तिको पहिलो घटक खाना हो, त्यसपछि छाना अनि नाना आउँछ । यी आएपछि बल्ल आउँछन् शिक्षा, स्वास्थ्य र रोजगारका कुरा । त्यसैले पनि कृषिलाई यति धेरै महत्त्व दिइएको हो । नितान्त प्रकृतिमा रम्दै जीव तथा वनस्पतिको माध्यमबाट आफू बाँचेर अरूलाई बचाउने पेसा कृषि नै भएकाले मलाई यो पेसा मन पर्छ । कृषिपछि मेरो रोजाइ भने शिक्षण नै हो ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
रङ प्रकृतिलाई सुन्दरताले सजाउने अर्को थप तत्त्व हो । यसले आँखाका माध्यमबाट मनमा भिन्न विचार ल्याउन सक्छ । रातो, नीलो, पहेँलो, हरियो, कालो, सेतो आदि रङहरूमध्ये मलाई मन पर्ने रङ पहेँलो हो किनकि यो रङ सकारात्मकता, खुसी, सिर्जनशीतलता जस्ता कुराको द्योतक हो । यसका साथै सेतो र रातो रङ पनि मलाई मन पर्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
गीतसङ्गीत मन बहलाउने कुरा मात्रै होइन अभिव्यक्तिको एउटा सुन्दर माध्यम हो । गीत केवल एउटा गीतमा मात्रै सीमित रहन्न । यसले सर्जकको भावना, सङ्गीतकारको कला, गायकको गलालाई प्रतिनिधित्व गर्छ र श्रोताको मनलाई आकर्षित गर्छ । हुन त सङ्गीतको कुनै भाषा हुँदैन भन्छन् । तर यसमा मनको इच्छा, पीडा, प्रेम, घटना आदि धेरै कुरा समेटिन्छन् । तोकेरै भन्नुपर्दा मलाई लोकजीवनका लय तथा नारायण गोपालका सबै गीतले छुने गरेका छन् तर मलाई मन परेका गीतहरूमध्ये रोज्नुपर्दा ‘फूलको आँखामा फूलै संसार’ भन्ने बोलको गीत हो । किनकि यस गीतबाट हेराइमा सकारात्मकता अनि व्यवहारमा जीवात्माप्रतिको करूणा र दयालाई चित्रण गर्दै राम्रो बाटोमा लाग्न प्रेरित गरिएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button