वृद्धाश्रम बनेको गाउँ मानविहिन नबनोस्, विश्वमानचित्रबाटै नओझेलियोस् देश

देवका पन्थी

बहिनी उत्साहित छ, विदेश जाने भोक उसको बढ्दै गएको छ ।

‘नानी ! तिमीले पनि आफ्नो गन्तव्य विदेश नै रोज्यौ ? तिमी त पढाइमा अब्बल मान्छे, जति पनि रोजगारीका अवसर यही पाइएलान् नि होइन र ?’, म सानो प्रश्न गर्छु ।

मेरो प्रश्न सकिदानसकिदै बहिनीको प्रतिउत्तर आइहाल्छ, ‘दिदी ! कस्तो कुरा गर्नुहुन्छ तपाईं ? के छ नेपालमा, जागिर पाउन कति मुस्किल, कति किताब कण्ठ गरेर लोकसेवा लड्यो अन्त्यमा त्यो तलब ? न एउटा राम्रो फोन बोक्न पाउनु, न सुविधासम्पन्न आवास, न छोराछोरीलाई राम्रो शिक्षादिक्षा नै दिन सक्नु ? तपाईंले जत्ति यो कुरा कसले बुझ्न सक्छ, मास्टर गरेर समय अनुसारका शैक्षिक प्रमाणपत्र थुपारेर के हात पार्नु भो ? अनि व्यापार व्यवसाय गरौं भने यत्रो लगानी लागाएर पढियो, फेरि थप लगानी अनि यो मन्दी ? खोइ आजसम्मको कमाइले तपाईंले एउटा राम्रो फोन ? घर, भाइहरुको पढाइ ? के राम्रो छ दिदी के ?’

गतिलो झापट लगाई बहिनीले ।

राम्रै स्थापित भएकी दिदीकी छोरी बाहिरिन लाग्दा मन थाम्न सकिन र सोधें, ‘नानी ! तिमी सरकारी जागिरे, ज्वाँईको पनि राम्रो नोकरी छ, छोरी राम्रो स्कुलमा पढेकी छ । समाजमा तिमीहरुको नाम छ, दाम छ । तिमी जस्ता विदेश गए यहाँ को बस्छ ? हामी त बिल्कुल एक्लै पो हुने भयौँ त ?’,

‘आन्टी, म सरकारी जागिरमा प्रवेश गरेको दस वर्ष भयो । मैले के पाएँ ? नर्सिङको जागिर कति पेलान छ, यस्तो खटिएर काम गर्नु, न त स्तरउन्नति न त स्किल डिभलोप्मेन्ट । कमसे कम उमेरमै ठाउँ पुगे त केही गरुँला नि, यत्तिको काम गरेपछि पक्कै पनि म अगाडि बढ्न, पद नाम र स्किल त कमाउँला नि, म कहिलेसम्म यसरी कुजिएर बसुँ भन्नू त ?’, छोरी उत्तर दिन्छे ।

म के भनुँ, दिमाग घुमिरहेको थियो तर उत्तर केही थिएन ।

यसो सोचेँ, समय अनुसार परिवर्तन हुनुपर्छ भन्थे सायद यही होला परिवर्तन । के राम्रो फोन, सुविधासम्म्पन आवास, छोराछोरीको पढाइ, यसैका लागि हो त नयाँ पुस्ता विदेशिन लालायित ? कस्तो हो वैयक्तिक विकास ? कसले गरे हुन्छ यसको शुरुवात ? के विदेशिनु र विदेशी भुमिमै सम्भावना देख्नु समस्याको समाधान हो ?

दशैँको बेला घरतिर गएको, पहिलापहिला जस्तो रौनक कतै छैन । ओहो, त्यो बेला लाहुरेहरु अत्तर छर्केर बाटो नै मगमगी बास्ना आउने गरी ठुलो बाकसमा ताल्चा बजाउँदै लस्कर लागेर आउथें । घर, आँगन, स्कुल चोकचोकमा सरसफाइ हुन्थ्यो । गाउँभरी युवाको लहर । पिङ, चङ्गा, लिपपोत, खसीमार, मन्दिरको बाजागाजा, रेडियोको मंगल धुन । अहिले गाउँ त छ तर सुनसान । धुन त बज्छ, सुन्ने कानहरु ? युवाहरु एकदम न्यून सङ्ख्यामा मात्र छन्, चहलपहल पनि कति कम । प्राय घरहरुमा बृद्धअवस्थाका केही जोडी मात्र देखिन्छन् । सोध्यो भने जवाफ उहीँ छ, छोरा अमेरिका, छोरी अस्टेलिया । हजुराआमाको नातिपनाति खेलाउने सपना मात्रै । हजुरबुवाको नवपुस्तालाइ कथा कहानी सुनाउने कल्पना मात्रै । बिरामी परे पैसा आउँछ, फोनमा नाति नातिनीले हेल्लो ग्र्यानी भने उनीहरु मख्ख । आफ्ना सन्तान आउने आसमा सास झुन्डाएका उनीहरु देहत्याग गरे भने पनि समयमा लास समेत उठ्दैन । दशैँमा छोरी ज्वाइँ आउलान् र टीका लगाइदिउँला भन्ने सोच पनि छैन उनीहरुमा । कहिले नातिनातिनी जन्माउने हुन् र तेल लगाउन जाउँला भनेर कुर्ने दिन पो आएछन् । पहिले बृद्ध बुवाआमा एक्लै हुन्थे । आजभोलि त प्रौढ दाइ भाउजू, जेठाजु जेठानी दिदी । निकट भविस्यमा हाम्रो पनि त्यस्तै होला । रोकेर कतिन्जेल रोक्न सकिन्छ, पखेँटा लागेका बचेरालाई । रोक्नु पनि कसरी ? कुन प्रलोभन देखाउनु ? हामी सानो हुदा भुपी शेरचन, लक्ष्मीप्रसाद देवकोटाका कृति पढेर भावुक हुन्थ्यौँ । देशको माया उम्लेर कणकणमा छाउँथ्यो । म मरे पनि मेरो देश बाँचिरहोस् भन्दै गुनगुनाउँदै हिंडिन्थ्यो । अहिले त नौ कक्षा पुग्दानपुग्दै कुन देश राम्रो होला भनेर गुगल हेर्न थाल्छन् । भन्लान्, के विदेश जानेको मनमा नेपालप्रति माया हुँदैन ? म भन्छु, अहँ हुदैन, बिल्कुल हुँदैन । उनीहरुका आफन्तलाइ पनि उनीहरुको माया हुँदैन । हुने भए सन्जालमा पिआर पाएकोमा छोरा बुहारीलाई बधाई अनि ग्रीनकार्ड पाएकोमा बहिनीज्वाँइलाई बधाई भनेर किन प्रचारबाजी गरिन्छ ?

धेरै विपन्नताले ग्रसित मेरो मुलुकमा कैयौंको रोजीरोटीको लागि विदेशिनु बाध्यता हो । तर ती चारो खोज्न गएका आफ्नो घर सम्झेर अवश्य फर्कनेछ्न् । उनीहरुको लागि रोजगार अवसर दिलाउन नसक्नु नेतृत्वपंक्तिको कमजोरी हो । तर पढाइ, सिप, अर्थ सबै हुँदाहुँदै केही गरौं, मबाट शुरु गरे पनि होला नि भन्न नसकेर पैतृक सम्पत्ति बेचेर अझ म भन्छु देशको माटो बेचेर, बैंकबाट, आफन्तबाट ऋण खोजेर, पढाइको बहाना बनाएर विदेशिने नयाँ पुस्तासँग खेद छ मेरो ।

‘मैले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?’, जबसम्म यो सोचको विकास हुँदैन, युवा यसरी नै भिडको पछाडि विमानस्थल छिरिरहन्छ । मेरो देशको मुटु चिरिरहन्छ । माथी राजनितिक लडाइँ छ, युवा बाह्य बसाइसराइमा व्यस्त । दुख बढ्दै गएको छ । अहिलेसम्म बृद्धाश्रम बनेको मेरो गाउँ निकट भविष्यमा मानविहिन नबनोस्, मेरो देश विश्वमानचित्रबाटै नओझेलियोस्, मन पिरोलिरहन्छ, दुई चार शब्द लेखेर विचार प्रकट गर्दैमा देश विकास हुँदोरहेनछ । युवापुस्ताको चाह बमोजिम मेरो देश बनोस् । म सगरमाथा हेरेर चित्त बुझाउँछु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button