आमाले आफ्ना सपनाहरु भित्तालाई सुनाइरहनुहुन्छ

प्रकाश दाइ

जाबो सपना देख्नै नपरे हुन्थ्यो ।

साँच्चै, किन देखिन्छ हँ, छोडेको ठाउँको सपना ! किन देखिरहनुपर्छ जन्मेको गाउँको सपना !

के सबैलाई यस्तै हुन्छ ?

भन्नुस् न !

तपाईले भन्नुस् । हजुर हो तपाई, बिदेश बस्ने तपाई ! शहर बस्ने तपाई ! गाउँ भन्दा पऽर बस्ने तपाई !

के तपाईलाई पनि सपनाले गाउँ देखाउँछ ? प्लिज भन्नु न !

के बच्चाकालका यादहरु, चल्ने चलचित्र भएर चल्छन् त मनसमा !

अनि शहर बस्ने तपाईको कुरो के हो ? मेरो जस्तै त होइन नि !

मेरो त हरेक सपनमा गाउँ आईरहन्छ ।

साँच्चै, गाउँमै बस्ने आमाको सपनमा के आउँदो हो ? सोध्न मन लागेको छ । तर सोध्न सकेको छैन ।

कतै सपनमा तँ आउछस्, तेरो भाई आउँछ भन्नुभयो भने ! अझ त्यो भन्दा पनि डर, मैले देख्ने सपनमा तिमीहरु मैसँगै हुन्छौ भन्नुभयो भने !

मलाई आमाले सुनाउने सपनासँग डर लाग्छ । उहाँले भाई, बुवा/ हजुर आमा, म, बुहारीहरु, नातिनातिनाहरु एउटै छानामुनी बसेको देख्नुहुँदोरहेछ भने !

आफैले पकाएर पस्किएको, छोराहरुले इतिकन झोल मागेको, नातिले रिसाएर बोड्को घोप्टाएको र बुवाले- तैँले पनि खाई हाल, चिसो हुन्छ भनेको देख्नुहुँदोरहेछ भने !

मलाई आमाका सपना सुन्न डर लाग्छ । आँत काप्छ ।

अहँ भो सोद्धिन । घर कुरेर गाउँमा एक्लै बसेकी आमालाई केही सोद्धिन !

उहाँलाई मेरा प्रश्नले दु:खाए भने !

मैले नसोधे पनि, आमाले आफ्ना सपनाहरु भित्तालाई सुनाईरहनुहुन्छ । मलाई थाहा छ, मलाई के पनि थाहा छ भने- आमाका सपना, घरको धुरीलाई थाहा छ । मोल्खाताको किम्मुले बुझेको छ । कुऽनामा धैँसो भएर बसेको कसौडिलाई थाहा छ ।

र, सप्पै कुरा देखिरहेको छ फुटेको ठेकाले । र लेख्दैछु म बुबुरो छोराले !

शहर बस्ने छोरो र चिसो भित्तो उस्तै त रहेछन् । सबै थाहा छ, गर्न केही सक्दैनन् ।

उम्हुँ भो सोद्धिन, आमाका सपना !

बुवा ! पऽर, परदेश हुनुहुन्छ ।

के एक आखर सोधी हेरौँ त बुवालाई । बुवा, भन्नु न- हरेक दिन सपनमा के आउँछ !

उम्हुँ, होस् ।

बुवा कोमल हुनुहुन्छ । मेरा प्रश्नले बुवाको घाँटी अठ्याउँछ । बक्य निस्कदैन ।

म बुवालाई दुखाउन चाहन्न । मलाई थाहा छ, मैले नदुखाए पनि- हरेक दिन आउने सपनाहरुले बुवालाई दुखाईरहन्छन् ।

हुर्क्याईको आधार र भुगोल सपनका मुख्य स्रोत हुँदारहेछन् ।

पक्कै पनि बुवाको सपनामा- हिँडेका गोरेटा, जोतेका बारी, घाँसका भारी, खेलेका दौँतरी, दुई भाई छोराहरु आउँदा हुन् । र, आईरहनुहुँदो हो आमा ।

बुवा र आमा हरेक दिन देखिने सपनामामात्रै सँगै हुनुहुन्छ ।

अझ भनु न- भेटघाटको प्लेटफर्म भएको छ सपना !

समयले उहाँहरुबिच यस्तो बार लगाईदियो, भेट्न बर्ष कुर्नुपर्छ । बोल्न, फोन हेर्नुपर्छ ।

अलग, अलग बस्दाबस्दै- आत्मा पनि अलग हुँदो रहेछ ।

बुवाको टाउको दुख्दा, सिटामोल र पानी खुवाउने सौभाग्य आमासँग कहिल्लै भएन । आमालाई खोकी लाग्दा- काँसेको आवज बुवाको कानसम्म बतासले पुर्याउन सकेन ।

भावना तुहियो ।

हरेक दिन साइकलका पाईडल चलाउँदै अफिस जाने बुवाको मनमा, राती देखेको सपना खेल्दो हो । घर जाने अत्यासले जिउ लुल्लिदो होँ ।

मन अल्झाउँदै, गाँठो पार्दै फेरि त्यसैलाई फुकाउँदै- दैनीकी धकेलिरहनुभएको छ बुवा ।

भो सोद्धिन, भन्नु न बुवा हरेक दिन सपनामा के देख्नुहुन्छ !

मैले नसोधे पनी, बिदेशी भुमीले हरेक दिन सोधिरहन्छ । गिज्याईरहन्छ । मैले थाहा नपाएको स्वाङ पारे पनी, सबै कुरा साईकलले थाहा पाएको छ ।

उसैले सुनिरहेको छ, बुवाका मौन बेदनाहरु ! र बुवाले बुझ्नुहुन्छ साइकलका प्रश्न । उसले, घर कैले जान्छस् ओई तँ ? भनेर सोधेको बुवालाई थाहा छ ।

अब तिन बर्ष त हो- हिजोआज अनयासै बोल्नुहुन्छ बुवा, साईकलसँग । र, आसा भरिएका आँखाहरुले अक्कास हेरेर, खुईया गर्नुहुन्छ होला ।

३१ बर्ष गैगयो, अब तिन बर्ष त हो ! बुवा एक्लै मुस्कुराउनुहुन्छ पनि होला- कहिलेकाँही ।

हरेक मान्छेले सपना देख्छन् ।

अमेरिका पुगेको भाई हरेक दिन नेपाल देख्दो हो । उ धेरैपटक ऐठन परेको छ सपनाहरुले । धेरै रातहरुमा उ एक्लै बर्बराएको छ पक्कै । उस्ले आमा बिरामी परेको देखिरहन्छ । किनकी उ आमाको अलिक धेरै चिन्ता गर्छ ।

घर छोडेपछि घरको महत्व थाहा हुन्छ । देश छोडेपछि देश र आमाको महत्व बुझिन्छ ।

त निद्रामै ‘आमा’ भनेरो बोलाएको होला कतिपटक ।

सपना देख्दादेख्दै जागेको रात, ऐठन परेको रात निद्रा फर्कदैन । भागी जान्छ । र अर्कोदिन, ह्याङमा बित्छ । न कामको मेसो न पढाईको । बस एक तमासाले टन्किरहन्छ टाउको ।

भाईलाई सम्झिरहेको छु । उस्का सपना मैले भोगी आएको छु ।

हरेक भाईको सपना यस्तै छन् । हरेक आमाका सपना यस्तै छन् । धेरै बाहरुका सपना यस्तै छन् ।

बस्ने भुगोल र बोल्ने भाषा बदलिन्छ । बदलिएको छ । सुत्ने खाट र ओड्ने सिरक फरक छ । तर देख्ने सपनामा- भाषा आफ्नै आउँछ । भुगोल आफ्नै आउँछ ।

के कसैले हिन्दी/ अङ्रेजी/ कोरियन/ जापानीज/ अरबी भाषमा सपना देखेको होला ?

मलाई त्यस्तो लाग्दैन । नेपालमै हुर्किएर लाहुर पुगेकाहरुको दिमागमा आफ्नो गाउँठाउँ र भाषा छोडेर अर्को कुनै भुगोल र भाषाले कब्जा जमाउंछ जस्तो लाग्दैन ।

एकाध घटना हुनसक्छन् । अथवा ति घटना पनि स्वाङ सिवाए अर्थोक होइनन् ।

यस्तै छ । सपनाका कथा यस्तै छन् ।

सपनाले जती दुखाउँछन्, उत्तिकै आसावादि गराउँछन् । बाँच्नुको आधारमा परिणत गराईदिन्छन् ।

नत्र, घाँस दाउरा गर्दा नसा दवेका ठुला काकाले गोरेगाउँ पुगेपछी, हरेक दिन खर्यान र पँधेरो देख्छु भतिज किन भन्दा हुन । र किन भन्दा हुन- म फर्केपछी गाउँमै बस्छु । एउटा घडेरी खोज त !

दु:ख भयो भनेर गाउँ बेचि हिन्नेहरुलाई पनि सपनाले खेदिरहंदो रहेछ ।

यसैले त गाउँका फोटा कसैले हाल्दियो भने- सेयर गरिहाल्छन् बेलोटे माल्दाई, तराई बसेर । के थाहा उन्ले अघिल्लो रात, सपनामा गाउँ टेकेका पो थिए कि !

गाउँ छोडेर ३४ बर्ष शहर बसेका ति काकालाई किन शहरका सपना आउँदैनन् ?

के गाउँ छोडेपछी मात्रै सपनामा गाउँ देखिने हो ? बिपनामा पुग्दाम हुने हो ?

यि प्रश्नहरु सुन्दा हलुङ्गा छन् । सजिला छन् । एकातिरका सपना बोकेर अर्कैतिर बस्नु पर्ने जिन्दगीहरु- देख्दा सुकीला देखिएलान् ।

मनमा गाँठैगाँठा छन् ।

यिनै गाँठा फुकायो, फेरी कँस्यो, फुकायो …

यस्तै हुँदारहेछन् सपनाका जिन्नगीहरु !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button