भाषणमा सहिदको बाटो हिँड्ने प्रण गरिन्छ तर व्यवहार ठ्याक्कै विपरित

सहिद दिवस

सागर साउद

देशको विगतदेखि वर्तमानसम्म सुनौलो दिनको आशा जगाउने व्यक्ति, बिना स्वार्थ देश र जनताको भलाइको लागि आफ्नो प्राण त्याग गर्ने व्यक्ति, आफ्नो ज्यान सुलीमा राखेर राष्ट्र र रा्ट्रियताको लागि लड्ने व्यक्ति । यी र यस्तै जे जस्तो नामले सहिदलाई सम्झिँदा पनि सायदाई त्यो कमी नै हुन जान्छ । तर हिजो र आजमा सहिदप्रति गरिएको अपमान र सम्मानका बीचमा हामी हिँडिरहेका छौं ।

प्रथम सहिद लखन थापादेखि गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्रीहरू लोकतन्त्रका आधार स्तम्भ भएर उभिएर त्यहाँदेखि आजसम्मका सहिदहरूले हाम्रो शासन प्रणालीलाई परिस्कृत पार्न आफ्नो प्राण आहुति दिए । त्यही विद्रोह र क्रान्तिको बलमा सामन्त र तानाशाही शासकहरूले राज्यसत्ता गुमाए भने राजनीतिक दलहरू सत्ताको बागडोर सहाल्न पुगे ।

सपना सुनौलो बिहानीको थियो, अँध्यारा दिनहरूको अन्त्यको लागि थियो । जसको भर्याङ बनेर शासक र राजनीतिक दलहरू सत्ताको वागडोरमा पुगे उनीहरू कहिल्यै पनि सहिदको सपनालाई पुरा गर्नतर्फ लागेनन् । लागे त केवल झिनाझम्टी र अदुरदर्शी खेलतर्फ । विभेद, असमानता, पछ्यौटेपन, गरिबी र कु–संस्कार, कु–राजनीतिक परिस्थितिका विभिन्न रूपहरू समाजमा जारी छन् । यो एक आइसवर्ग जस्तो भइरहेको छ, जसको नौ भाग पानीमुनि र एक भाग पानीमाथि ।

हिजो सामन्तवादको नाइके भनिने राजतन्त्रको अन्तपछि मानिसहरूले सोचेका थिए, अब सामन्तवादका विभिन्न रूपहरूको अन्त्य हुनेछ । यसैका लागि जनयुद्ध र जनआन्दोलनमा हजारौंको वलीदानी भएको छ । तर एक रूपको अन्त्य हुँदैमा अर्को रूपबाट छुट्टै सामन्तवादको विकास भइरहेको देखिन्छ । सपना बेच्ने नौलो तरिका, विभिन्न शब्द जाल र अपारदर्शी व्यवहार यहाँभित्रका नयाँ सामन्तवादका रूपहरू बनेर भित्रिएका छन् । सायद आज यस्तो नयाँ रूपमा नयाँ शोषणका रूपहरू जन्मँदा हुन् त हिजोका सहिदहरूले आफ्नो ज्यान आहुती गर्दैनथिए होला ।

परिस्थिति सकारात्मक रूपमा अगाडि बढ्नु पर्ने हो । सहिदको सपनालाई केही मात्रामा नै भए पनि पछिल्लो पिंढीले सम्झिनुपर्ने हो । तर जसले उनको सपनाको भर्याङ चढेर सत्ता र शासनको वागडोर सम्हाले उनीहरूले नै सम्मान गर्न हिचकिचाएको देखिन्छ । भाषण र बोलीमा विभिन्न तरिकाबाट सहिदलाई सम्झने र उनैको बाटो हिँड्ने प्रण गरिन्छ तर व्यवहार त्यसको ठ्याक्कै विपरित ।

सहिदहरु शालिक बनेको दशकौं हुँदासम्म पनि उनीहरूको सम्मान हुन सकेन, साँच्चिकै सहिदको सम्मान गर्न उनीहरूको आत्माको शान्तिको लागि देशमा अमन, चयन, शान्ति सुव्यवस्था, नागरिक अधिकार, जनमतको सम्मान, दिगो विकास, समानता, समानुपातिक विकास, कानुनी शासन, विधिको शासन हुन जरुरी छ, नेपाली आमाको मुहारमा उज्यालोपन ल्याउन शहीदले बगाएको रगतको सम्मान गर्न सहिदको गालामा माल्यार्पण गरेर होइन, रोइरहेको देश र सोही देशका नागरिकको मुहारमा हासो ल्याउन सक्नु पर्छ ।

टार्ने हैन सदैव स्वस्थ र सफा मनले शहीदको सम्मान र स्मरण गरिनुपर्दछ, अनन्त सम्पूर्ण महान सहिदहरु प्रति हार्दीक श्रद्धासुमन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button