कविताः प्रेमप्रसादको मार्मिक आत्मकथन
सुप्रिया खनाल
जीवनमा आइपर्ने चुनौतीपूर्ण
कठिनाइहरू पार गर्दै
बाँचिरहेको म
अनि रोदनको पोखरीमा
डुबेर पनि हाँसिरहेको म
आज आफैले आफैलाई
अपहरण गर्न बाध्य भएको छु
यो लुटतन्त्रको जालमा अल्झिएर
भयावह मृत्युवरण गर्न बाध्य भएको छु ।
चाहना त मसँग पनि नभएको होइन
श्रीमतीसँग काँधमा काँध मिलाएर हिँड्नलाई
अनि आइपर्ने समस्यासँग भिड्नलाई
जीवनभर छोराछोरीको हात समाउनलाई
मुस्काउँदै खुसी परिवार बनेर रमाउनलाई
तर आज राज्यले नै घात गरिदियो
म र मेरो परिवारको भविष्य बर्बाद गरिदियो ।
गल्ती भयो, माफी चाहन्छु
को पराई को आफ्नो चिन्न सकिन
गरीब थिएँ सायद त्यसैले
पैसाले आफन्त किन्न सकिन
साहस भएन अनुहार देखाउने
बैइमानीको रूपमा चिनिएपछि
अहँ सकिन बाँच्न
पीडाको पोकोले मन पिनिएपछि हिम्मत गरेँ मर्न
ताकि म जस्तो हजारौं युवा गल्न नपरोस्
लुटतन्त्र र ठगीकै कारण
फेरि पनि कोही प्रेम आगोमा बल्न नपरोस् ।
देखेन राज्यले घिनलाग्दो लाज देखेन
घोक्रो फुट्ने गरी चिच्याएको
अन्याएको आवाज देखेन
मौन बस्यो एक युवाको
मस्तिष्क गलिरहँदा
तमासा हेरिरह्यो सरकार
बीच बाटोमै मान्छे जलिरहँदा ।
राष्ट्रपति, प्रधानमन्त्री हुँदै वडा अध्यक्षसम्म
डिर्पामेन्टर स्टोर, मार्ट हुँदै किराना पसलसम्म
ठूला उद्यमीदेखि मेनपावरसम्म
बैंकदेखि सहकारीसम्म
एजेन्सीदेखि स्कुल कलेजसम्म
सबै मिलेर मभित्रको राक्षस जगाएका हुन्
म आफै जलेको कदापि होइन
मलाई त यिनीहरूले नै आगो लगाएका हुन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)