मलाई एक्लै उड्न मन छ, के तिम्रो हात मैले समाउनै पर्छ र ?
के तिमी मलाई स्वीकार्न सक्छौ र ?
कशिस दाहाल
बालापनदेखि अहिलेसम्म अपुर्ण छु भनी
शब्दको वाण छोड्ने यो समाजमा
के तिमी मलाई स्वीकार्न सक्छौ र ?
सपना त मेरा पनि थिए
तर तिम्रो त्यो किन्तु, परन्तुले मेरो प्रेरणाको छत् भताभुङ्ग पारिदिए ।
म पनि तिमी जस्तै सक्षम छु भनी
के तिमी मलाई आफ्नो क्षमतामा बाँच्न दिन सक्छौ र ?
मलाई एक्लै उड्न मन छ
के तिम्रो हात मैले समाउनै पर्छ र ?
नारीलाई पुजा गरी नारीमाथि अपहेलना गर्ने यो समाजमा
के तिमी मलाई स्वीकार्न सक्छौ र ?
होला जिन्दगीको दौडमा म तिमीसँगै भाग्न त नसकुँला
तर मैले अहिले हार खाएकी त छैन नि
म अशक्त हुँ, अशक्षम त हैन नि
मेरो अशक्ततामा तिम्ले आफ्नो श्रेष्ठता देखाउन जरुरी त छैन नि ।
भाग्यले ठगेकी नै त भन्दिन म
तर तिमीभन्दा संघर्षको अर्थ मैले बुझेकी छु
मलाई समर्थन देखाउ त भन्दिन म
तर, अधुरो छु भनी सहानुभूति पनि नबेच्नु मलाई ।
तिमी जस्तै सपनाको उडान भर्न मलाई नि मन छ
त्यसैले म जस्तो छु त्यसरी नै
के तिमी मलाई स्वीकार्न सक्छौ र ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Bravo!!! Happy for you.Keep writing?.