वसन्तपुर दरवारमा भेला भएर राष्ट्रिय अखण्डताको सपथ लिने बेला आएको छ

प्रा.डा. वीणा पौड्याल

वि.सं. १८०१ मा गोर्खाका राजा पृथ्वीनारायण शाहले (वि.स १७७९–१८३१) नुवाकोट आफ्नो राज्यमा गाभे । घर, छिमेक राज्यहरुमा सन्धि, शर्त, मित्रता गरेर काठमाडौ उपत्यका प्रवेश गरेका पृथ्वीको सपना विशाल थियो । भुरे, टाकुरे साना राज्यहरुलाइ एउटै राष्ट्र बनाउने अठोट गरेका पृथ्वीलेसबै निति अवलम्वन गरे । आफूले आँटेको कार्यमा यधर्मशास्त्र, ज्योतिष र सल्लाहकारले तगारो हालेमा उनी त्यसको विकल्प खोजेर आफ्नो कार्य अगाडि बढाउँथे । यस्ता उदाहरण थुप्रै छन् । थर गोत्रले विवाह रोकेमा गोत्र परिवर्तन गरेर आवश्यकता अनुरुप विवाह पनि गर्दथे ।

भूगोलसँगै मन पनि एकिकरण गर्ने धुनमा थिए पृथ्वीनारायण । उनको राष्ट्र निर्माण अभियान केही इतिहासकारहरुले औल्याएको जस्तो साम्राज्य विस्तार कदम पक्कै पनि हैन । नेपालको राजनितिमा आएको युगान्ताकारी परिवर्तनले थुप्रै ढोकाहरु खुले । त्यही ढोकाहरुमध्ये केहिबाट हुरी, वतास र बाढी पनि प्रवेश गरे । केहि रङ्गिन सपना र नाराको आवेशमा साँस्कृतिक सम्पदामा पर्ने सालिक ढालियो, तोडफोड गरियो ।

उनको निर्देशन (विशेष वचन) आज पनि हाम्रो देशको भौगोलिक स्थिति, सिमा, परराष्ट्र नीति, व्यापार, नैतिकता, कर्तव्य, संस्कृति र संस्कारलाई बुझ्न, अवलम्वन गर्न समेत सान्दर्भिक र उपयोगी छ । जसलाई नकार्न सकिदैँन । धन कमाउनुभन्दा जोगाउनुलाई बुद्धिमानी ठानिन्छ । त्यस्तै पाएको धनको रक्षा गर्नेलाइ “लव्धप्रशमनम्” शब्दको अर्थमा शव्दकोषमा अर्थाइएको छ । पृथ्वी नारायण शाहले पनि विजय प्राप्त गरेका भूमिलाई रक्षा गरेर जोगाएको अर्थमा इतिहास वेत्ताहरुले लव्धप्रशमनम् शब्दको प्रयोग गरेका छन् । अठारौँ शताब्दिमा विश्वको राजनिति साम्राज्यवादको लहर चलेको थियो । सेना र हतियारको आडमा साना देशलाई ठुलाले आफ्नो भूमिमा गाभ्ने चलन अभियानकै रुपमा थियो । भारत वर्ष र चीन जस्तो विशाल राष्ट्रहरुको बीचमा च्यापीएको नेपाल जस्तो सानो राष्ट्रले आफ्नो अस्तित्व जोगाउन चाल्नु पर्ने कदम र नीतिको बारेमा पृथ्वीनारायणको नीति राजनैतिक दर्शन प्रष्ट थियो । उनले नेपालको परराष्ट्र नीति र त्यसलाई अवलम्वन गर्ने मार्ग पनि दर्शाएका छन् । अन्नपात प्रशस्त नहुने सुख्खा माटोका मालिक १२ हजार घरधुरीमा बस्ने जनता, व्यापारको लागि त्यति अनुकुल नभएको नाकाहरु, कल कारखाना नखुलेको गरिब र विकट देशका राजा भए पनि पृथ्वीको आत्मबल, आत्मविश्वास र आँट जाँगर र नैतिकता उच्च स्तरको थियो । उनको नेतृत्व गर्ने इच्छा, शक्ति र क्षमता अब्बल थियो । लिच्छवीकालका राजाहरुले पाचौँ शताब्दिमा, पश्चिम नेपालका खसमल्लहरुले तेह्रौँ, चौधौँ शताब्दिमा आफ्नो शैन्य शक्ति बढाएर नेपाल राष्ट्रलाई एकिकरण गर्ने प्रयत्न पनि गरेका देखिन्छ । धार्मिक यात्राको क्रममा भएपनि रिपुमल्लले लुम्विनीमा रहेको प्रसिद्ध अशोक स्तम्भको माथिल्लो भागमा आफ्नो नाम लेखेको देखिन्छ । खशमल्लहरुले काठमाडौ उपत्यकामा धार्मिक पूजा पाठ विशेष यज्ञ गर्ने कार्य सँग सगैँ लुटपाट गरेर नगद, गरगहना, अन्नपात समेत लगेको जितारि, आदित्य, रिपु र पुण्यमल्ल आदिले उपत्यकामा आक्रमण गरेर जितेको प्रमाणहरु छन् । सोह्रौ शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजा मुकुन्द सेनले पनि स–साना राज्यहरुलाई जितेर एउटै राज्य बनाउने प्रयास गरेका थिए तर त्यो उपाधी लिन र अर्थ संकलनमै सिमित भयो ।

पृथ्वी नारायण शाहले नीति र राजनीतिशास्त्रका ग्रन्थहरु खोजेर संस्कृत भाषा र व्याकरणका ज्ञाताबाट व्याख्या गरेर सुन्ने, मनन गर्ने एवं् त्यसलाई व्यक्त गरेका उदाहरण छन् । गोरखाका पण्डितहरुले पृथ्वीनारायणलाई राम्ररी न्यायपूर्वक शासन चलाउन यज्ञवल्कस्मृतिको मिताक्षरा टीका अध्ययन गर्ने सल्लाह दिए । त्यो ग्रन्थ गोरखामा पाइएन, तनहुँमा मिताक्षरा पाइए पछि पृथ्वीले विवाराध्यायको १०÷८ श्लोकको अर्थ सुने । उनले तुरुन्तै भने यो ग्रन्थ सुनेर त्यही अनुसार काम गर्न सकिएन भने धेरै पाप लाग्दछ, त्यसैले अहिले सुन्दिन पछि सुनौला । “मैले व्यवहाराध्याय हेन्र्या बषत छैन, क्या अर्थ भन्या व्यवहाराध्याय हेरे पछि त्यसमा कह्याको नगन्या ज्यादा पाप लाग्ला । नेहन्या त उस्तो पाप लाग्ला भन्याजस्तो लाग्दैन” । पृथ्वीको यस भनाइबाट उनको बुद्धिमता र व्यवहारिकता बारे अनुमान गर्न सकिन्छ ।

५२ वर्षको अल्प आयुमै वितेका पृथ्वीले ३१–३२ वर्षसम्म राज्य विस्तार देशको चौतर्फी विकासको लागि नीति निर्माण र निर्देशन, अपराध अनुसार कडा सजाय, परम्परा देखि चलेको धर्म,संस्कृति र परम्परा विथोल्ने स्वदेशी वा विदेशीलाई देश निकाला जस्तो दण्ड दिने व्यवस्थाको पनि कार्यन्वयन गरेका थिए । २० वर्षको उमेरमै गोर्खा राज्यको गद्दीमा बसेका पृथ्वीले एक दुइ वटा घटना बाहेक उरनठेउलो पन कहिल्यै देखाएनन् । औपचारिक शिक्षा नपाए पनि त्यसवेलाको चलन अनुुसार पण्डितबाट दरबारमै धार्मिक ग्रन्थ र नीतिशास्त्र, राजनीति र अर्थशास्त्रको शिक्षा यिनलाई दिइएको थियो । परिवारका मान्यजन र राजमाताले पुराण, रामायण, महाभारत, गीता भागवत पाठ गर्ने, सुनाउने र अर्थ लगाउने भएकाले पृथ्वीलाई राजनीति र नैतिकता बारे धेरै कुरा थाहा थियो । पृथ्वी नारायणको संझना र सम्मानको अर्थ शाहा वंशका राजाहरुको गुन गान पक्कै हैन । पुष २७ गते हामीलाई एकतावद्ध भएर अस्तित्व जोगाउन दिएको मूल मन्त्रको स्मरण दिवश हो । अव पृथ्वीको निर्माण वसन्तपुरको चर्चा गरौँ ।

२०७२ सालको भूकम्पले हनुमानढोका दरवार क्षेत्रका ऐतिहासिक एवं् पुरातात्विक स्मारकहरु पूर्ण रुपमा र आंशिक रुपमा क्षतिग्रस्त बनायो । काठमाडौ उपत्यका लगायत नेपालका २१ जिल्लाका ७५० भन्दा बढि स्मारकहरु क्षतिग्रस्त भए । नेपालका अधिकांश स्मारकहरु काठमाडौ उपत्यकामा केन्द्रित छन् । मूर्तिकला र वास्तुकलाको खुला संग्रालयको रुपमा रहेको काठमाडौ उपत्यका विश्व सम्पदा सूचीमा सूचीकृत सात वटा सांस्कृतिक सम्पदाहरु छन् । मल्ल राजा प्रताप मल्लले ने.स. ७९२ (वि.स १७२९) मा दरवारको मुख्य प्रवेशद्वारमा र ठूलो घण्टाको सामुन्ने जम्मा २ वटा हनुमानको मूर्ति स्थापना गरेपछि हनुमानढोकाको नामले चिनिन थालेको हो । प्रतापले वि.स १७१२ मै नासलचोकको पञ्चमुखी हनु मन्दिर बन।यक। थिय ा महिन्द्रमल्ल, प्रतापमल्ल र पृथ्वी नारायणका कृतिहरु हनुमानढोका दरवारक्षेत्रमा धेरै छन् जसमध्ये वसन्तपुरको नौ तले दरवार पृथ्वीको आदेश अनुसार निर्माण गरिएको विभिन्न क्षेत्रको कला वास्तुकलाको समिश्रण हो । पृथ्वी नारायण ४७ वर्षको हुदाँ वसन्तपुर दरवार निर्माण वि.स १८२६ मा गरिएको थियो । वि.स १८८७ मा टिपोट गरिएको वखतमानसिंहको संग्रहमा भएको एउटा कागजमा वसन्तपुर दरवारको चारै बुर्जाको नाम र नाप पनि दिइएको छ । आग्नेय कोणको बुर्जालाई विलासमन्दिर, नैऋत्यकोणको बुर्जालाई वसन्तपुर कैलाश, वायब यकोणको बुर्जालाई बङ्गला तथा ईशानकोणको बुर्जालाई लक्ष्मीविलास मन्दिर भनि लेखिएको छ । भूकम्प पछि वसन्तपुर दरवारको ३÷४ तला मात्रै बाँकी रहेको छ , माथिका सुन्दर बुर्जा र बारदली सबै भत्किएका छन् । नासलचोक र वसन्तपुर डवली तर्फ दरवारको भुईतलाको भित्तामा वि.स १८२६ का दुइवटा शिलालेख सुरक्षित छन् । शिलालेख र भाषा वंशावलीको आधारमा वसन्तपुर दरवारको केहि भाग पृथ्वी नारायण शाहका छोरा प्रतापसिंहको पालामा बनेको देखिन्छ । हनुमानढोका बारे विस्तृत अध्ययन गर्ने गौतम बज्र बज्राचार्य अनुसार मल्लकालमै भक्तपूरको वसन्तपुर र काठमाडौको वसन्तपुर दरवारको निर्माण भैसकेको थियो । पार्थिवेन्द्र मल्ल (वि.स १७३१–३७) को समयको एउटा ठ्यासफुमा वसन्तपुर नामको दरवारको उल्लेख छ । प्राकृतिक प्रकोप व अन्य कारणले मल्लकालिन दरवार भग्नावशेषमा परिणत भएपछि वा जीर्ण भएकोले भत्काएर पृथ्वी नारायण शाहले जगै देखि बनाएको देखिन्छ । कवि सुन्दरानन्द वंशको त्रिरत्न सौन्दर्य गाथामा वसन्तपुरको जग्गामा नयाँघर निर्माण गर्न वास्तु साधन गरेको वर्णन छ । वसन्तपुर दरवार वनाउँदा हरिवंश नामका ब्राह्मणलाई पृथ्वी नारायणले निर्देशन दिएको वर्णन पनि त्रिरत्न सौन्दर्य गाथामा छ ।

यस्तो भव्य भवन २०७२ वैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त भएको छ । हाम्रो भौतिक र अभौतिक सम्पदा नष्ट भएको छ । भुकम्पको लगत्तै पछि सम्पदा स्थलमा प्रारम्भिक सुरक्षा, अभिलेखिकरण र भण्डारण कार्य गरिएकोले पुरातात्विक महत्वका सामाग्रीहरु सुरक्षित भएका छन् । पुरातत्व विभागले सरोकारवाला र सुरक्षा निकायहरुसँग समन्वय गरी स्मारक तथा पुरातात्विक वस्तुहरुको उद्धार कार्य गरेकोले स्थानिय वासिन्दालाई सहज भएर जनजीवन सामान्य भयो र आवागमनको सुविधा भयो । भूकम्पले भत्किएको थियो, अैले पुन निर्माण भएको छ ।

आज वसन्तपुर दरवारको पटाङगिनीमा बसेर अतितका दिन सम्झदा र राष्ट्रिय एकता दिवसको प्रतिक्षा गर्दा राष्ट्र निर्माताको सम्झनामा यो शीर श्रद्धाले नतमस्तक भएको छ । आज फेरि एकपल्ट हिमाल, पहाड र मधेशको एकता चाहिएको छ । पृथ्वी नारायाणले संपूर्ण जीवन युद्धमै विताए । नयाँ राष्ट्र जोड्ने र त्यसलसाई जागाउन उनले चाणक्य नीति अपनाए । चाणक्यशास्त्र पढेर, लेखेर, पढाएर र अनुभवद्वारा उनी खारिएका थिए । पृथ्वी नारायणको अध्ययन प्रशस्त नभए पनि तीक्ष्ण बुद्धी र विभिन्न घटना परेर जान्ने भएका थिए । काठमाडौ उपत्यका प्रवेश गरेपछि उनले यहाँको मूर्त र अमूर्त साँस्कृतिक सम्पदाको सम्मान गर्दै त्यसलाई स्तरिय ढंगले संवद्र्धन गर्ने आदेश जारी गरे ।

गोरखा राज्यको सीमा बढाएर विशाल राज्य स्थापनाको सपना बोकेका पृथ्वीको कदम, विजय अभियान नेपाल राष्ट्रको एकिकरणमा टुङ्गियो । बेलायतको इष्ट इण्डिया कम्पिनीले भारतमा राज्य गरेपछि नेपालमा गाडेको आँखालाई पृथ्वीले झुक्न बाध्य बनाए जसले गर्दा यो देशलाई परतन्त्रबाट सँधै अलग राख्न सक्यो । एसियाको सानो देश भए पनि नेपालले स्वतन्त्र भएर शीर ठाडो पार्न सक्यो । आज वसन्तपुर दरवारको पटाङ्गिनीमा सबै भेला भएर राष्ट्रिय अखण्डताको लागि सपथ लिने बेला आएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button