… अनि कतारमा सम्पन्न विश्वकप फुटबल त्यसको ज्वलन्त उदाहरण हो
खेलकुदको महत्त्व
हरिप्रसाद गौतम
खेलकुद भन्ने शब्द सुन्नेबित्तिकै हाम्रो मनमा एकाएक खुसीको सञ्चार हुन्छ । यस्तो खुसी हरेक प्रकारका खेलले प्रदान गरिरहेका हुन्छन् । यसै कुरालाई आधार बनाउने हो भने खेलकुद भनेको मनोरञ्जनको प्रमुख माध्यम हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । यसका साथै खेलकुदले हाम्रो स्वास्थ्यमा पनि राम्रो प्रभाव पारेको हुन्छ । त्यसैले खेलकुदलाई खेलेर, कुदेर अनि हेरेरसमेत मनोरञ्जन दिने माध्यम भनेर बुझ्न सकिन्छ ।
जसरी खेल खेल्न र रमाउन जान्ने मान्छेले जीवन जिउन पनि जानेको हुन्छ, त्यसरी नै खेलका नियम बुझ्ने मान्छेले अनुशासनलाई पनि उत्तिकै राम्ररी बुझेको हुन्छ । मान्छेले यो समयदेखि खेल्न थाल्यो भन्ने ठ्याक्कै मिति तोक्न कसैले नसके पनि आजको मान्छेले अहिलेका चर्चित खेलहरू कहाँबाट सुरू भए, कसले सुरू गरे अनि यिनको अवस्था यस्तो छ भन्ने कुराको खोजचाहिँ गरिरहेको छ । यो संसारका थुप्रै देशमा विभिन्न खालका खेलहरू खेलिन्छन् । ती खेलहरूमध्ये कुनै खेल विश्वभरि चर्चित छन् भने कतिपय खेल त्यहीँका स्थानीयहरूले मात्र खेल्दछन् । आज संसारमा फुटबल, क्रिकेट, बास्केटबललगायत थुप्रै खेलहरू खेलिन्छन् । तिनकै माध्यमबाट देशको, समाजको अनि खेलाडी स्वयमको चर्चा जताततै हुन पुग्छ । अहिले कतारमा सम्पन्न विश्वकप फुटबल २०२२ यसको ज्वलन्त उदाहरण हो ।
दर्शकले हेरेर, खेलाडीले खेलेर अनि देशले चाहिँ खेललाई आफ्नो प्रतिष्ठासँग जोडेर फाइदा लिइरहेका हुन्छन् । खेलमा झट्ट हेर्दा सबै रमाइरहेका देखिन्छन् । तर, खेलकुदमा नियमहरू हुन्छन् र ती नियमको परिधिभित्र रहेर खेल्न निकै कठिन पनि हुन्छ । आयोजकले आयोजना गरेको खेलमा ठुलो रकमको लगानी पनि रहेको हुन्छ । विज्ञापन दिई व्यापार बढाउनेहरूले पनि यस्तै अवसर खोजेका हुन्छन् तर खेल यस्तो अवस्थामा आइपुग्न खेलाडी, प्रशिक्षक अनि आयोजकको निकै ठुलो भूमिका रहन्छ ।
यसरी आज सबैको मनोरञ्जनको माध्यम बनेको खेलकुदको निकै ठुलो महत्त्व छ । खेलले मनोरञ्जन अनि तन्दुरुस्ती प्रदान गर्नुका साथै हाम्रो प्रतिष्ठा पनि बढाइरहेको हुन्छ । त्यसैले आफ्नो क्षमताअनुसारको खेल खेलेर मनोरञ्जन लिनु अनि त्यसको महत्त्वलाई बुझेर यसलाई सम्मान गर्नु आजको हाम्रो कर्तव्य पनि हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)