तँसँग हुँदा ‘फास्ट’ म आज ‘स्लो’ भएको छु

साथी

सुप्रिया खनाल

आज वर्षौं अघिको जिन्दगीको
केही पन्ना पल्टाएँ
लाग्यो खाटो लागेको घाउ
फेरि बल्झाएँ
तेरो साथको सम्झनाले
मुटु रोएको छ
या यो भनौं
आँशुले आँखाको परेला धोएको छ ।

सुन् न,
आज पनि तेरो र मेरो फोटो
ग्यालेरीमा उस्तै छन्
तँसँग बिताएका हरेक पल
मस्तिष्कमा दुरुस्तै छन्
भुल्न खोजेर पनि पटक्कै
भुल्न सकेको छैन
साथी,
तँसँग जसरी अरुसँग खुल्न सकेको छैन ।

तलाई लाग्दा चोट मुटु रुन्छ भन्थिस्
जति मनमुटाव भए पनि
साथ सधैं हुन्छ भन्थिस्
हेर त आज बिना गल्ती
मलाई छोडेर गइस्
हेरिनस् एकपल्ट पनि फर्केर
बाटो मोडेर गइस् ।

तेरो लागि हासो खुसी थाँती राखेको थिएँ
तलाई मेरो आमाभन्दा माथि राखेको थिएँ
बिर्सिस् र दिदिबहिनीको झै मिठो स्पर्शले छोएको
पीडामा मेरो काखमा तैंले टाउको राखी रोएको
साथी,
आज यी बाटाहरूले पनि मलाई सोधिरहेछन्
यी अनमोल मुस्कानले पनि
तेरो साथ खोजिरहेछन् ।

तँलाई मात्र एकपल्ट छुन मन लाको छ
तेरो अँगालोमा कस्सिदै भक्कानिएर
रुन मन लाको छ
किन सकिन अरुसँग खुलेर रुन सकिन
लाग्छ, तेरो यादको पछ्यौरी मैले धुन सकिन
हाम्रो सम्बन्धको खम्बा
यति छिट्टै मक्किएर
भन् न साथी
ती हाँसो अनि मजाक
सधैं सधैलाई सकिएर ।

तँसँग हुँदा फास्ट म
आज स्लो भएको छु
सँगै हुँदा लाग्थ्यो भरिपूर्ण
हेर त आज म कति
रित्तो भएको छु
कसरी बुझम् म भन्न
मेरो भाग्य खोटो थियो
या हाम्रो साथ छोटो थियो ?

भेटुम् न एकपल्ट बोलुम न एकपल्ट
त्यस्तो मन आउन्न र ?
भन् न साथी
तँलाई चै हाम्रो विगत
सम्झना आउन्न र ?

अहँ भन्दिन, अरुसँग तर्की भन्दिन
मेरो जीवनमा फेरि पनि फर्की भन्दिन
औंसी सकियोस् पूर्णिमाको रात मिलिरहोस्
तेरो जीवनमा साथीहरुको साथ मिलिरहोस्
हावा सरी मेरो जीवनमा जताततै बहनेछेस्
साथी,
म त मरेँ होला तेरो लागि सायद तर
अन्तिम साससम्म पनि मेरो साथी
मात्र तँ रहनेछेस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button