किन आजको पुस्ता ‘विवाह’बाट भाग्न खोजिरहेछन् ?

समतामुलक समाज के सम्भव नै छैन त ?

मिरा पुडासैनी

सानै बेलादेखि पढ्नमा अब्बल रूविनालाई सुन्दरीजल काँठको परिवेशका उसका बा–आमाले डिग्रिसम्मको पढाई पूरा गरेर मात्र विवाह गराईदिएका थिए । छोरा छोरीलाई सधैं पढाईमा प्रोत्साहन गरिरहने बा–आमाले कहिल्यै छोरीहरूले घरायसी काम सिक्नुपर्छ, जान्नु पर्छ भनेर लगाएनन् । धेरै पढेर आत्मनिर्भर हुन सकिन्छ भन्ने चेत भएका उनीहरूले छोरीहरूलाई भातभान्सामा मात्र सिमित राखेनन् । न त विवाह निम्ति मात्र होस् भनेर सामान्य लेखपढमा मात्र सिमित गराए । उनकी छोरीले पनि स्कुल, कलेज र विश्वविद्यालयको पढाई सरासर विशिष्ट श्रेणीमा उतिर्ण हुँदै गएकीले बा–आमा खुशी थिए ।

विवाह पनि राम्रो परिवारमा नै भयो । तर विवाह गरेको केही दिनदेखि नै उसलाई मिठो खाना पकाउन नजानेकोमा, लुगा तथा भात भान्साको काम नजानेकोमा सधैं गुनासो हुने स्थिति भईरह्यो । सधैजसो यी र यस्तै काम नजानेको तानाहरू सुनिरहनु पर्थ्यो । एउटी छोरी बुहारी भएर अर्को घरमा जाने बित्तिकै उनको जीवनमा पर्ने अप्ठ्यारोले गर्दा उसको पढाईले निखारिएको व्यक्तित्व भने बुहारी भएर विभिन्न भुमिका निभाउनु पर्दा सधैं छाँयामा परिरह्यो । छोरी, दिदी, बहिनी, श्रीमती, बुहारी, भाउजू र आफै आमा अनि एक कामकाजी महिला बनिसक्दा पनि आजसम्म रूविना आफ्नो पहिचान र अस्तित्वको निम्ति सङ्घर्षरत छे । उसलाई आफ्नो कुनै परिचयले पनि आजसम्म पुर्ण सन्तुष्टि दिन सकेको छैन ।

राम्रो प्राविधिक विषयको पढाई सकाएर जागिरे अस्मिता विवाह हुदाँ २६ वर्षकी थिई । ऊ पनि प्रगतिशिल र बौद्धिक गनिएको खानदानी परिवारमा विवाह गरेर गएकी थिई । विवाहपछि पनि काम गर्न दिने शर्तमा नै विवाहको निम्ति तयार भएकी उसलाई पहिलो एक वर्ष जति घर परिवारले जागिर गर्नको निम्ति सहज वातावरण बनाईदिएको थियो । त्यसपछि त घरपरिवारले उसलाई एउटा बच्चा पाउनु पर्छ भनेर दवाब दिन थाल्यो । पाको उमेरमा बच्चा जन्माउँदा चाँडै आमाको शरीर बिग्रने तथा बच्चामा पनि नराम्रो असर पर्ने कुरालाई जोड दिएर दिनहूँ तनाव दिन थालियो । परिवारमा सासू ससुराले बच्चा पाएर काममा गए हुन्छ, नाति नातिनी जे भए पनि एउटा पाउनु, हामीलाई साथी हुन्छ हेरिदिन्छौ, तिमीहरूले केही गर्नु पर्दैन, आ–आफ्नो काममा गए हुन्छ भनेर दिन दिनै सुनाउन थालेपछि त बच्चा नपाई सुख नै थिएन । राम्रो सरकारी अस्पतालमा काम गर्दै गरेकी अस्मिताको बच्चा ३ वर्षको भईसक्दा पनि उसले अझै कामलाई निरन्तरता दिन सकेकी छैन ।

आमा बनिसकेपछि सासू ससुराले आफ्नो वशं नाति जन्मिएको भनेर नाक ठाडो पार्ने बहेक अरू केही कुरामा सहयोग गरेनन् । बच्चा हुर्काईदिने त परको कुरा थियो । उसको श्रीमान जसको अस्मिताको भन्दा न त राम्रो जागिर थियो न त पढाई नै, परिवारको छोरा भएकाले न त जागिर छोड्नु पर्या, न त सन्तानलाई हुर्काउने क्रममा रातको निद्रा अनि खाँदै गरेको भातको गाँस । यस्तै त रहेछ महिला र पुरूषको विभेद घर परिवार र समाजमा भनेर छोरालाई स्कुल पठाईसकेपछि कामलाई निरन्तरता दिन्छु भनेर बसेकी अस्मिताको सपना पूरा हुने हो कि हैन उसले हेर्न बाँकि छ ।

यसरी माईतीघरमा दुख र निक्कै मिहिनेत गरेर बुवा–आमाले आफ्ना छोरीहरूलाई पढाई लेखाईमा खर्चेको समय, लगानी धेरै छोरीहरूले केवल भातभान्सामा मात्र खेर फाल्नु परेको यथार्थ समाजमा धेरै नै छन् ।

एउटा राम्रो एनजिओमा विवाह अघिदेखि नै काम गर्दै गरेकी मुनाले विवाह पछि नै आफ्नो कामको गतिलाई अझ राम्ररी अगाडि बढाएकी हो । विवाह हुँदा परिवारमा सासू मात्र थिईन् । ससुरा पहिल्यै बितेका थिए । उमेर र रोगले गर्दा उनको पनि मृत्यु भएको थियो । उनकी छोरी जन्मिएकै साल नै सासू बितेकी थिईन्, त्यसपछिका एक वर्ष मुनाले छोरीकै रेखदेखमा बिताईन् । अब सधैंभरि छोरी हेरेर बसेर मात्र पनि हुने थिएन । त्यसका निम्ति उनका श्रीमानले पनि सहयोग गरिदिए, पुर्णकालिन काम नगर्ने उनका श्रीमानले छोरी हेरिदिएर उनलाई कामको निम्ति सहजिकरण गरिदिएका थिए, घरमा एउटी सहयोगी पनि राखेकी थिई मुनाले भात भान्सा र घरायसी कामका निम्ति । एनजिओको कामको सिलसिलामा मुना देशभित्र र देशबाहिर पनि गईरहनु पर्थ्यो । कमाई पनि निक्कै आकर्षक नै थियो । यस्तो बेलामा उसलाई अलि अप्ठ्यारोमा नै परेको हुन्थ्यो तर पनि श्रीमान र सहयोगीको भरमा छोरी छोडेरै पनि उसले कामलाई निरन्तरता दिन पाएकी थिई । उसलाई गार्हो त थियो नै, तर पनि मिहिनेत र आत्मविश्वासले ढुक्कसाथ काम गर्न पाएकी थिई । समस्या कतै थिएन परिवारमा तर पनि बेलाबेलामा समाजले उसका श्रीमानको पुरूस्वार्थलाई ठेस पुग्ने गरी कान फुकिदिने गरेकाले मानसिक रूपमा कहिलेकाही विक्षिप्त हुनु पर्दथ्यो । श्रीमतीको कमाईमा पालिएको र छोरीको माया नगर्ने कठोर आमा भन्ने जस्ता शव्दवाणहरू सुनेरै पनि मुनाले आफ्नो आत्मसम्मानलाई जोगाएरै काम गरिरहेकी थिई । महिलाप्रति असहिष्णु समाजमा चलेका आफ्नाबारेका निकृष्ट कटाक्ष मुना सुने नसुनेझैं निरन्तर अघि बढिरहेकी थिई किनकी उसलाई श्रीमानको पुर्ण साथ र सहयोग थियो । तर मुना जतिकै भाग्यमानी कहाँ थिए र हाम्रो पुरातनवादी र पितृसत्तात्मक समाजमा जहाँ महिलाका निम्ति छुट्टै नीति नियम र कायदा कानुन बनाईएका छन्, तिनलाई छिचोल्ने तागत कहाँ मुना जस्तै सबै महिलाहरूमा हुन सक्छ र ?

१७ ओै विवाह उत्सवपछि विना र विवेकको वैवाहिक जीवनमा हुर्किसकेका दुई सन्तान एक एक जनाको दायित्वमा रहने गरी डिभोर्स भएको थियो । त्यसपछि मात्र उनीहरूको चिसिएको सम्बन्धको बारेमा दुनियाँले चाल पाएका थिए । आदर्श झैं देखिने यो जोडिको सम्वन्धमा पुर्ण विराम लाग्नुको पछाडि गल्ती र कम्जोरी कसको थियो होला ? कसैले अनुमान लगाउन सक्छ त ? गल्ती र कम्जोरी जसको भए पनि सहनेले त १७ वर्ष सहेकै थियो नि, जब सहन नसकिने स्थिति आयो तब न उनीहरूले सहमतिमा नै डिभोर्स गरेका थिए । त्यसपछिका दिनमा विनाका निम्ति बाँकि जीवन पक्कै पनि सुखद हुनेवाला थिएन । सम्बन्ध सुखद र सुमधुर प्राय महिलाहरू सहनशिल, कर्तव्यपरायण, क्षमाशिल, र निस्कृय भए सम्ममात्र सम्भव हुने रहेछ । मुनाले अब पाईलैपिच्छे गाली, गलौज, वेईज्जती र समाजका तिखा प्रहारहरू सहनुपर्नेछ भने विवेकले निस्फिक्रि दोस्रो विवाह गर्दा समेत समाजले चुईक्क केही बोल्नेवाला छैन । बरू त्यहि समाज निर्धक्क विवेकको दोस्रो विवाहको साक्षी पनि बनेर जानेछ ।

हामीले त मुना जस्ता छोरीहरूलाई जन्मेदेखि नै सहनु पर्छ, घर परिवार र समाजप्रति समर्पित हुनुपर्छ, माईती अनि घर पट्टिका सबैको ईज्जत, प्रतिष्ठा, मर्यादा जोगाउनु पर्छ चाहे त्यसको निम्ति जीवननै अर्पण गर्नु पनि किन नपरोस् भनेर सिकाएका हुन्छौं । अनि कहिले र कसरी महिलामैत्री हुन सक्छ त हाम्रो समाज ? गल्ती विवेककै थियो भने पनि यो समाजले भन्ने छ, श्रीमतीले सहनु पर्थ्यो नि, सहेर के जान्थ्यो उसको, ऊ त नारी हो सहनु पर्छ नारीले पुरूषका अहङ्कारहरू किनकि उसलाई पाल्ने, कुजात नारीलाई थर दिने, सम्पति दिने, सन्तान दिने उही पुरूष त हो नि भनेर । विनाले सहन सकिन त्यसैले ऊ नै खराव भई । यस्तो छ हाम्रो समाज र सामाजिक नियम ।

अन्तरजातिय प्रेम विवाह गरेकी सृजनाका निम्ति पनि विवाहअघि निकेशले उसलाई दिलाएका आड, भरोसा र आश्वासन मित्थ्या सावित हुँदै थिए । निकेशसँग उसले देखेका सुन्दर सपनाहरूलाई भुल्दै जानू पर्छ कि झैं लाग्दै थियो । भागेर विवाह गरेकाले माईतीको विश्वास त उसले गुमाई नै सकेकी थिई । घरबाट पनि उसले कुनै साथ र सहयोग नपाउनाले उसमा निरासा व्याप्त भईरहेको थियो । विवाह अघि नै एउटा राम्रो विदेशी कन्सुलर अफिसमा मेनेजर भएर काम गर्दै गरेकी उसले विवाह पछि त्यो कामलाई निरन्तरता दिन कम्ता सकस भोग्नु परेको थिएन । रात र दिनको दुबै सिफ्टमा काम गर्नुपर्ने मिटिङ्ग, सेमिनारहरूमा जिल्ला अनि देश बाहिर पनि गईरहनु पर्ने भएकाले, पहिरनदेखि खानपानमा पनि फरक दृष्टिकोण राख्ने उनका परिवारले सिन्दुर, टीका र चुरा, पोते नलगाएको, कुर्ता वा सारी नलगाएको, पुजापाठमा ध्यान नदिएको भनेर कचकच मात्र हैन, अघोषित रूपमा उसलाई बहिष्कार गरी हिंसा नै गर्नेसम्मको स्थितिमा पुगिसकेका थिए । विदेशी कम्पनीको जागिर र त्यस पदमा काम गर्नको निम्ति अविवाहित हुनुपर्ने सर्त भएकाले उसले आफूलाई अविवाहित रहेको देखाउनकै निम्ति टिका, चुरा, पोते नलगाएको हो भनेर बुझाउन जति कोसिस गरेपनि सकिन, अन्तत केही सीप नलागेर निकेश र सृजना काठमाडौं भित्रकै एउटा अपार्टमेन्टमा गई बस्न थालेछन् । अनि त के चाहियो घरपरिवार र आफ्नो छोरालाई नै भाँडेको अवगाल सोझै सृजनामाथि लागिहाल्यो । धन्न, श्रीमानले साथ त दिए उनलाई, त्यसका निम्ति जोईटिङ्ग्रे भनेर बा–आमा र परिवारले नै उनीहरूलाई पैतृक सम्पतिबाट बेदखल गरिदियो । तर त्यसले सृजना र निकेशलाई केही फरक पारेन । दुबै आ–आफ्नो व्यवसायिक नाम, पेशा अनि कमाईले निक्कै अगाडि पुगिसकेका छन् ।

एउटा विवाह भोजमा नाताले भाउजू पर्ने एकजना छिमेकीले उनको एउटै मात्र सन्तान ईन्जिनियर छोरीको विवाहका निम्ति केटो खोज्दै रहिछिन् । मलाई पनि तिनले आफ्नी छोरीको निम्ति खान्दानी, पढेलेखेको, कुल घरानाको, डाक्टर वा ईन्जिनियर केटो खोजिरहेकोबारे बताईन, केटो एक्लो छोरो भए राम्रो , छोरीहरू (नन्द–आमाजू) कोहि नभएको हुनु पर्ने रे । सकेसम्म अष्ट्रेलिया वा अमेरिकाको ग्रिनकार्ड भएको भए अझ्झ राम्रो । किन रे भन्दा एक्ली बुहारी भए सासू ससुरालाई निर्विकल्प अधिनमा राखेर छोरीले अधिकार स्थापित गर्न सक्छे रे । यसलाई संकिर्ण सोच भन्ने कि छोरीप्रतिको अन्धो माया ? त्यसैले नै उनले आफ्नी छोरीको विवाहको निम्ति एक्लो छोरा, नन्द आमाजू कोहि नभएको घर खोजेकी रहिछिन् । केटो विदेशी ग्रिन कार्ड भए त झन कुल घराना केही नहेर्ने भनेर उनले भनेका कुराहरू सुन्दा बाफ् रे बाफ अहिलेको हाम्रो समाज, म त अवाक् । छोरीको विवाहमा एउटै छोरा भऐको घर खोज्दै हिँडेकी उनका आफ्ना चाहिँ ३ जना छोरा छन् । तिनका लागि चाँहि उनी कस्ती बुहारीको अपेक्षा राख्दिहुन् कुन्नि ? मैले पनि सोधिहालेँ । आफ्ना छोराहरूलाई त उनले विदेश नजाने, नपठाउने बुहारीहरू घरव्यवहार निभाउन सक्ने सबैलाई मान मर्यादा पालन गर्ने सस्कारी बुहारी चाहिन्छ रे । अनि यस्तो सोचाई पालेर बसेको अघिल्लो पुस्ताबाट अबका पुस्ताले राखेका अपेक्षाहरू कसरी पूरा हालान् त ?

सायद अभिभावकहरूको आफुप्रति सन्तानहरूले निभाउनु पर्ने दायित्वको बढ्दो अपेक्षाकै कारण सन्ततिप्रति असहिष्णु बन्दै पो छ कि, कुनै पनि कुरा बाध्यात्मक बन्दै गर्दा त्यसप्रतिको आकर्षण घट्दै पो गएको हो कि ? अझ छोराप्रति बाबू–आमाको अपेक्षाले बुहारीप्रति अन्याय हुँदै गएको हो कि, स्वतस्फूर्त रूपमा आउनु पर्ने कतिपय चिजहरूलाई बाध्यात्मक बनाईदिदा नै छोरीप्रति अन्याय भईरहेको हो कि भन्ने माथिका प्रतिनिधि घटनाहरूले पुष्टि गरेका छन् ।

अहिलेको समयमा हामी छोरा र छोरी दुबैलाई शिक्षा र स्वास्थमा उत्तिको लगानी गरिरहेका हुन्छौ । तर छोरीलाई जन्मघर छोड्नुपर्ने बाध्यता छ, जन्मेदेखि नै पुरूष र महिला विचको केही न केही विभेद छोरीहरूले भोग्दै आएका हुन्छन् ईज्जत् अनि प्रतिष्ठाका नाममा अनि छोरीहरूलाई परिवार र समाजले पनि कम्जोर बनाईरहेको हुन्छ । त्यसैले विवाह गरेर गएसँगै साँचो अनि ताल्चा पनि अर्कैको हातमा सुम्पिदिए झै गरिदिन्छौं । सबैको यस्तै नहोला तर धेरैको विवाह भएपछि उसलाई सित्तैमा पाएको दान पात्र सम्झिए झैं गरिदिन्छ । अनि त अस्तित्वको लडाईमा धेरै जसो छोरीहरू हारिन्छन् । यसैको परिणाम आजको पुस्ता विवाह संस्थाबाट भाग्न खोजिरहेछन् । व्यवहारिक झमेलामा पर्नु भन्दा भाग्ने छोटो बाटो खोज्न थालेका छन् । यसको सबभन्दा सजिलो विकल्प भनेकै विदेश पलायन हुनु । म त यसलाई गलत पनि मान्दिनँ, घर व्यवहार भनेको सबैले मिलेरै निभाउनु पर्छ । छोरालाई झैं बुहारीलाई पनि उत्तिकै महत्व दिनु पर्छ, उनको पढाई, योग्यता, क्षमता अनुरूप लक्ष्यमा अगाडि बढ्नको निम्ति सक्ने सहयोग गरिदिनु पर्छ ।

अब पनि हामीले सोचाईको स्तर फराकिलो बनाएनौं भने जन्मसगैं र पछि जोडिईदै आउने सम्बन्धमा मिठास हैन तिक्तता बढ्दै जानेछन् । समय गतिशिल छ, परिवर्तन हुँदै गईरहेका छन् हरेकका आवश्यकता र प्राथमिकता, सानो परिवारको अवधारणा, सबै सन्तानलाई राम्रो समान शिक्षा दीक्षा दिनुपर्छ भन्ने सोचाई । छोरीहरूले पनि पुरूषसरह काम गरिरहेका छन् । विगतका दिनमा जस्तो परनिर्भर भएर रहनुपर्ने स्थिति नभएकाले, अब सकेसम्म संयुक्त परिवारमा विवाह गरेर जानू नपरोस् भन्ने सोच्न थालिसके, अझै विवाह गरेर विदेश गई हाल्न पाएदेखि त घरव्यवहार, सासु, ससुरा, नन्द, आमाजू, ईष्ट मित्र कुनै गन्जगोलमा पर्नु नपर्ने भन्ने ठम्मयाई हुँदोरहेछ । परिवार र समाजबाट सकेसम्म भाग्न चाहन्छ अहिलेको पुस्ता । समाजलाई सुमधुर बनाएर बाँधिराख्नको निम्ति माया, विश्वास, साथ, सहयोग, सहअस्तित्व र सबै सदस्यबीच समझदारी हुनु एकदमै जरूरी छ । सृष्टिको निरन्तरताको निम्ति महिला र पुरूषको उत्तिकै योगदान छ । यो कुरा व्यवहारमा पनि अक्षरस पालना नभएसम्म छोरीहरूप्रति अन्याय भईनै रहन्छ, कैयौ छोरीहरूले अनाहकमा ज्यान गुमाउनु परिरहनेछ, पारिवारिक विखण्डनको सिलसिला चलिरहनेछ । सम्बन्धको मिठासलाई सधैं स्वार्थको दुर्गन्धले गाँजिरहनेछ । छोरीलाई छोरीकै रूपमा स्वीकारौं, उसका उड् खोज्ने पखेटाहरूलाई कसैले नकाटिदिउँ ।

प्रकृतिले नै प्रदान गरेको विशिष्ट क्षमताबाट विभुषित उसलाई हामी मानिसहरूले आफू अनुकुल बनाउन अनि चलाउन छोडौं । नारी समानता कुरा कागजमा मात्र हैन, अब व्यवहारमा महिलामैत्री समतामूलक समाजको आवश्यकतालाई कसैले नकार्न मिल्दैन । तब मात्र माथि उल्लेखित प्रतिनिधि घटनाका नारी पात्रहरूका कहानी सकारात्मक अक्षरले लेखिनेछन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button