काठमाडौंको जाडोमा ५० दिन माछालाई पनि जाडो हुने ‘मीनपचास’ नोस्टाल्जिया

कथाः मीनपचास नोस्टाल्जिया

श्रीरामसिंह बस्नेत

कुरा आजभन्दा करिव ४० वर्ष अघिको हो, जतिखेर म १९, २० को अल्लारे थिएँ । त्यतिखेर अहिलेको जस्तो जलवायु परिवर्तनको चासो र चिन्ता जन्मिसकेको थिएन । तराईसँग कुनै न कुनै साइनो– सम्पर्क हुने काठमाडौंवासीहरु मीनपचासको जाडो छल्न पुस– माघमा तराईतिर जान्थे । त्यतिखेर ५० दिन माछालाई पनि जाडो लाग्छ भन्ने मान्यताअनुसार ‘मीनपचास’ भनिन्थ्यो र स्कुल, कलेज विदा हुन्थे । म पनि जाडो छल्ने क्रममै तराईतिर जान्थे त्यतिखेर ।

तराईमा काठमाडौंको जस्तो सुविधा नपाइएता पनि त्यहाँ पाइने रमाइलो काठमाडौंमा पाइदैन थियो । मलाई तराईको आमगाछी, पोखरी, पगडण्डी, अरहर खेतीको झाडी, पहेंलपुर तोरीबारी, हटिया, सूर्योदय र सूर्यास्तको बेला टपक्क टिप्न जाउँ जस्तो लाग्ने रातो सूर्य, साँझ घुर ताप्दै गरिने गफ असाध्यै रमाइला लाग्थे, जो काठमाडौंमा पाइदैन थियो । त्यहाँका निश्छल र अतिनै सामान्य मानिसहरु जस्का आवश्यकता पनि साना थिए अनि आकाँक्षा पनि सानै । गाउँमा बिजुली थिएन, ढिब्री, लालटिन, अनि कहिलेकाँही पेट्रोमेक्स आदिको उज्यालोले नै काम चलाउनु पथ्र्यो भने बेलाबेलामा कुनै न कुनै गाउँमा डाँका लाग्यो भनेर आउने सनसनीपूर्ण खबरले मलाई निकै रोमाञ्चित तुल्याउथ्यो, अलि अलि डर लागे पनि । तर अब त्यो ‘अग्र्यानिक ’ तराई हराई सक्यो ।

यसैबीच एक हिउँद त्यही गाउँकी फक्रन फक्रन लागेकी फूल जस्ती एउटी किशोरीसँग मेरो जम्काभेट हुन पुग्यो । तराईमा म मेरी फुपूको घरमा बस्थें । त्यो किशोरी फुपूलाई भेट्न आएकी थिई, सायद फुपूले हटियाबाट ऊ मार्फत कुनै घरायसी सामान मगाउनु भएको थियो, त्यही पु¥याउन आएकी थिई । उसले फुपूसँग कुरा गरेको म एकटक भएर हेरिरहेको थिएँ । किन हो कुन्नी मलाई उसको कुरा गर्ने तरिका, जिउडाल, हलुका साँवला

रँगको अनुहार, नाकनक्स सबै असाध्यै मन परिरहेको थियो । मैले अब अर्को हटिया कहिले लाग्छ भन्ने प्रश्न गरें । उसले मलाई नहेरी फुपूतिरै हेरेर ‘अगले विफेको’ (अर्को विहिबार) भनी । फुपूले उसले फिर्ता ल्याएकी केही पैसा उसैलाई राख्नु भन्नुभयो । उसले लाज मान्दै मान्दै राखी । उसलाई त्यतिखेर मेरो उपस्थितिको कारण लाज लागेको मैले प्रष्टै बुझें ।

ऊ फर्किए पछि मैले फुपूसँग उसको बारेमा जिज्ञासा राखें । फुपूले पहिला त हप्काउनु भयो– ‘‘किन चाहियो तँलाई गाउँका चेलीबेटीको खोजीनीति ? उसको बाऊले थाहा पायो भने लाठी लिएर आउँछ अनि देख्लास् ।’’ तर म किन डराउँदो हुँ र ? उसकाबारेमा केही सामान्य जानकारी फुपूबाट लिई छाँडे । खै किन हो त्यो राति राम्ररी निदाउन सकिन । उस्कै झझल्को आईरह्यो र अर्को विहिबार कहिले आउला भन्ने मात्र लागिरह्यो, जसको लागि मैले एक साता पर्खनु बाहेक अरु उपाय थिएन ।

छ दिनको व्यग्र प्रतीक्षा पछि आएको विहीबार खाना खाँदासाथ साइकल लिएर लडिया चल्ने कच्ची बाटोबाट म हटिया तिर हुँइकिए । हटियामा निकै चहलपहल थियो । मेरा अाँखाले उसैको झलक खोजिरहेको थियो । निकैबेरको प्रयास पछि सब्जीमण्डीमा उसलाई देखें । केहीबेर अलिपरैबाट हेरेर ऊ नजिकै पुगी आपूm पनि सब्जीको भाउ सोध्ने बहानाबाजी गरें । त्यसक्रममा उसले मलाई चिनी र खिसिक्क हाँसी । उसँग एउटा सानो फुच्चे केटो पनि थियो, सायद भाइ होला । ऊ सब्जीको पैसा तिरेर अघि बढी, मपनि सँगसँगै लागें । अब मलाई साइकल घाँडो भईरहेको थियो । म उसँगै कुरा गर्दै हिंडन चाहन्थे तर साइकलले अप्ठ्यारो पारेको थियो । केहीबेर साइकल डोराउँदै हिंडेपछि एउटा जुक्ति आयो दिमागमा । उसको भाइले सकिनसकी बोकी रहेको झोलालाई साइकलको क्यारिजमा राख्न लगाएँ । उसले दिदीको मुखमा पुलुक्क हे¥यो । दिदीले कुनै आपत्ती नगरेको पाएपछि उसले आफ्नो झोला क्यारिजमा राख्यो । यसले गर्दा उनीहरुसँग नजिकिन मलाई सहज भयो । साइकल डो¥याउँदै अलिअलि कुरा गर्दै हिंडदै थियौं । मैले उसको नाम सोधें । उसले बताइन । दोस्रो पटक पनि सोधें । अनि भनी ‘लक्ष्मी’, तर मैले ‘रश्मी’ सुनेछु । र भने ‘रश्मी ?’ उसले अलि ठूलो स्वरमा भनी ‘नाही लक्ष्मी’ । तर मैले उसलाई ‘म चाँहि रश्मी नै भन्छु है ’ भनेर अनुमति माग्दा उसले अाँचलले अलिकती मुहार छोपेर मुसुक्क हाँस्दै सहमतिमा टाउको हल्लाएकी अस्ति जस्तै लाग्छ ।

त्यसपछि मेरो तराईबासका दिन विहीबारको प्रतीक्षामा बित्न थाले । अरु दिन उसलाई भेट्न असम्भव प्रायः थियो । घडी उसको हातमा पनि थिएन, मेरो हातमा पनि । रेडियो नेपाल सुनेर समयको जानकारी लिइन्थ्यो वा घाम हेरेर अन्दाज गरिन्थ्यो र विहीबारको हाट बजारमा भेटिन्थ्यो । उसले मेरो नाम सोध्ने आँट कहिल्यै गरिन वा आवश्यक ठानिन । मलाई फुपूले बाबु भन्ने गरेकाले घरमा र वरवर अरुले पनि बाबु नै भन्थे र त्यसैले होला उसले पनि कुराकानीको सन्दर्भमा बाबु नै भन्न थालेकी थिइ । हटियाबाट फर्कदा ऊ मसित काठमाडौंबारे धेरै कुरा सोध्थी । मलाई ऊ प्रति जिज्ञासा थियो, तर उसलाई भने काठमाडौंप्रति बढि जिज्ञासा रहेको मलाई महसुस हुन्थ्यो । ऊ कहिल्यै काठमाडौं पुगेकी थिइन तर काठमाडौंबारे केही कुरा सुनेकी थिई । जस्तै काठमाडौंमा पशुपतिनाथको मन्दिर छ, ठूलो शहर छ, शहरभरीका मानिस अट्ने जस्तो ठूलो चौर छ, राजाको दरबार छ, जहाजको गिरान छ, ठुला ठूला सडक छन्, गाडी धेरै गुडछन् आदि । उसले ‘‘पशुपतिनााथको मन्दिर हाम्रो सिद्धेश्वर बाबाको मन्दिर जत्रो ठूलो छ ?’’ भनेर सोधेकी थिइ । पल्लो गाउँको सिद्धेश्वर बाबाको मन्दिर यस भेगकै ठूलो मन्दिर हो तर त्यो पशुपतिनाथ जत्तिको ठूलो थिएन । मैले त्यो बताउँदा उसले ‘बाप रे’ भनेकी थिइ ।

दक्षिणी सीमा नजिकै भएकोले तराईवासीहरु रेलसँग परिचित छन् । उसले काठमाडौंमा रेल चाँहि छैन हैन ? भनेर सोधेकी थिई । मैले भृकुटी मण्डपमा बालरेल भएको आधारमा काठमाडौंमा रेल पनि छ भनी दिएँ । पहिला नपत्याए पनि पछि उसले पत्याएकी थिई । त्यो सम्झदा अहिले आफैंलाई धिक्कार्छु । किन मैले तराई गाउँकी एउटी अवोध बालाको अवोधपनालाई त्यसरी उपहास गरें हुँला ? काठमाडौं वा ठूला शहरमा जन्मे हुर्केका धेरैजसो ‘शहरिया’ मानिसहरुमा केन्द्र बाहिरका सानो ठाउँका अबोध मानिसहरुको उपहास गर्ने यो एक खराब बानी हो, जसबाट त्यतिखेर म पनि जोगिन सकेको रहेनछु ।

मीनपचास सकियो । यस पटकको हिउँद अब एक वर्षका लागि विदावादी हुने सुरसार गर्दैछ । म काठमाडौं फर्किनु पर्ने दिन पनि नजिकिदैं आयो । तर यस पटक भने यो गाउँ छोडेर काठकाडौं फर्किन पटक्कै मन थिएन । वितेका हप्ताहरु जस्तै विहीबारे हटियाबाट फर्कदै गर्दा मैले रश्मीलाई आफू आइतबार फर्कने बताएँ । उसले केही बोलिन, हिंडदा हिंडदै बाटोमा अनायास टक्क उभिएर मेरो अनुहारमा पुलुक्क हेरी मात्र । मैले पनि केही थप कुरा भन्न सकिन । एकक्षण पछि ‘‘फेरि कहिले आउने ?’’ भनेर सोधी । मैले अब अर्को जाडोमा आउछु होला तर मौका मिले बीचमा पनि आउने कोसिस गर्छु भन्ने आशय बताएँ । ऊ केही बोलिन, हामी चुपचाप विस्तारै हिंडिरह्यौं । सदाझैं उसको घर आई पुग्नुभन्दा अघिको दोबाटोबाट हामी छुट्टियौं । उसले अलिपरसम्म फर्की फर्की मलाई हेरेकी मैले पनि देखें ।

भोलिपल्ट मैले लाजै पचाएर फुपूसँग आफू काठमाडौं फर्कदा रश्मीलाई पनि लिएर जान र पशुपतिनाथको दर्शन गराएर ल्याइदिन पाए हुन्थ्यो भने । फुपूले हप्काउनु भयो– ‘‘अँ गौना भईसकेकी छोरीलाई तेरोसाथ लगायर काठमाडौं घुम्न पठाउलान् नि तेस्का बाबुआमाले । नचाहिने कुरा नगर । त्यस्का ससुरालवालाहरुले तँसँगको हिमचिम थाहा पाएभने दुई गाउँबीच भीडन्त हुन बेर लाग्दैन बाबै यहाँ त, तेरो काठमाडौं जस्तो हो र ?’’ म खिस्रिक्क परें । गौना प्रथाबारे मलाई राम्रो जानकारी थिएन । फुपूसँग त्यसबारे विस्तृतमा सुनें र बुझें– गौना भनेको केटा पक्षले भविष्यमा बुहारी बनाउन एउटी अवोध बच्चीलाई अग्रिम बुकिङ्ग गर्ने चलन रहेछ, जस्लाई क्यान्सिल गर्न सम्भव नहुने रहेछ ।

मुटुको एउटा टुक्रा गाउँमै छोडेर म काठमाडौं फर्किएँ र आफ्नो पढाई आदिमा व्यस्त रहें । तर रश्मी मेरो सम्झनामा घरी घरी आई रहन्थी । त्यतिखेर अहिलेको जस्तो मोबाइल फोनको प्रचलन थिएन भने ल्याण्डलाइन फोन काठमाडौंमा समेत सर्वसुलभ थिएन, तराईको गाउँमा त के कुरा भयो र । काठमाडौंमा बसेर तराईको गाउँमा रहेकी रश्मीलाई अरुले चाल नपाउने गरी सम्पर्क गर्नु असम्भव नै थियो त्यतिखेरको परिवेशमा ।

केही महिना पछि फुपू आफैं विरामी पर्नु भएकोेले उपचारका लागि काठमाडौं आउनुभयो । उहाँको औषधि उपचार र हेरविचारमा म खटिएँ । मौका पाउनासाथ मेरो जिज्ञासाको सुई रश्मीतिरै सोझिन्थ्यो । फुपूले पनि हप्काउँदै हप्काउँदै रश्मीको ‘अपडेट’ मलाई दिनु हुन्थ्यो । म फर्किए पछि उसले पनि मेरोबारेमा फुपूसँग बेलाबेलामा सोध्दी रहिछ । उसले पनि मलाई आफ्नै किसिमको नाम दिएकी रहिछ– काठमाडौंवाले बाबु । फुपूले दिनु भएको एउटा जानकारीले मलाई अत्यन्तै खुशी तुल्यायो । त्यो के भने रश्मीले बाबुआमा, दाजुसँग झगडा गरेर आफू पनि भाईसँगै स्कुल पढन जान थालेकी छ रे । ऊ पढन जान थालेपछि गाउँका उसकै उमेरका अरु तीनचार जना छोरीहरु पनि स्कुल जान थालेका छन् रे । स्कुल भर्ना हुने रश्मी पहिली छात्रा बनिछ । परिवार र गाउँमा उसको नाम लक्ष्मी भएपनि स्कुल भर्ना गर्दा भने उसले आफ्नो नाम ‘रश्मी’ लेखाइछ । बाबुआमाले स्कुल भर्ना गराउन नमान्दा उसले

रुँदै भनिछ– ‘‘अगर स्कुल नजापाई तो गढवामे डुब जाई हम ।’’ गढवा उनीहरुको गाउँ नजिकको गहिरो पोखरी हो, जहाँ डुबे पछि लास नबनिकन माथि उत्रिन सकिन्न रे । अहिलेसम्म गढवामा डुबेका कसैलाई पनि बचाउन सकिएको छैन रे । त्यति धम्क्याएपछि बाबुआमालाई कान्छो छोरोसँगै उसलाई पनि स्कुल पठाउन करै लागेछ ।

एकडेढ महिनाको उपचार पछि फुपूलाई जाति भयो र गाउँ फर्कने तरखर गर्न लाग्नुभयो । मैले फुपूको सुटकेसमा रश्मीका लागि एकजोर कुर्तासुरुवाल, एक दर्जन कापी, दुईवटा कलम, पशुपतिनाथको पोस्टर र सानो बट्टामा चन्दन र रुद्राक्ष हाली दिएँ रश्मीलाई दिनु भनेर । उहाँले फेरि हप्काउनुभयो– ‘‘भनेको मान्दैनस् , तैंले मलाई कुन दिन अप्ठयारोमा पार्नेहोस् ।’’ मैले पठाएको नभनेर आफैंले ल्याई दिएको भनेर दिनुस्न भनेर फुपूलाई फकाएँ । उहाँ मुसुक्क हास्नुभयो ।

दिनहरु बित्दै गए । म मीनपचासको प्रतीक्षामा थिएँ । तर दुर्भाग्य, त्यो वर्षको मीनपचास त मेरो जीवनमा आँधिहुरी लिएर आयो । मीनपचास शुरु नहुँदै आमा विरामी पर्नुभयो । मीनपचास आउला र कुददै रश्मीको गाउँमा पुगौंला भन्ने मीठो योजना बुनेर बसेको म आमाको उपचारको लागि अस्पताल धाउँदैमा बित्यो । त्यति गरेर आमालाई बचाउन पाएको भएपनि एउटा सन्तोष हुन्थ्यो । आखिर आमाले संसार छोडनु भयो र म तेह्र दिनको काजक्रियाबाट उत्रिदा मीनपचास सकिइसकेको थियो । जाडोभर हरेक विहीबार हटियाको भीडभाड्मा रश्मीका गाजलु आँखाले मलाई खोजे होलान् भन्ने लागिरह्यो । आमा बित्नु भएको खबर फुपूले पाउनु भएपछि ढिलै भएपनि मेरो स्थितिबारे रश्मीले जानकारी पाइ होली भनी ठानें । पोहरको मीनपचास मेरालागि कोमल फूल जस्तो थियो भने यसपालीको चाँहि घोच्ने काँडा जस्तो ।

म आफ्नो पढाई, कामदाम, घर व्यवहार र आमा गुमाएको वर्षको विषादकै मानसिक दबाबमा थिचिई रहें, काठमाडौं खाल्डोबाट उम्किन सकिन । फेरि बरखीको सेतो लुगा लगायर टाढाको घुमफिरमा जान पनि व्यवहारिक हुँदैन थियो । बरखीको एक वर्षसम्म हरेक कुरामा खुम्चिएर बस्नु बाहेक अरु केही उपाय थिएन चार दशक अघिको काठमाडौंमा ।

जसोतसो वर्ष दिन बित्न लाग्यो । आमाको बरखीको कामको लागि फुपू पनि गाउँबाट काठमाडौं आउनुभयो । मैले रश्मीबारे जिज्ञासा राखी हालें । उहाँले पहिले जस्तै हप्काउँदै भन्नुभयो– ‘‘हैन के भा छ तँलाई ? अझै पनि त्यसकै नाम जपेर बसिराछस् कि क्या हो ? ऊ त गईसकी आफ्नो ससुराल, गौना भईसकेकी चेली सधैं माइतीमै बसिरहन मिल्दैन त ।’’ फुपूले रश्मीको विवाह भएको, अन्मिएर जाने बेलामा उसले फुपूलाई अगाँलो हालेर डाँको छोडेर रोएकी, विवाहको बेलामा उसको ससुरालाई ट्रयाक्टर र दुलाहालाई राजदूत मोटरसाइकल दहेज दिनै पर्ने भनी लफडा भएको, पछि तीन महिनाभित्र ट्रयाक्टर र मोटरसाइकल दिने कबोल गरे पछि मात्र कुरा मिलेको, विवाह पछि रश्मीको बाबुले एक टुक्रा खेत बेचेर त्यो माग पूरा गरी छोरीको घर बसालेको आदि सुनाउनु भयो । यी सब सुन्दा म त्यतिखेर मर्न मात्र सकेको थिइन, त्यति नरमाइलो लाग्यो ।

बरखीको केही दिन पछि गाउँ फर्कने बेलामा फुपूलाई बसपार्कसम्म पुराउन गएको थिएँ । फुपूले ‘‘मीनपचासमा त आइज न गाउँतिर’’ भन्नुभयो । तर मैले किन हो सोझै भनिदिएँ– ‘‘आउँदिन अब ।’’ फुपूले नमीठो अनुहार लगायर भन्नु भयो– ‘‘त्यस्तै हो बाबै, मनपरेका सबै थोक कसले पाउँछ र जिन्दगीमा ? रश्मी त्यहाँ नभए पनि तलाई रमाइलो लाग्ने गाउँ त छ नि, म पनि त त्यहीं छु ।’’ त्यसपछि मात्रै मैले भनेको थिएँ– ‘‘हेरुँ, सकेसम्म आउँछु नि जाडोमा ।’’

फुपूले छुट्टिने बेलामा फेरि भन्नु भयो– ‘‘बाबु माया मार्ने कुरा नगर न, मेरो पनि त को छ र तिमीहरुबाहेक ।’’ फुपूको बस लामो हर्न बजाउँदै अघि बढ्यो । म शून्यता भरिएको मन लिएर फुपू गएको बस हेरिरहें ।

घर फर्किएपछि मैले फुपूलाई नै सम्झी रहें । उहाँ काठमाडौंमै जन्मी, यहीं हुर्किएकी हुनुहुन्थ्यो । कुन परिवेशले हो उहाँलाई नियतिले तराईको एउटा गाउँकी गृहिणी बनाइदिएको थियो । उमेरमा उहाँले काठमाडौंमै कसैलाई मन पराएको हुन सक्छ । उहाँका समवयी अरु दिदीवहिनीहरु सबैजसो काठमाडौं उपत्यकाभित्र वा वरिपरि घरजम गरेर बसेका थिए । उहाँमात्र उछिट्टिएर तराईमा पर्नुभएको थियो र उहाँ आफूमात्र लखेटिएर भुङ्ग्रो जस्तो तराईको गर्मीमा पुगेको गुनासो मैले बाल्यकालमा बेलाबखत उहाँबाट सुनेको थिएँ । चाहेको नपाउनुको पीडा उहाँले राम्रैसँग भोग्नु भएको थियो होला । त्यसैले अहिले मैले पनि चाहेको नपाएकोमा मप्रति उहाँको सहानुभूती थियो । त्यसैले त मलाई हप्काउँदै हप्काउँदै भएपनि रश्मीबारे जानकारी दिने गर्नुहुन्थ्यो ।

रश्मी मेरो लागि अब एउटा मीठो सपना जस्ती मात्र थिइ । तर पनि मेरो मनले उसलाई सम्झन छोडेको थिएन । विशेषगरी रश्मी वा लक्ष्मी नामका अरु कोही केटी भेटिंदा मेरो मन झलक्क उसलाई सम्झन पुग्थ्यो एक पलका लागि भएपनि । त्यस्तै आज विहीबार हो भन्ने हेक्का हुँदा मेरा आँखामा गाउँको त्यही विहीबारे हटियाको चहलपहल नाच्दथ्यो, जहाँ रश्मीका आँखाले मलाई र मेरा आँखाले रश्मीलाई खोजिरहेका हुन्थे । अहिले रश्मीको घरजम भएको गाउँमा हटिया कुन बार लाग्दो हो ?रश्मी हटिया जाँदी हो कि नाई ? मसँग जिज्ञासा मात्र छन् तर उत्तर छैन । कहिले काँही सोच्छु, मैले रश्मीलाई पशुपतिनाथको दर्शन गराउन पाएको भए ऊ कति खुसी हुँदी हो ?,भृकुटी मण्डपमा लगेर यही हो काठमाडौंको रेल भनेर देखाउन पाएको भए कति हाँस्दी हो ।

प्राकृतिक आवश्यकताले भनौं, सामाजिक–साँस्कृतिक प्रचलनले भनौ वा घरायसी कारणले भनौं मैले पनि विवाह गर्नुपर्ने भयो । फुपू काठमाडौं आउनु भएको थियो मेरो विवाहको लागि भनेर । फुपूलाई भेटेपछि रश्मी प्रतिको मेरो जिज्ञासा फेरि हरिया भएर सल्बलाए । यसपाली फुपूले पहिलाको जस्तो मीठोसँग हप्काउनु भएन, बरु गम्भीर भएर सम्झाउनु भयो– ‘‘तँ अब जिम्मेवार लोग्नेमान्छे भई सकिस् । बिहे हुन लागेको छ । तैंले अरु केटीबारे चासो राख्ने गरेको दुलहीले थाहा पाई भनी के सोच्ली ? छोडीदे अरुका बारेमा सोच्न ।’’ उहाँका कुरा सोह्रै आना सही थियो, तर पनि यो मन …। उहाँले रश्मीका बारेमा सम्भवतः अन्तिम अपडेट दिनुभयो । यसबीचमा रश्मीले दुईटी छोरी जन्माएकी, दोस्रो सन्तान पनि छोरी नै जन्मिए पछि ऊप्रति परिवारको दृष्टिकोण फेरिएको, विशेषगरी उसकी सासूले उसलाई ‘कलमुही’ समेत भन्न थालेकी आदि । अनि उहाँले यस्ता कुरा त्यो गाउँमात्र होइन सिंगै तराई क्षेत्र र अझ सीमानापारी समेतका लागि नौलो नभएको पनि स्पष्टीकरण दिनुभयो । तर रश्मीले पनि त्यही नियति भोग्नु परेको सुन्नुपर्दा मेरो मन चरक्क चिरियो ।

फुपूका अनुसार माइती आएकी बेलामा रश्मी अहिले पनि फुपूलाई भेट्न आउँछे रे । ‘‘काठमाडौंवाले बाबुके कब सादी होइ ?’’ भनेर सोध्छे रे । मैले पठाइ दिएको पशुपतिनाथको फोटो उसले फ्रेम हालेर पूजा कोठमा राखेकी छ रे । फुपूले रश्मीको प्रसङ्ग सकिए पछि भन्नुभयो– ‘‘तँ अब जाडोमा गाउँतिर आउँदैनस् भन्ने त मलाई थाहा थियो तर पनि किन हो मीनपचासभरी तँ टुप्लुक्क आईहाल्छस् कि जस्तो झझल्को चाँहि लागिनै रह्यो । अब विहाबारी भएपछि त चाहेर पनि आउन मिल्दैन, भो नआइज अब, बिर्सिदे त्यो निमुखा गाउँलाई र त्यहाँका अभागी मान्छेहरुलाई ।’’ फुपूले यसो भनिरहँदा मलाई भक्कानो फुट्ला फुट्ला जस्तो भईरहेको थियो, बहुत मुस्किलले आफूलाई नियन्त्रण गरें ।

मेरो विवाहको लठारो सकिएपछि डाक्टरहरु जचाउने, पशुपतिमा लाखबत्ती बाल्ने आदि काम सकेर फुपू गाउँ फर्कनुभयो । फर्कने बेलामा मैले सोधेको थिएँ– ‘‘अब काठमाडौं कहिले आउनुहुन्छ फुपू ?’’ उहाँले सजिलै भन्नु भएको थियो– ‘‘ पास्नीमा बोलाइ हाल्लास् नि ।’’ म केही बोलिन । मेरी दुलहीले भने लाज मान्दै साडीको सप्कोले मुख ठिक त्यसरी नै छोपेकी देखें जसरी मैले रश्मी नाम दिंदा लक्ष्मीले लाज मान्दै आँचलले मुख छोपेकी थिइ ।

त्यसको अढाई वर्ष जतिपछि मेरी छोरीको पास्नीको दिन आयो । त्यो दिन फुपूलाई असाध्यै सम्झिएँ तर सम्झनु मात्र थियो । मेरो सन्तानको पास्नीसम्म पर्खिने अनुमति उहाँले पाउनु भएन । उहाँ आठ महिना अघि नै संसारबाट विदा हुनुभयो । फुपाजू त धेरै पहिले नै विदा भईसक्नु भएको थियो ।

आज किन हो, सायद काठमाडौंमा निकै जाडो महसुस भएर होला यतिका वर्ष पछि फुपू, रश्मी, त्यो गाउँ, विहीबारे हटिया सबैको झझल्को एकैसाथ उर्लेर आइरहेछ, सुकेर खहरे भईसकेको खोलामा अनायाश बाढी आए जस्तै ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button