मेस्सी फुटबल मैदानमा खुट्टाले सर्वाधिक सुन्दर कविता लेख्ने कवि हो
एक मेस्सी प्रेमीको बकपत्र
भुपिन
फुटबलको सन्दर्भमा पेले, म्याराडोना, मेस्सी, रोनान्डो नाजारियो, रोनाल्डिन्हो, क्रिस्चियानो रोनाल्डो, नेयमारदेखि हालका एम्बाप्पे, हालान्डहरूलाई कुनै पनि तर्कले घृणा गर्ने मानिसले मेरो विचारमा फुटबलको फ पनि बुझ्दैन । (सदाबहार घृणा चिन्तकहरूलाई म प्रेम गर्न सक्दिन ।) मेरो विचारमा त्यो व्यक्तिले फुटबलको साक्षरता समेत हासिल गरेको हुँदैन ।
सबैभन्दा बढी हावादारी देवत्वकरण र दानवीकरण हुनेमा धार्मिक नेता, राजनीतिक नेता र फिल्म अभिनेता पर्छन् । फुटबल टिम र खेलाडी पनि पर्छन् । जसको पुष्टिका लागि तर्क कुतर्क सबैको प्रयोग गरिन्छ । (म बुझ्छु, संसार प्राय: गलत भाष्य निर्माणको खेलभूमि हो ।)
खेल क्षेत्रमा सर्वाधिक लोकप्रिय खेल फुटबल र सर्वाधिक लोकप्रिय प्रतियोगिता विश्वकप फुटबल प्रतियोगिता नै हो सायद । (मेरा लागि ओलम्पिक खेल प्रतियोगिता पनि हो । यी दुई प्रतियोगिता हेर्नका लागि मात्र भए पनि चार वर्ष बढी बाँच्न मन लाग्छ ।
कतार विश्वकप, २०२२ चलिरहेछ र अब उपाधी विजेता पाउनका लागि केवल २ खेल बाँकि छन् ।
अर्जेन्टिना र फ्रान्स फाइनल प्रवेश गरिसके ।
सम्भवत: यसपाली विश्व कप फुटबलको विजेता अर्जेन्टिना हुने छ ।
मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिनुअघि सम्भत: विश्वकपको उपाधिका साथै गोल्डेन बुट र सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जित्ने प्रबल सम्भावना छ ।
यदि विश्वकप जित्यो भने सायद छोटो कदको यो म्याजिकल प्लेयरले आठौँ बालोन डिओर जित्ने मात्र होइन, GOAT (Greatest of all time) विवादको पटाक्षेप पनि गरिदिने छ ।
बिगत एक दशकदेखि म मेस्सी र यो युगका अन्य सर्वाधिक सफल फुटबलरलाई पछ्याइरहेछु । मेरा लागि मेस्सी फुटबल मैदानमा खुट्टाले सर्वाधिक सुन्दर कविता लेख्ने कवि हो ।
मेरा लागि मेस्सी Most complete player, most professional player, most humble and down to earth player & Less egoistic player हो ।
मेरा लागि फुटबल भनेको व्यापक कला हो । विपक्षिको डि एरिया वरिपरि रुँग्ने मात्र नभै आवश्यक पर्दा खेलमैदानको धेरै भागमा पैतलाले कलाकारिता गर्नु हो । र यस निम्ति मेस्सी सबैभन्दा अब्बल कलाकार हो ।
मेस्सीले यो वर्ल्ड कप नजिते पनि बिगत एक दशकदेखि मेरा निम्ति सर्वोत्कृष्ट फुटबलर हो । (तथ्याङ्कमै आधारित भएर तर्क गर्न सकिन्छ ।) विश्वकप उचाले पछि त अधिकांसका लागि सर्वोत्कृष्ट फुटबलर बन्ने छ । (तर सबैको सदाका लागि भने यो विवाद टुङ्गिइ हाल्ने छैन ।)
म मेस्सीले यसपटक विश्वकप ट्रफी उचालेको हेर्न ब्यग्र छु । यो मेरो जीवनकै एक महत्वपूर्ण सपना मध्ये एक हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)