अमेरिकाबाट फर्केपछि जब ऊ स्वयम्भु पुग्यो
लघुकथा: नियति
मित्र ‘उराठी’ गाैतम
‘छ्या ! कस्तो फाेहर !’, निर्मलले नाक खुम्च्यायाे ।
बाबुलाई डि भी चिठ्ठा परेपछि विद्यालय पढ्दै गरेको निर्मल बाबुआमासँगै अमेरिका पुगेको थियो । लामो समयपश्चात् नेपाल फिरेकाे उसलाई बाल्यकालिन साथी सुलभले काठमाडौंकाे स्वयम्भू घुमाउन लगेको थियो । मनाेरम थुम्काेमा स्वयम्भू दर्शन पनि हुने । काठमाडौं शहर दृश्यावलाेकन गर्न पनि सकिने साेचले उसले निर्मललाई त्यहाँ पुर्याएकाे थियो ।
‘विशाल उपत्यकाकाे बिचमा यस्तो अनाैठाे ढिस्काे । प्रकृतिको अनुपम वरदान । त्यसैमाथि याे स्वयम्भू स्तुपा । घरी फुत्त यता घरी फुत्त उता गर्ने बाँदरको चञ्चलता । खुब रमाउला साथी’, यही साेचले प्रफुल्ल थियोे सुलभ ।
‘हेर, मन्दिर परिसर बाहिर यस्तो गनाउँछ । जताततै बाँदरले दिसा गरेका छन् । यति राम्रो, कलात्मक ढुङ्गे सिँढी छ तर सरसफाइ छैन् । कुन कालमा बनाएको सिँढी हाे ? ढुङ्गा फुक्लिएका छन्, त्यतिसम्म मर्मत छैन् । विदेशतिर भएको भए कति सिँगार्दा हुन्, कति आकर्षक बनाउँदा हुन् यसलाई ?’, तिरस्कारपूर्ण अभिव्यक्ति ओकल्याे निर्मलले ।
साथीकाे अभिव्यक्तिले खिन्न भएको सुलभले मनमनै भन्यो, ‘माल पाएर चाल नपाएपछि के गर्नु ? मेराे देशको नियति !’
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)