महिनावारीबारे हरिप्रसादका ‘खास’ आग्रह

हरिप्रसाद गौतम
गुल्मी, जुभुङ-७

“सत्य बोल्दा जेल जीवन भोगेका ग्यालिलियो अनि महिनावारी हुँदा अछुत मानिएकी हाम्री आमा” यी दुवै धर्मान्धताका उपज हुन् ।

हो, ‘सत्य’ सत्य नै हो । भनिन्छ, सबै कुरा सत्यमै अडिएको छ तर हाम्रो धर्मलाई समयानुकूल यथार्थको धरातलमा डोहोर्‍याउने हिम्मत हामीसँग किन छैन ? कुरा सोचनीय छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्छ भनेकै आधारमा अन्यायमा परेका वैज्ञानिकले हामीभन्दा विकसित मानिएका पश्चिमी सभ्यताबाट धेरै शताब्दीपछि बल्ल न्याय पाए । जबकि न्याय पाउँदा उनी यस धर्तीमै थिएनन् । कतै हाम्रा कतिपय दिदी, बहिनी र आमाहरूले पनि यही नियति भोग्नुपर्ने त होइन !

हुन त धर्म भन्ने कुरा हाम्रो आस्थाको विषय हो । हामी परम्परागत धर्ममा विश्वास गर्छौँ र गर्नु पनि पर्छ किनकि यी कुरा मानिसले आफ्ना आवश्यकता र विश्वासका आधारमा बनाएका हुन् र समयानुसार परिवर्तन हुँदै‌ पनि आएका हुन् । तर, हामी आध्यात्मिक चेतनाले भरिपूर्ण मानिएका पूर्वीय सभ्यताका बेत्ताले नै यो महिनावारीको अवस्थामा रहेका आफ्नैलाई यसरी छि:छि: र दुर दुर गरिरहेका छौँ । यो लज्जाको विषय होइन र ?

त्यसैले अबदेखि कसैले पनि यसखालको व्यवहार नगरौँ । सरसफाइमा ध्यान दिऔँ । पाठपूजा रोकिने डरले महिनावारी रोक्ने नाममा जथाभावी औषधी सेवन नगरौँ । अनि, हरेक नारीको आमा बन्ने प्राकृतिक गुण र यस मासिकधर्मको सम्मान गरौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button