भूपीकाे याे फोटोले गराएका सम्झनाहरू

लेखकले यो स्मृति लेखमा आफुलाई म होइन, ऊ पात्रको रुपमा प्रस्तुत गरेका छन् ।

अरविन्द रिमाल

हिजाेका दिन दिउँसोको समय, ट्विटर हेर्दै, पढ्दै, अर्काका मन्तव्यमा आफ्नाे टीकाटिप्पणी प्रस्तुत गर्दै जाँदा यही तस्वीरसँग भेट भयाे,उसकाे । यस्तै खालकाे एउटा तस्वीर उसँग पहिलादेखि हुँदाहुँदै किन यही तस्वीरले आज धेरै पुराना सम्झनाकाे बाढी नै ओहिर्‍यायाे, ऊ जान्दैन । उनकाे सुन्दर, मुस्कानयुक्त चेहरा, शिर दायाँतिर ढल्कने गरी अभिव्यक्त सदाकाे शारीरिक हावभाउ, साैम्य, शिष्ठ, मीठाे, हार्दिकताले भरिएका बाेलीवचन, उनकाे प्रखर व्यक्तित्वलाई झल्काउने उनका तेजिला आँखा– यी सब उनलाई आफूले चिनेजानेदेखि टिचिङ्ग अस्पतालकाे प्राइभेट वार्डमा आखिरी भेट भएसम्म यस्तै भएकाे सम्झनाहरूले उसलाई ढाक्याे ।

भूपी त सत्य, स्वतन्त्रता, न्याय, मानवीय मूल्यमान्यता, शान्तिप्रतिकाे आफ्नाे जीवनदर्शन, संघर्षकाे गरिमाकाे यशाेगान गर्दा पनि यही हावभाउमा हुन्थ्ये भन्नू अत्युक्ति नहाेला ! उनले आफ्नाे कविता सुन्न इच्छुक रहेका साहित्यकार विश्वेश्वरप्रसाद काेइरालालाई ‘भूपीजी, तपाईँका कविता सुन्ने ईच्छाले याे भेट गरायाे । के छ, हालखबर तपाईँकाे ?’ भनी २०३३ सालकाे माघकाे एक बेलुकीपख एक अन्तरङ्ग भेलामा जिज्ञासा जनाउँदा भूपीले ‘उही त हाे नि!’ भन्दै कुनै एक राजाले महायज्ञ आयाेजन गर्दा चारजना जाेगीहरूलेे चार किसिमकाे मन्त्र पढेर दक्षिणा पड्काएकाे ठट्टा सुनाउँदा वि. प्र. तथा सबै उपस्थित व्यक्तिहरू काेठाकाे भित्तै चिरिने गरीझै हाँसेकाे, र वि. प्र.ले ‘ओहाे, मैले त १७-१७ वर्षसम्म हाँस्नै बिर्सेकाे थिएँ! आज तपाईँसँगकाे यस मिलनले याे सुयाेग जुर्‍याई दियाे! ओहाे, आज सुशीला पनि भएकी भए उनी पनि साह्रै रमाउने थिइन्’ भन्ने उद्गार व्यक्त गर्दा पनि भूपीकाे यही हावभाउ थियाे भने पनि अत्युक्ति हुनेछैन ! मूर्धन्य नृत्यशास्त्री भैरवबहादुर थापाले आफ्नाे ‘संस्मरण’मा बताएकाे याे घटना पढ्ने काेही पनि यस भावबाट अलग हुनसक्दैन ।

पिताजीकाे व्यवसाय कविराजी अघि बढाउने हेतुले कलकत्ता आयुर्वेदविज्ञान पढ्न गएकाे ऊ १७ वर्षे केटाे पुष्पलालकाे कलकत्ता काडरकाे पहिलाे समूहमा सम्मिलित हुन पुग्याे– हिक्मतसिँह भण्डारीमार्फत ! उनी र ऊ बाै बजारकाे एउटा ओरियन्टल हाेम नामकाे सार्वजनिक हाेस्टेलमा एउटै काेठाका बस्दाकाे कुरा हाे, २००७ सालकाे थाल्नीतिर । त्यसबेलाका राेचक घटनाक्रमकाे सविस्तार वर्णन त उसले आफ्नाे ‘१९९७ सालदेखि २०१७ साल– एक अवलाेकन’ ग्रन्थमा गरेकै छ ।

त्यस्ताे उत्साहसँग पढ्न गएकाे छाेराे हठात् पढाइ छाडी आउँदा उसकाे पितालाई हुनसम्मकाे चाेट त परेकै हाे । तर उनले ‘कविराजी पढ्न गा’थ्याै, कम्युनिज्म पढी आएछाै ! बेशै हाे’ भनी जुन सहृदयता एवम् उदारभाव उसका पिताले जनाए, त्यसले उसकाे जीवनलाई एउटा ठाेस रूप दियाे ।

पुष्पलालकाे निर्देशनअनुसार ऊ काठमाडौँमा तत्काल नै प्रगतिशील अध्ययन मण्डल स्थापना गर्न जुट्दा भूपी शेरचन मथुराप्रसाद श्रेष्ठसँगै अखिल- नेपाल विद्यार्थी फेडरेशनका सक्रिय कार्यकर्ता भइसकेका थिए । पार्टीगत कुनै कामकाे सिलसिलामा भेटघाट- चिनजान हुनासाथ उनीहरू तीनैजना आपसमा घनिष्ठ भए ! यस्ताे घनिष्ठता उनीहरूकाे अरु धेरैसँग एकैसाथ भएकाे थियाे !

प्र. अ. म. काे त्यतिबेलाकाे बाैद्धिक जागरण अभियान र अखिलकाे लडाकु विद्यार्थी अभियान सँगसँगै चलेका थिए । यसले गर्दा उनीहरु अरु घनिष्ठ दाैँतरीपनमा गाँसिए ।

प्रचण्डराज सिँह अखिलमा अध्यक्ष थिए । अखिल- सञ्चालित विद्यार्थी आन्दोलन सम्युक्त र एक्लाएक्लै रूपले चलिरहँदा भूपी र उसकाे वासुदेवप्रसाद ढुङ्गाना, मथुरा श्रेष्ठ, विजयलाल श्रेष्ठ, मकबूल शाह, मदनलाेचन सिँह, पुष्पलता श्रेष्ठ, शान्ता श्रेष्ठ, प्रभा श्रेष्ठ, रामेश्वर प्रधान, भैरव रिसाल, प्रेमनर्सिँह राणा, शिवा राणा, हेमराज जाेशी आदि अनेकसँग सहकार्यकाे सम्झना पनि बडाे हार्दिक रहेकाे थियाे । अलि पछि पुण्यप्रताप राणा, भरतराज जाेशी, यी सबैसँग थप परिचय पनि उही ‘अवलाेकन’ मा पढ्न पाइन्छ! ओहाे, कस्ताे नि: स्वार्थ, ज्यानी दरिलाे कमरेडपनकाे समय थियाे, त्याे । अनमाेल थियाे, त्याे !

अवैध गरिएकाे नेपाल कम्युनिष्ट पार्टीको खुला सङ्गठन ‘जन अधिकार सुरक्षा समिति’ काे स्थापना गर्ने श्रेय नेकपा नेतृत्वबाट षडयन्त्रात्मक तवरले हटाइएका पुष्पलाललाई नै छ ! उनैकाे अग्रसरतामा भूपी र ऊ अनेक आन्दाेलन र संघर्षमा सँगसगँ थिए । तिनताक पी. एन. राणा र निर्मल लामा क्रमशः नेकपा काठमाडौँ जिल्ला समिति सचिव थिए भने ऊ साे समितिकाे सेक्रेटारियट सदस्य अनि जन अधिकार सुरक्षा समितिकाे महासचिव पनि । ज. अ. सु. स. काे दायित्व पूरा गर्दै अखिलका अभियानहरूमा लाग्दा उसले सदा नै भूपीकाे साथ पायाे । नेकपाप्रति उदासीन रहेकाे नेपाल स्टुडेन्ट यूनियनका विजय प्रसन्न, माहम्मद माहेशिन, रामबाबु देबकाटा, गाैरी प्रधान आदिलाई विद्यार्थी सम्युक्त संघर्षक्रममा नेकपानिकट ल्याउनमा पनि भूपीकाे उल्लेख्य याेगदान रहेकाे थियाे । फलस्वरूप २०१२ सालमा अखिल र यूनियनलाई एक गरी नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशन बन्याे । फेडरेशनकाे नयाँ नेतृत्व महासचिवकाे रूपमा भरतराज जाेशी र सचिवकाे रूपमा रामबाबु देबकाेटालाई सुम्पने क्रममा उसले सरकारी वारेन्टमा कारण भूमिगत हुँदाहुँदै एकता अधिवेशनलाई सम्वाेधन गरेकाे थियाे, तात्कालिक अखिलकाे तात्कालिक इन्चार्जकाे रूपमा । डिल्लीबजारकाे पद्मकन्या हाईस्कूलमा भएकाे उक्त घटनामा तिनताकका आईजीपी डी. राज शर्मा पुलीस लिएर उसलाई समात्न खाेज्दा बचाउनेमा भूपी पनि थिए ।

यसरी नेपाली जनताकाे मङ्गलकल्याणकाे हितमा, मुलुककाे स्वतन्त्र अस्तित्व तथा सार्वभाैमसत्ताकाे रक्षार्थ भारतीय हस्तक्षेपसँगैकाे विस्तारवादविरुद्ध, अङ्ग्रेज- अमेरिकी साम्राज्यवादविरुद्ध, विश्वशान्तिकाे पक्षमा आवाज उठाउँदै जादाँ भूपी र उसले आफूलाई २०१२ सालकाे अन्त्यतिर अत्यन्तै महत्त्वपूर्ण घटनामाझ बीच पाए– राजा महेन्द्रकाे राज्याभिशेष अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीमाथिकाे प्रतिबन्ध फुक्का गराउन देशव्यापी अभियानकाे घाेषणा ! पार्टी महासचिव मनमाेहन अधिकारीले ईन्द्रचाेक डबलीमा र काठमाडौँ जिल्ला पार्टी सचिव रहेकाे उसले असन अन्नपूर्ण मन्दिरचाेकमा खुला भाषण गर्ने पनि घाेषणा भयाे । यसकाे तयारीमा भूपीले आफ्नाे याेगदानमा कुनै कसर बाँकी राखेनन् । केआई सिँह फाैजी विद्राेहमा ने.क.पा.काे कुनै संलग्नता नभएकाेले उसमाथिकाे प्रतिबन्ध फुक्काकाे आवश्यकताबारे प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले राजा महेन्द्रसमक्ष गरेका अनवरत काेशिशबाट, पार्टी नेतृत्वको व्यावहारिक साेचकाे फलस्वरूप र स्वयं राजा महेन्द्रकै साैजन्यबाट पनि प्रतिबन्ध हट्याे ।

नारायणहिटी राजदरबारकाे झण्डाभन्दा अग्लाे खम्बामा हँसिया- हथाैडा अङ्कित लाल झण्डा फहराएर ने.क.पा.ले खुला दाेस्राे ऐतिहासिक महाधिवेशन फाेहाेरा दरबारकाे हल- प्राङ्गणमा गर्दा भूपीले महाधिवेशन सचिवालय सदस्यकाे दायित्व कुशलतापूर्वक पूरातल गर्नै, साथै, उनले उसलाई पार्टीको केन्द्रीय समितिकाे सदस्यमा उम्मेदवारी दिन लगाउन र जिताउनमा समेत याेगदान गरे ।

केन्द्रीय सदस्यकाे दायित्व पूरा गर्दै, पार्टी मुखपत्र ‘नवयुग’ साप्ताहिककाे सह- सम्पादक भई पार्टी प्रचारकार्य अघि बढाउँदै जाँदा २०१५ सालकाे आम निर्वाचनले ढाेका ढक्ढकाइसकेकाे थियाे ।

२००८ सालमा प्रगतिशील अध्ययन मण्डलकाे पुतलीसडक सभाकक्षदेखि टुण्डिखेल महाङकालस्थान पछाडि गाेविन्दप्रसाद लाेहनीका खुला मार्क्सवादी कक्षा, मखन टाेल शिव मन्दिरनिरकाे अखिल- ने. वि. फे.काे अफिस, प्याफलमा ने.क.पा.काे हेडक्वार्टर, विद्यार्थी फ्रन्टका सदस्यकाे नाताले पार्टीअन्तर्गतका यावत् जनवर्गीय सङ्गठनका भईपरिआउने काममा साैहार्द्रतापूर्ण सहयाेग, डिल्लीबजारकाे लप्टनकाे हाेटेलमा यदाकदा चियापान, त्यसपछि उसकाे कालिकास्थान घरमा मातापितासँग भेटघाट अनि उर्मिलाबाट खाजा, काठमाडौँका गल्लीगल्ली, चाेकचाेक, सडकसडकमा जुलुस र भाषणकाे ७ वर्षे घनिष्ठताले हुर्केकाे मित्रता- दाैतरीपनले आम निर्वाचनपछि, उसकाे पारिवारिक परिस्थितिले गर्दा, अर्कै स्वरूप लियाे !

काव्य सृजनशीलताकाे आकाशमा उदाएका नवीन तारा भइसकेका भूपीकाे अब उसित भेटघाट भारतकाे राजधानी नयाँ दिल्लीबाट छापिने ‘साेभियत भूमि’का पानाहरुमा हुनथाल्याे ।

भूपीका रचनाहरूका साथै उनका सृजनात्मक कृतिहरूप्रति साेभियत नेपालविद्हरूका समालाेचनाले भूपीलाई नेपालभरि नै चिनायाे ! २०१७ सालकाे पुस १ गतेकाे महेन्द्र कूपछिका घटनाहरूबाट पनि याे क्रम टुटेन । ने. क. पा. भित्र अनेक गण्डगाेल भए तापनि भूपी आफ्नाे साहित्य साधनामा पार्टीगत अवधारणले असर पार्न नदिन सचेष्ट रहे, जबकि कम्युनिष्ट आन्दाेलन परस्पर निन्दा- डामवादमा झरिसकेकाे थियाे । फेरि पारिवारिक कारणबाट ‘साेभियत भूमि’काे जागीर छाडी ऊ काठमाडौँ फर्केपछि भूपीसँग उसकाे भेटघाट अकारण टुट्याे । दलगत राजनीतिबाटअलग रहँदारहँदै पनि ऊ पनि ‘रायमाझीवादी’ भनी डामियाे ।

नियतिकाे खेल, उसले फेरि काठमाण्डाैँमा साेभियत दूतावासकाे सूचना विभागमा जागिर पायाे ! भूपीसित मैत्री नवीकरण हुन पाएन ! मित्रद्वय भैरववहादुर थापा एवम् तुलसीनाथ ढुङ्गेलकाे सक्रियतामा कमलपाेखरी थापानिवासमा विभिन्न विधाका कवि, साहित्यकार, चित्रकलाकार, पत्रकार, बाैद्धिक व्यक्तिहरूकाे नियमित भेटघाट हुँदा पनि ऊ आफू त्यसबाट अलग्गै रह्याे । भूपीसित निकटताकाे यस अवसरबाट पनि ऊ आफ्नै विवशताले वञ्चित भयाे । तर अनाैठाे संयाेग कस्ताे भने, जुन समयमा भूपी ‘अङ्कल हाेलाई पत्र’ लेख्दैथ्ये, त्यतिबेला उसले नेपाल अफ्राे- एशियाली ऐक्यवद्धता समितिमार्फत भियतनामप्रति र अमेरिकी आक्रमणविरुद्ध उसकाे अतुल्य वीरतापूर्ण संग्रामप्रति ऐक्यबद्धता जनाउने सुयाेग पाइरहेकाे थियाे !

भूपी प्राज्ञ भए । स्वतन्त्र ढङ्गले प्रज्ञाकाे बाटाे लिएका उनीलाई यस्ताे जागिर खानु– याे उनकाे पनि नियति रहेछ ।

‘नवप्रगतिशील डामवादीहरू’ले भूपीलाई डाम लगाई हाले, लगाउन छाडेका छैनन्, आजसम्म पनि– साहित्यसाधनामार्फत राष्ट्र एवम् जनताप्रति उनकाे नि: स्वार्थ समर्पणकाे समग्रतालाई ओेझेलमा पार्न खाेज्दै, विकृत तुल्याँउदै ! तर भूपी त भूपी नै हुन् र सदासर्वदा कालजयी भएर रहने छन् ।

भूपी साह्रै नै अस्वस्थ भई टिचिङ्ग अस्पतालमा भर्ना भएकाे सुनेर ऊ स्वास्थ्यलाभकाे शुभकामना दिन २०४५-६ साल कुन हाे, ऊ अहिले सम्झिँदैन, एकदिन अस्पताल काेठामा जाँदा बीचकाे लामाे अन्तरालले कुनै फरक पारेन । उनकाे उही साैम्य आकृति, मधुर मुस्कानले उसकाे स्वागत- अभिवादनकाे अभिनन्दन गर्‍याे ! यति नै उनीहरूबीचकाे मित्रता र दाैतरीपनलाई अमीट बनाउनका लागि यथेष्ट थियाे !

धेरैबेर बसेर भलाकुसारी गर्ने, पुराना सहृदयतापूर्ण दिनहरूकाे सुखद सम्झना गर्ने समयावस्था थिएन । अहिले सम्झदा, भूपीकी छाेरी कविता शेरचन त्यतिबेला उनकाे सेवासुश्रुवामा थिइन् । अहिले त कवितासित उसकाे टाढाकै भए पनि साइनाे छ ।

भूपीले मरेरजानेहरूलाई यहाँ बाँच्न कत्ति गाह्राे छ भन्ने व्यथा हृदय विदारकरूपमा सुनाएकाे सम्झदैँ उनी जहाँ भए पनि ‘घुम्ने मेचमाथि अन्धाे मान्छे’का कालजयी रचयिताकाे आत्मालाई चिरशान्ति प्राप्त भइरहाेस् भन्दै ऊ अलबिदाकाे अनुमति चाहन्छ !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button