
एसएलसी दिएकै ३४ बर्ष भैसकेछ तर हामी कहिल्यै ठुलो भएनौँ

स्कुल सम्झना
मोहन के श्रेष्ठ
२०७९ कात्तिक १३ गते, हामी २०४५ साल एसएलसी ब्याचका साथीहरुको कोष श्री आदर्श कोष २०४५ एसएलसी ब्याचको पाँचौ साधारण सभा भएको थियो ।
सभामा एउटा सम्मानको रुपमा शिक्षा सम्मान भनेर हामीमध्ये कसैको पनि छोराछोरी स्नातकोत्तर (मास्टर डिग्री) पास भएकालाई प्रदान गर्ने गरेको थियो ।
दोस्रो साधारण सभामा मन्जुकी छोरी रिजु तिमिलालाई यो सम्मान प्रदान गरेको थियो । तेस्रो र चौथो कोरोनालगायत केहि कारणले साधारणसभा राम्रोसँग गर्न पाएका थिएनौं । यो पाचौं साधारणसभा पनि हतारहतारमा तयारी गरेर छोटो समय मै सम्पन्न भएको थियो ।
यो बर्ष कबिन्द्रको छोरी निनु श्रेष्ठलाई यो सम्मान प्रदान गरेको छ ।
कुरा गर्दै बुझ्दै जाँदा हाम्रो साथीहरुका धेरै छोराछोरीहरुले स्नातकोत्तर पास गरिसकेको रहेछ । रोहिनीको छोरा मास्टर पास डाक्टर रहेछ । श्यामभक्तको पनि माूटर पास भएको छोरा रहेछ । अनि रिताको छोरा पनि ।
त्यस्तै त्यस्तै ।।। जे होस यो सम्मान पाउनेहरुको लर्को नै रहेछ अर्को बर्षको लागि ।
बा बा कसै कसैको त नाती पनि भैसकेको रहेछ,
त्यसपछि …
म घरमा आएर आफ्नो अनुहार ऐनामा हेर्न बाध्य ! ओहो ! सोचें, हामीले एसएलसी दिएकै पनि ३४ बर्ष पो भैसकेको रहेछ ।
फुलिसकेको कपालले भनि रहेको थियो । अब तिमीहरु बालक रहेनौ । बालापन छोडी देउ । म भने फिटिक्कै तयार थिएन बालापन छोड्न ।
अनि मैनटेण्ट गर्दा गर्दै पनि चाउरिएको अनुहारले जिस्काईरहेको थियो । अब तिमीहरु ठुलो भैसकेको छ अनुहार पनि चाउरि पर्यो भन्थ्यो ऐनाले । धत् !
जिस्किएको जस्तो पनि लागेन । होला नि भनेर ऐनालाई आंखा सन्काएर खुरुखुरु कौसीतिर लागें र मौन भएर एक छिन सोचें ।
बालापन छोड्नै मन लागेको थिएन ।
म उमेरले केहि बढी त रहेछु । तर बालापन त म सँगै पो रहेछ जस्तो पनि लाग्न थाल्यो । ठुलो हुन मन लागेकै छैन मलाई । हुँदिन पनि किन कि मसँग त स्कुलका उहि फुच्चे साथीहरु छ्न् । फुच्चे साथीहरुसँग फुच्चेपन नै हुन्छ नि । ठुलोपन होइन ।
म फर्कें हाम्रो स्कुलतिर ।
त्यो बेला हामीलाई पढाउने शिक्षकहरु मात्रै हामीलाई ठुला लाग्थ्यो । बच्चा बेला त्यही सोच्थ्यौ । अनि अहिले पनि यस्तै सोच्छौं । हाम्रा शिक्षकहरु मात्रै ठुला छ्न हाम्रा लागि । तर त्यो बेलामा सोच्ने ठुलो र अहिलेको ठुलोमा धेरै अन्तर छ भने मैले बुझिसकेको छु । उ बेला ठुलो मात्र लाग्थ्यो हाम्रा शिक्षकहरु हामीलाई । तर अहिले हामीलाई शिक्षाको उज्यालोमा राख्ने उहाँ शिक्षकहरु त महान हुनुहुँदो रहेछ भने पनि बुझ्यौं । सबैका शिक्षक महान नै हुन्छ्न । सबै शिक्षकहरु प्रति नमन मन मनै टक्रायौं मैले ।
जीवन बगेको खोला जस्तो यात्रा न हो । हिडिंरह्यौं निरन्तर ।
ठुलो भयो रे, बालक रहेन रे तर मेरो बालापन मसँगै छ ।
स्कुलका साथीहरु भेट्दा हामी कहिल्यै ठुलो नै भएनौं । सानै रह्यौं ।
वाह ! जिन्दगी ! उमेर त नम्बर मात्र हुन नि- केको सुर्ता !
नम्बर बढ्दै गएर के भो त- हाम्रो बालापन कहिल्यै बढेन ।
उहि छन्, स्कुलमै स्कुलका साथीहरु सँगै छ्न् । सधै रहन्छन् । ठोकेरै भन्छु लौ जा !
खुब फुर्ति लगाए मनमनै । मैले मात्र लगाएको कहाँ हो र ! सबै स्कुल क्लासमेट साथीहरु सोच्छन यसरी नै ।
न पत्याए हाम्रो क्लासमेटहरुको भेलामा एकचोटि आएर हेर्नुस् अनि थाहा पाउने छ । ठुल्ठुला बालकहरुको मेला नै लागेको जस्तो देख्नु हुने छ । पोजपोजको फोटो खिचेको देख्ने छ । बालकहरु जस्तै उफ्री उफ्री खेलेका आन्टी, बाआमा, बाजे बज्यैहरु देख्न पाउने छन् ।
यसर्थ बालापन बालापन नै रह्यो । मलगायत स्कुल क्लासमेट साथीहरु आन्ति, मामु, बाबा, बाजे बजै नै भए पनि हामी बालक नै हुन चाह्यौं । बालापनमै रमायौं ।
भलै हाम्रो शरीरले बालापन छोडे पनि हाम्रो मन अनि मस्तिष्कले छोडेको छैन । सम्झनामा, अनि हाम्रो भेटघाट मै पनि हाम्रो बालापन पुनः ताजा भै सधै झल्किन्छ ।
आहा ! अरु के नै चाहियो र ! आनन्द यसैमा छ ।
क्लासमेट साथीहरु । हामी फेरि फेरि भेट्नु पर्छ है ! उहि बालक भइ रमाउन अनि दुस्ख सुखमा साथ दिन । कोषको बहानामा, पिकनिकको बहानामा अनि अरु थुप्रै बहानामा ।
सोच्दासोच्दै रात छिपिएछ । बेडमा पल्टिन गएँ । छोटो मनको कुराबाट बिदा लिएँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




Great Article .touch in heart