टिप्पणीः उखानप्रिय पृथ्वी

भरत शर्मा, एमफिल

इतिहास केलाउदाँ १८२५ आश्विन १३ गते आदित्यवार सूर्योदयदेखि ४३ घडी ५८ पला जाँदा पृथ्वीनारायण शाह कान्तिपुर प्रवेश गरेका हुन् । गोर्खाका राजा पृथ्वीनारायणले १८२५ भाद्र १४ गते इन्द्रजात्रा (अनन्तचर्तुदशी) को दिन राजा जयप्रकाश मल्लले आफैले चलाएको कुमारीयात्राको रथमा आफू बसेर तल्लो टोलसम्म आइपुगेको बेलामा रातको ११ बजेको करीवमा पृथ्वीनारायण शाह (गोर्खा) सेनाले कान्तिपुर आक्रमण गरेका थिए । केही बेर लडाई भयो तर आखिरमा मल्ल राजाले कान्तिपुर छोडेर ललितपुरका राजा तेजनरसिंह मल्लको आश्रयमा पुगे । इतिहासमा यी दुई तिथिमितिमा त्यति बहस नभए पनि पृथ्वीनारायणको जन्मजयन्ती पुस २७ को अवसरमा कान्तिपुर शहरमा उनै पृथ्वीनारायण शाह निकै चर्चाको विषय बन्ने गरेका छन् ।

गणतन्त्रअघिका सरकारले राष्ट्रिय एकता दिवस मनाउने गरेकै थियो । अहिले गणतान्त्रिक राज्य व्यवस्थामाथि धावा बोल्ने समूह बढ्दै जाँदा कान्तिपुरमा पृथ्वीनारायणलाई सम्झनेहरु पनि बढ्दै गएका छन् । तर, सार्वजनिक विदा दिएर एकता दिवस मनाउने अवसर भने यो गणतान्त्रिक सरकारले रोकिदिएको छ ।

हामी नेपालीले एकीकरणका निर्मातालाई गरिएको अपमानको फल भोग्दै छौं भन्ने जमात बढ्दै छ । शाहको स्वार्थ त एक हुने मात्र थियो तर शाहको कामका विरोध गर्नेहरुमा त ‘हामी’ होइन ‘म’ भन्ने भावना विकास भयो । शब्द र भाव जे भए पनि सत्ता सञ्चालन गर्नेलाई हामीले ‘राजा’ मानेका हौं । अहिलेका सत्ता सञ्चालन गर्ने राजाहरुले एकीकरणलाई टुक्रा पार्न खाजे पनि नेपाली जनताको मनमा पृथ्वीनारायण सम्झना अलिक बेशी हुँदै गएको हो कि ?

शाहले हामीलाई राज्य सञ्चालनका उपदेश दिएर गएका थिए । त्यसलाई पछिल्ला र अहिलेका राज्य सञ्चालकले कथा बनाए । घुस लिने र दिने दुवै राज्यका सत्रु हुन भनेको उपदेशलाई ठीक उल्टो घुस लिने र दिने दुवै पक्ष ठीक भन्ने संस्कार सिक्यौं, सिकायौं भन्दा फरक पर्दैन ।
परिवर्तन र क्रान्तिको नाम दिएर इतिहासका कालजयी पात्रलाई भुल्नु अर्को ऐतिहासिक भुल हुनेछ । इतिहास भविष्य र वर्तमानसम्म गासिँएको हुन्छ । इतिहासलाई उपहास गर्यौ भने भविष्य पनि बिग्रदै जान्छ । आज हामीले शाहका दिव्य उपदेशहरुलाई उपहास गरेका छौं कि सम्मान ? सत्ताधारी नेतृत्वले ‘विकासको सपना’ मात्र देख्ने गरेका छन् । त्यही राती देखेको सपनालाई दिनमा मञ्च पाए भने कथा बनाएर सुनाउने गरेका छन् । जनताले विकासको कथा सुने तर कथा अनुसार काम भएको देख्न पाएनन् । विडम्बना !

पृथ्वीनारायण शाहका ऐतिहासिक तथ्य खोजी अभियानमा लाग्दै गर्दा केही रोचक विषय पनि भेटिएको छ । पृथ्वीनारायण शाहको वंशावलीहरुमा लेखिएको छ ‘उनी उखान टुक्काहरुमा सम्बोधन गर्थे । उनी उखानप्रिय थिए ।’ उनको सबैभन्दा प्रिय उखान थियो रे, ‘बाहुनको खेल, खसको झेल, मगरको पेट, कसैले नभेट ।’

यो उखानको अर्थ र तात्पर्यका बारेमा इतिहासकारहरुले व्याख्या गरेको भेटिएन । तर, तथ्यपरक भएर विश्लेषण गर्ने हो भने बाहुनहरुले पृथ्वीनारायण शाहमाथि युद्ध यात्रामा धोका दिएको हुनुपर्छ । ब्राम्हणको दुई कोटी कुमाई र पूर्वीयाबाट धोका भए पनि उनीहरुमध्ये एकलाई कारवाही गरेको कथ्यहरु भेटिन्छन् । खस अर्थात् क्षेत्रीहरुले झेल गरे, सोझा मगरहरु खानपानमा रमाउने भएर होला, पेट भने । त्यसैले खेल, झेल र पेट भएकाहरुलाई नभेट्दा नै जाती हुने कुरा उखानमा उल्लेख गरेको भन्न सकिन्छ ।

अहिले हाम्रा राजकाज चलाउने नेता पनि उखानटुक्कामा निकै भावुक छन् । यसो राजनीतिक खेल खेल्नेहरु अधिकाँश बाहुनक्षत्री नै छन् । यी सबैले खेलमा झेल कसरी खेलिरहेको छन् ? जनता जनार्दन जानकार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button