
मृत्यु आऊ, एक अर्काको अंगालोमा बाँधिएर सँगै निदाऔँ
मृत्यु कविता–१५
ठाकुर बेलवासे
मृत्यु आऊ
तिमी मलाई तिम्रो अंगालो देऊ
म तिमीलाई मेरो अंगालो दिन्छु
आऊ मृत्यु ।
तिमी बिना मेरो अन्त्य
म बिना तिम्रो अन्त्य
सम्भव छैन
हामी दुवै अन्त्य हुनुको विकल्प पनि छैन ।
आक्रोशित बनेर हल्ला गर्दा
बाटो भत्किन सक्छ
आँसुको नदी आँखाहरुमा पस्न सक्छ
अँगेनाको आगो रुन सक्छ
एकाएक निभ्न सक्छ आगो ।
प्रेमीजस्तो शान्त बनेर
दूवो जस्तो कोमल बनेर
विस्तारै आऊ ।
म प्रेमिका जस्तो
फूल झैं मुस्कुराएर
तिम्रो स्पर्शमा निदाउनेछु
तिमी चुपचाप आऊ ।
मेरो अन्त्यको सत्यका लागि
मृत्यु आऊ
न्यानो अंगालो लिएर आऊ
म आमाको काखे बालक जस्तै निदाउनेछु ।
तिम्रो अन्त्यको सत्यलाई सार्थक बनाउन
म परदेशी खसमलाई स्वागत गर्न आतुर स्त्रीजस्तो
चञ्चल बनेर बस्नेछु ।
चलाख प्रेमी जस्तो
सजग बनेर लुकेर आऊ
म आँटिली प्रेमीका जस्तो
तिम्रो प्रतिक्षामा हुनेछु ।
मृत्यु आऊ
एक अर्काको अंगालोमा बाँधिएर
सँगै निदाऔँ
कहिल्यै नब्यूँझने निन्द्रा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
