घर बूढोको सौराहा-कन्याम यात्रा

पेशल आचार्य

२०७९ काे दसैँले जीवनमा नयाँ अनुभव दिलाएर गयाे । जान्छु पनि नभनी सुटुक्क गएकाे दसैँले यसपटक अनेक अनुभूति र दायित्व सिकायाे । बाआमाहरू दाेस्राेपटक माहिलाे र कान्छाे छाेराकाे निमन्त्रणामा अमेरिका जानु भएकाले आफैँ घर बूढाे भइयाे । विधिवत जमरा राखेर चण्डीपाठ गर्दा दिनहूँ नुहाएकाे चङ्गा शरीरले दिउँसाेदिउँसाे घरका सानातिना कामहरू गरियाे । टीकाका दिन परेकाे झरीले घर बूढाे मलाई घर रूँघायाे ।

टीकाकाे दिन घर बसियाे । काेही टीका लगाउन आएनन् । आफू पनि जान सकिएन । पत्नी गीता र छाेरा आरम्भ सिफल र मैतीदेवी टीका लगाउन गएपछि म केही लेखन कार्य गरेर हिन्दी सिनेमा हेरेर बसेँ ।

जेठी छाेरी उत्प्रेक्षा अध्ययनका सिलसिलामा करिब एक दसकदेखि अष्ट्रेलियाकाे सिडनीमा, बाबाआमा याे पटककाे दसैँमा भर्जिनियाँ र हामी ३ जना नेपालमा भएकाले अलिक न्यास्राेजस्ताे भएकाे थियाे तर असाेज १५ गते नर्थ क्याराेलिनाकाे सार्लेटबाट कान्छी छाेरी ज्वाइँद्वय सुभेच्छा र सुमन निराैलाज्यूकाे आगमन भएपछि दसैँकाे खुसी सर्लक्कै घर भित्रियाे । टीकाेटालाे भयाे । खानपिन र भलाकुसारी तथा यात्रामा निस्कने सर सल्लाह गरियाे । सुरूमा मैले घर रूँघेर गीताजी र छाेरा आरम्भलाई यात्रामा पठाउने कुरा चल्याे तर पछि घरका ससाना समस्या मिलाएर हामी ३ जना (म लेखक, पत्नी गीताजी र छाेरा आरम्भ), छाेरीज्वाइँ, सम्धीसम्धिनी (टीकाराम निराैला र मीना निराैला) र ज्वाइँका दाजु(सुजन निराैला) गरी जम्मा ८ जना २०७९ असाेज २६ गते बुधबार मे -१-च ३२३२ काे गाडी भाडामा लिएर सुरूमा साैराहा त्यसपछि शाश्वत धाम नवलपरासी, पाेखरा, देवघाट, जनकपुर, कङ्कालिनी देवी (सप्तरी) हुँदै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा भगवतीकाे दर्शन गरी एक हप्ते धार्मिक र पर्यटकीय यात्राकाे अन्त्य गरियाे ।

यात्रा अति शिष्ट, राेचक, लाभदायी, आराम र सन्देशमूलक रह्याे । कहिलै घर शून्य बनाएर नछाेडेकाे हुँदा शून्यशून्य लाग्याे तर पनि भ्रमण भनेपछि केके कसाेकसाे मिलाएर हिँडन मन लागि हाल्ने रहेछ । हामीले गरेकाे याे यात्रामा सबैभन्दा धेरै परिश्रम पाथिभरा यात्रामा गर्याैं र आत्मिक आनन्द पनि यहीँ आएर उठायाैं । गीताजीलाई माथि पुग्न केही सकस भयाे तर डा.सुजन निराैलाज्यूकाे सहयाेगले ओखती र सुइमार्फत् जसाेतसाे उकालियाैं । साेमबार फुङलिङ नगरपालिकाकाे तल्लाे फेदी याने काफ्ले पाटी पुगेर पैदल यात्राकाे आरम्भ गर्याैं ।

साेमबार बेलुकीकाे उकालाेकाे गन्तव्य ठूलाे फेदीमा पुगेर साँझकाे ७ :०० बजे टुङ्गियाे । ठुलाे फेदीमा अवस्थित पञ्चकन्या हाेटलमा बाँस बसियाे । अति चिसाे ठाउँ भएकाले ज्याकेट र माेजा लगाएरै सुतियाे । भाेलिपल्ट १:४५ मा उठेर नित्यकर्म सक्दा ओर्दा ३:३० भयाे । सबै मिलेर हिँडन लाग्दा बिहानकाे ३:४५ भयाे ।

माता पाथीभरालाई सम्झेर मन प्रफुल्लित बनाएर राति नै हिँडियाे । गीताजीलाई घुँडाकाे असरले हिँडन केही गाह्राे भएकाले मसललाई रिलिफ हुने सुई डा.सुजन निराैला ज्वाइँ साहेबले लगाइदिनु भयाे । उकालाे बाटाे, रातिकाे समय मकै, अदुवा र कागती चपाउँदै हामी उकालिरह्याैं । छाेरी, ज्वाइँ, छाेरा र डा.सुजन ज्वाइँ हामीभन्दा अघिअघि हामी पछि लाग्याैं । उकालाे मात्र हाेइन समग्र यात्राभर सम्धीज्यू टीकाराम निराैला र सम्धिनीज्यू मीना निराैलाले साथ भरपूर साथ दिनु भयाे । वहाँहरूकाे शालीन प्रकृतिकाे साथ नपाएकाे भए हामी पाथीभराकाे उकालाेमा अात्तिने थियाैं । गाउँदै, जाेक भन्दै र अघिपछि गर्दै हाम्राे यात्रा लाैराे टेकेर अघि बढ्दै गयाे । हामी मन्दिर परिसर पुग्दा बिहानकाे ५:४५ भएकाे थियाे ।
सम्धीज्यूले विधिवत् पूजाका प्रक्रिया सुरू गर्नु भयाे । हामीसँगै सँगसँगै रह्याैं । सन राइज हुनु अघि हामीले कुम्भकर्ण हिमाललाई पछाडि पारेर धेरै फाेटा लियाैं । जब सूर्याेदय भयाे अनि सूर्यलाई अर्घ दिएर हामी दुर्गाेपासनामा लिन भयाैं । एक प्रकारकाे अलाैकिक शान्तिकाे महसुस हुँदाे रहेछ ।

हाम्रा रहर र प्रयासले चाहिँ कहिल्यै नपुगिने करिब ३७९४ मिटरकाे उचाइमा अवस्थित पाथिभरा माताकाे मन्दिर परिसरमै दूर सुदूर प्रदेशबाट आएका विभिन्न उमेर, चाहना, वर्ग, पेसा र हाँचका भक्तजनहरू देख्दा चाहिँ मन प्रफुल्लित हुनुकाे सिमा नै रहेन ।

मैले पत्नी गीताजीलाई माताकाे शक्ति प्राप्त गरेर त्यहाँसम्म सकुसल पुर्याएकाले छाेरी, ज्वाइँद्वय र सम्धीसम्धिनी सबै असल मनलाई हार्दिक मनमनै र वचनले समेत पटकपटक आभार प्रकट गरेँ। “प्रकृतिसँग नजिकिनु नै जीवनकाे रमाइलाे हाे” भन्ने मनाेहारी भाव तत् क्षण पूरा भएकाे महसुस भयाे । यात्रा अझ खासगरी धार्मिक र पर्यटकीय यात्रा पारिवारिक रूपमा गर्नु पर्ने रहेछ । एउटै समय र खर्चमा परिवारका सदस्यहरूले भरपूर मजा लिन सक्ने यस्ता प्रकारका अन्य धार्मिक, पारिवारिक र साँस्कतिक तथा साहसिक यात्राहरू जीवनका पछिल्ला उमेरका क्षणमा सँगसँगै गर्ने मिठा सल्लाहरू समेत निराैला परिवारका सदस्य र आचार्य परिवारका सदस्यले गरेर आगामी दिनमा पुनः यात्रा गर्ने याेजनाहरू समेत बनाएका छन् ।

सुन्दरता भित्रका विकटता र विकटता भित्रका सुन्दरताले मानिसलाई गहन रूपले छुँदा रहेछन् भन्ने गतिला अनुभूति यसपटककाे एक हप्ते “साैराहादेखि कन्यामसम्मकाे पारिवारिक यात्रा” ले दिलायाे ।

यात्रा व्यवस्थापनका लागि अहाेरात्र खट्ने सबै पारिवारिक सदस्यलाई मुरीमुरी धन्यवाद दिँदै आगामी यात्राका लागि पनि विशेष तयारी रहन आग्रह गर्दछु । जीवन यात्रा हाे । यसैगरी हिँडिरहन पाऊँ- यायवर भएर !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button