
रकम डिपोजिट गरेको भौचर पाएपछि उसले उमेदवारी फिर्ता लिई

बागी
हरिप्रसाद गौतम
हाल: स्वयम्भू
उकुसाले त्यो जागिर गर्न थालेको पनि पन्ध्र वर्ष पुगेछ । गाडीभाडा, खाजा र सामान्य शृङ्गारका लागि चाहिने खर्चबाहेक त्यहाँको कमाइबाट केही पैसा बचत होला भनेर चिताउनै पर्दैनथ्यो । तैपनि, गुजाराका लागि उसले जागिर गरेकै थिई । त्यहाँ यसरी गुजारा गर्ने ऊजस्तै थुप्रै मानिसहरू थिए ।
सहरको बसाइ, सानो कमाइले ठुलो खर्च धान्न गाह्रै थियो उकुसालाई । लोग्नेको ठेक्कापट्टाको काम कहिले चल्थ्यो कहिले चल्दैनथ्यो । विकल्प अर्को थिएन र पनि सहरमा टिक्नै पर्छ र केटाकेटीलाई ठुलै मान्छे बनाउनुपर्छ भन्ने धारणाचाहिँ उसले पालेकी थिई । यति चाहँदाचाहँदै पनि धन कमाउने कुनै उपाय नसुझ्दा साह्रै चिन्तित थिई ऊ । चुनावको बेला थियो । ऊसँगै काम गर्ने कतिपय कर्मचारी चुनावप्रचारमा लागेर पैसा कमाउँदै अफिसपछिको समयको सदुपयोग गर्थे । तर, उकुसा भने कुनै उपाय नसुझेर उकुसमुकुस भएकी थिई ।
सुनेकी थिई, अलिकति हिम्मत नगरेसम्म कमाउन र रमाउन सकिन्न । यस्तो लुते जागिरमा झुन्डिएर बस्ने हो भने एक दिन साँच्चैको डोरीमा झुन्डिएर मर्ने अवस्था आउन सक्छ । यस्तो ठानेर उसले एकाएक चुनावमा भाग लिने विचार गरी । ऊ निर्वाचन आयोगमा पुगी र आफ्नै पुरानो पार्टीका विरूद्ध बागी उमेदवारका रूपमा उमेदवारी दिएर फर्की । कतिले त उसलाई गाली पनि गरे । उसको उमेदवारीले प्रमुख दलको चर्चित र क्रान्तिकारी नेताले हार्ने र अर्कैले जित्ने निश्चित थियो । त्यसैले उसले उकुसालाई धनको लोभ देखाएर नाम फिर्ता लिन अनुरोध ग-यो । दुई दिनपछि पनि उकुसाले नाम फिर्ता नलिए आफूले स्वत: हार्ने भएपछि उक्त नेताले पार्टीको केन्द्रीय कार्यालयबाटै सहयोग लिएर ठुलै रकमको प्रलोभन देखायो ।
घरमै आएर फकाएपछि नमान्ने त कुरै भएन । आफ्नो र छोराछोरीको नाममा रकम डिपोजिट गरेको भौचर पाएपछि उसले उमेदवारी फिर्ता लिई । त्यसपछि उही ठुलो नेताकी विश्वासपात्र मात्रै बनिन, आफूले गर्दै गरेको अफिसको अधिकांश सेयर खरिद गरेर पन्ध्र वर्षमा गर्न नसकेको उन्नति पन्ध्र घन्टामा गरेर त्यस अफिसको मालिक्नीसमेत भई ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)