
नयाँ उत्साह बोकेर मालश्री गुन्जियो सुन, दशैँ आयो भनी हेर सम्झाऊँदै छ यो धुन
हे दुर्गा ! गर कल्याण
प्रीति आत्रेय ज्ञवाली
नयाँ उत्साह बोकेर मालश्री गुन्जियो सुन ।
दशैँ आयो भनी हेर सम्झाऊँदै छ यो धुन ॥१॥
त्यस्तै जनहरू झुम्दै चङ्गामा अति मग्न छन् ।
उडाई त्यो अकाशैमा जुधाइ चेट भन्दछन् ॥२॥
बसेरै पीङमा उस्तै परेरै दङ्ग खेल्दछन् ।
गर्जी चचहुई भन्दै मच्चिँदै नाद गर्दछन् ॥३॥
मनलाग्दो गरी काम बिताउने यहाँ कति ।
त्यस्तै लेखापढी गर्दै बसिराख्ने यहाँ कति ॥४॥
नाना-पापा भनी भुल्दै रम्ने छन् कति बालक ।
दक्षिणा कति भो भन्दै उस्तै गन्ने छँदातक ॥५॥
आ-आफ्नै भावमा रम्दै बस्ने छन् कति सज्जन ।
दशैँ चाड हुँदा खल्लो परेरै शोकमा जन ॥६॥

प्रवासी घर नै पुग्छन् चाडमा भेट्न है भनी ।
कति ता जान पाउन्नन् बिदा मिल्दैन लौ भनी ॥७॥
जहाँ जे जसरी हुन्छ उसै गरी भई खुशी ।
मानेरै खुश् हुँदै रम्ने पनि हुन्छन् यहाँ कति ॥८॥
दशैँ यो चाड ता हाँसो बनेरै सबमा खुलोस् ।
नखुल्दामा कसैलाई हाड यो पनि लौ नहोस् ॥९॥
हे दुर्गा ! गर कल्याण सबैको चित्त शुद्ध होस् ।
मनको तनको उस्तै विकारै सबको हटोस् ॥१०॥
“जननी-जन्मभूमिश्च स्वर्गादपि गरीयसि ।”
देशको हित नै सोचून् अनुशासनमा बसी ॥११॥
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



