
आर्थिक भारले खिइएका श्रीमानको हड्डीमा मालिस गरिदिनु श्रीमतीको कर्तव्य होइन ?
प्रज्ञा अर्याल
म एक नारी । के मैले नारी भएकै कारण स्वतन्त्रता र अधिकार पाउनुपर्छ हो र ? यदि हो भने यो त गज्जबको कमाई खाने माध्यम जस्तो हुँदै आयो त ।
मलाई पुरुषले अनैतिक क्रियाकलाप गर्यो भनेकै भरमा राम्रो आम्दानी हुने हो भने त यस्ता आक्षेपहरुको वर्षा नहोला भन्न सकिँदैन । कुनै घटना घट्यो भने केटीको अनुहार कुनै पनि सञ्चारमाध्यमहरुले देखाउँदैन । त्यै घटनामा मुछिएको कुनै केटा छ भने उसको अनुहारसहित सात पुस्ताको नालीबेली पत्रपत्रिकाको कभर पेजमा छापिन्छ । समाचारको हेडलाइन बन्न पुग्छ । एउटै घटनाका दुई पात्रबीच घटना पुष्टि नहुँदाको अवधिमा अन्याय भएन र ? इज्जत त दुवैको बराबरी हुनुपर्ने हुनु पर्ने होला नि ।

बसको सिटमाथि रातो अक्षरले महिला सिट लेखिएको हुन्छ । तर त्यो सिटमा यौटा पाको उमेरको पुरुष बसेका हुन्छन्, जसका हात खुट्टा कपिरहेका हुन्छन् बिना लौरोको सहायता उभिन सम्भव हुँदैन, त्यस्ता पुरुषलाई एउटी २२, २३ वर्षे युवती आएर यो त महिला सिट हो भनी आफ्नो अधिकारको उपभोग गर्छिन् । यही हो र हामीलाई चाहिएको समानता ? हिजो आज रेष्टुरेन्टतिर हेर्नु पर्छ, पुरुषले चुरोटको एउटा खिल्ली सक्दा नसक्दै महिलाको दुई खिल्ली सकिसक्छ । पुरुषको हातमा बियरको गिलास हुँदा महिलाहरु हार्ड ड्रिंक्स घुटकाइरहेका हुन्छन् । यस्तै अधिकार र स्वन्तन्त्रको लागि हामीले मार्च ८ दिवस मनाएको हो र ? मजदुर दिवस मनाउनको लागि जिन्दगी मजदूरी नगरेकाहरु सडकमा उत्रिएका हुन्छौं, वास्तविक मजदुरहरूले त मजदूरीबाट फुर्सद नै पाइरहेका हुँदैनन् । पुरुष भएकै कारण पारिश्रमिक धेरै हुनु पर्ने रे, यो समानता हो र ? कि अधिकार हो ?
श्रीमानहरुले हाड घोटरै भए पनि श्रीमतीहरुको चाहना पूरा पर्दिनु पर्ने रे । आर्थिक भारले खिइएका श्रीमानको हड्डीमा मालिस गरिदिनु श्रीमतीको कर्तव्य होइन र ?
महिला हिंसा सप्ताह मनाइन्छ । पुरुषमाथिको हिंसाचाहिँ हिंसामा गणना हुँदैन र ? महिला बलात्कार भएको घटना बाहिर निस्किन नपाउँदै हट न्युज बन्छ, त्यही ठाउँमा पुरुष बलात्कृत भएको घटनाले सानो ठाउँ पाउँदैन । बलात्कार शब्दले दुवैको पक्षमा बराबरी न्याय पाउनु पर्छ होला नि । खशीबोका भएकै कारण काटिनु पर्ने र बाख्री भएरै कारण बाँच्न पाउने ? यो कस्तो समानता ?
मेरो व्यक्तिगत सोचाइ, यसो सोच्ने हो भने समानता र अधिकार शब्दको उचित प्रयोग त हाम्रा पूर्वजहरुले नै पो राम्ररी गरेको हो कि जस्तो लाग्न थाल्यो । महिलाहरुलाई घरभित्रको काम, पुरुषहरुलाई घरबाहिरको अर्थात् दुवैलाई कामको बराबरी भार । महिलाहरुले परिवारको उचित हेरचाह, भरणपोषण गर्ने, उचित हेरचाहको लागि आवश्यक पर्ने अर्थ लगायत अन्य श्रोत जुटाउनको लागि पुरुष वर्ग लागिपर्ने । दुवैथरी लाई थेग्न सक्ने मात्र पिर र चिन्ता ।
न कसैको पक्षमा, न कसैको विपक्षमा, मात्र सहीको साथमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



