
तीन दशैँ, तीन अनुभूति
धानकाे बाला झुल्याे हजुर, देशै रमाइलाे !
अरविन्द रिमाल
या देवी सर्वभूतेषु मातृरुपेण संस्थिता
नम:तस्यै नम:तस्यै नम:तस्यै न
आज घटस्थापना ! लाेकभाषामा, नाैरथाकाे पहिलाे दिन !! दुर्गाभवानीमाताकाे पूजापाठ गर्ने वा नगर्ने जाे हुन्, दशैँकाे टीका थाप्ने,जमरा लगाउने काेही हुन् वा नहुन्, तर अपवाद विना , प्रत्येक नेपाली एवं परिवारकाे घरआँगनमा खुशियाली ल्याउने दशैँ, माैसममा शरदऋतुकाे बहार एवं सुवाश ल्याई धानकाे बाला झुलेर देशलाई नै रमाइलाे बनाउने दशैँ, गाउँघरमा डाेरीपिङ्ग हालेर केटाकेटी, युवायुवतीमात्र हाेइन कि बूढापाकाहरुलाई समेत राेमाञ्चित गर्नेगराउने दशैँकाे थालनी गर्ने घटस्थापनाकाे दिनकाे जयजयकार गर्दै समस्त नेपालीजनहरुलाई अभिनन्दन तथा अभिवादन गर्नपाउँदा हामी ८५ पारगरिसकेका दम्पती हर्षविभाेर भएका छाैँ ।
वैदिककालदेखि चलिआएकाे दशैँकाे महिमा अपरम्पार छ । त्यसैले त हाेला, नेपालकाे हरेक शासनकालखण्डमा, अवश्य नै, आइपरेकाे आर्थिक- व्यावहारिक कठिनता झेल्दाझेल्दै पनि दशैँ शब्दमात्रले हाम्रा पुर्खादेखि लिएर आजसम्म, हामीमा यत्राे खुशियाली छाउने गरेकाे, जुन संस्कार-परम्परा भाेलि पनि कायम रहने कुरामा हामी ढुक्क हुनसक्दछाैँ । त्यसैले त हाेला, दशैँले प्रेम, सद्भाव,समता,भातृभाव एवं सबै मानवीय गुण- मूल्य-मान्यताहरुलाई उजागर गर्नेगरेकाे । त्यसैले त हाेला, अहिलेकाेे विशाल कान्तिपूरी नगरी पनि दशैँताका झण्डै एकतिहाई रित्तिएर शून्यजस्ताे हुनेगरेकाे । त्यसैले त हाेला, पूरै अरब खाडीक्षेत्रमा कामकाजमा लागेका लाखाैँलाख नेपालीहरु ठूलै संख्यामा नेपालका आआफ्ना शहर,गाउँघरमा दशैँकाे चाडबाड मनाउन आउनेगरेका ।
यस्ता जाने वा आउनेहरुमा के “लाेकतान्त्रिक- गणतान्त्रिक” भनिटाेपलिने संविधानले दरेका “अन्य जाति”का नेपाली मात्रै जाँदा-आउँदा हाेलान् त ? के दशैँ राणाकालीन हुकुमीशासन व्यवस्थासँग जाेडिएर वा जाेडाउन लगाइएर “मूल्यांकन” गरीन याेग्य चाडबाड हाे त ? के नेपालका, तत्कालीन हुन् कि वर्तमान, शासकहरुले मुख्यमुख्य प्रतिपक्षदलहरुसँगकाे मिेलेमताेबाट नै विदेशी साम्राज्यवादी शक्तिकेन्द्रकाे ठाडाे आदेश मानेर “धर्मनिरपेक्षता”काे गैर-नेपाली “संवैधानिक” प्रावधानद्वारा दशैँकाे अवमानना, अवमूल्यन तथा अन्तर्घात गर्दैमा हामीले दशैँकाे रमाइलाे मान्न र मनाउन छाडाैँला त ?
अधिष्ठानपक्षका अधिवक्ता एवं प्रवक्ताहरु “राज्यकाे कुनै धर्म हुँदैन” भन्दै “धर्मनिरपेक्षता” काे वकालत गर्नेगर्दछन् । कसैलाई धर्म परिवर्तनकाे खुला छूट दिनु, कसैलाई कट्टरवादकाे प्रचार-प्रसार गर्न दिनु अनि “अन्य” भनिने अत्यधिक बहुसंख्यक जनसमुदायहरुका धार्मिक- आध्यात्मिक आस्थाका केन्द्र एवं प्रतीकहरुमाथि बाह्य विस्थापनकारी शक्तिकेन्द्रहरुकाे याेजनामा संगठित तरीकाले हमला हुँदा सरकारी निकायहरु चूप रहनु वा “सडक विस्तार” आदिकाे नाममा आफैँ विध्वंसात्मक कर्तूतमा लाग्नुलाई पनि “धर्मनिरपेक्षता”कै काेटिमा राखेकाे मान्ने वा मान्नुपर्ने हामीले ? “अन्य”काे काेटिमा पर्नेहरुले मात्र मान्ने नभई अरु जातियताका सहृदयी एवं समभावी नेपालीहरुले पनि सुसम्मान गर्ने भएकाले नै आज दशैँमाथि कुत्सित प्रहार भएकाे ठान्नु अनुचित वा अन्यथा हुँदैन ।
हाम्राे दशैँलाई लिएर यताका केही वर्षदेखि, खास गरेर “लाेकतान्त्रिक- गणतन्त्रवादी” थीति थाेपरिएदेखि, हुँदै आएका अन्तर्राष्ट्रिय एवं “राष्ट्रिय” हमलामा पशुपंछी बधकाे पनि कुरा उठाइन्छ । यसकाे पाखण्डपन पनि उदाङ्ग छ । जुन शक्तिकेन्द्रहरुले याे “विषय” उठाउँछन् वा उठाउन लगाउँदछन् तिनले आफ्नै बत्तीमुन्तिरकाे अँध्याराे नदेखेकाे भन्नुपर्ला ! Thanks Giving नामक इसाही चाडकाे बेला काटिने वा बध गरिने टर्कीजातका कराेडाैँ चरा तथा ईस्लाम धर्मावलम्बीहरुका अनेक चाडपर्वमा बध गरिने कराेडाैँकराेड खसीबाेकाहरु “बध”काे काेटिमा पर्दैनन्, क्यारे ! तर, हाम्राे देशका चाडबाडबारे मिथ्या एवं भ्रामक प्रचार गरी देशमै विभाजन तथा विखण्डन गर्नलगाउनेहरु आफैँ नै इराक, लिबिया, यमन,सीरिया, अफगानिस्तान, प्यालेस्टाइन आदि अनेक देशहरुमा साेझै मानवहत्या एवं बधमा लागेकाेलाई हामीकहाँ, “विशेष गरी” दशैँमा पशु-पंछीे बधकाे विराेध गर्नखटाईएका विभिन्न धाके नामधारी संघ-संस्थाबाट तलबखानेहरुले कुन काेटिमा राख्लान्, त्याे हेर्नू पनि राेचक हुनेछ । के तिनमा कुनै आट छ, त्यस्ता जघन्य युद्ध अपराध गर्नेहरुकाे विरुद्ध ओेँला उठाउने ?
दशैँ काेही मानून् वा नमानून्, याे व्यक्तिविशेषकाे निजी माम्ला हाे । त्यसमा हाम्राे भन्नु क्यै छैन । तर, कुअभिप्रायबाट वा निहित स्वार्थकाे बशमा परेर, काेही दशैँकाे विराेध याेजनबद्ध किसिमले गर्दछ भने त्याे, निश्चय नै, नेपाल र समस्त नेपाली जनताप्रति जघन्य अपराध गरेकाे ठहर्ने छ जुनकि, “The Clashes of Civilizations” नाम दिइएकाे विश्वव्यापी अनिष्टकारी इसाही अभियानकाे कार्यसूचीअनुसार हाम्राे देशभित्र, कतै युद्धस्तरमा त, कतै घिस्रिँदाे चालले चलाउँदै आइएकाे छभन्नुमा अत्युक्ति हुनेछैन ।
यस्ताे कुबाटाेमा लागेका वा लाग्नलगाइएकाहरुलाई पनि दुर्गाभवानीमाताले सन्मार्गमा लाग्न सद्बुद्धिे देऊन्भन्ने पुकार गर्दै एकपटक फेरि समस्त देशवासीहरुलाई बडादशैँकाे हार्दिक एवं मङ्गलमय शुभकामना ज्ञापन गर्दछाैँ ।
दाेस्राे अनुभूति! ती दशैँ र अहिलेकाे दशैँ !
कुनैका लागि कल्पिने र अहिले देख्दा मनै रुने । दुवै मनसँग जाेडिएकाले यसपाला जनकवि धर्मराज थापाले गाउने जस्तै “धानकाे बाला झुल्याे हजुर, देशै रमायाे/ रमाइलाे” नभई अरुणा लामा एवम् कालीप्रसाद रिजाललाई सम्झाउने भए । “यसपाला त मनै चुँड्याे केले सिउने, केले टाल्ने हाे” वा “मुटुभित्र काँढा राखी दिन काट्नु पर्या´ छ ।”
काेराेनाभाइरस महामारी कहाँबाट सल्केकाे हाे –WuH बाट कि WHबाट कि? भन्ने राजनीतिक- कुटनीतिक बहस वा बाझाबाझ विश्व राजधानीहरुमा चल्न छाेडेकाे छैन । त्यसकाे टुङ्गाे जसरी लागाेस्, तर हाम्राे त कुनै अपवाद विना सकल देश र जन समुदायका आफ्नाे सबभन्दा प्याराे चाड त बर्बाद नै भयाे। धानका बाला त कदाचित झुल्या हाेलान् तर… जतिसुकै सुरक्षा अँङ्गालिए पनि मन त थरररर नै हुन्छ नै । खालि सीमित परिवारभित्रै मनाए पनि डरत्रास कामयै हुने कुरा त शुभकामना सन्देशकाे शब्दबाटै प्रस्ट हुन्छ । अब त्यसमा पनि हामी नेपालीमाथि ५ वर्षअघिकाे क्रुरतापूर्ण दानवी भारतीय नाकावन्दीकाे भयावहता नेपाली मुटुमा आलै भएकै बेला पारेर दक्षिणी छिमेका उनै “शिवभक्त”, “जानकीभक्त” वा “मुक्तिनाथभक्त” भनिटाेपलिने सरकारप्रधानले आफ्नाे विदेहमा हत्या- हिँसा- सत्ताविस्थापनकारी कर्तूतकाे लागि कुख्यात रहिआएकाे विशेष सीआईडी संस्थानका गुप्तचर नम्बर १मार्फत राजनीतिक- विस्तारवादी थप काेराेनाभाइरसरहकै RAWभाइरसकाे विशेष दशैँ उपहार हाम्रा सरकार प्रमुख एवम् अन्य राजनीतिक सत्ताधारीहरुका लागि पठाएकाले देशप्रेमी स्वाभिमानी नेपालीकाे मन क्षतविक्षत हुनु पनि स्वाभाविक हाे । विशेषगरी, किन पनि भने त्यतिबेला राजनीतिक दृष्टिबाट निकै कमजाेर भएता पनि,देशभित्रका भारतपक्षे अन्य प्रमुख राजनीतिक तथा “नागरिक” मित्रशक्तिहरुकाे घेराबन्दीमा परणदा पनि र रक्साैलबाट नेपालभूमि बीरगञ्जमा “क्षेप्यास्त्र” वर्षाउने “नेपाली” बाहुबलीहरुकाे प्रहार हुँदै पनि भारतीय क्रुरताविरुद्ध देशलाई हाँकेका राजनेता आज आफू दुईतिहाई बहुमतीय सरकार प्रमुख हुँदाहुँदै पनि एकजना विदेशी सीआईडी मुखियालाई दशैँकै मुखमा भेट्ने गरी, देशका जन समुदायकाे मनमुटु बिझ्ने गरी, किन र कसरी लुते भए, कर्कलाका डाँठजस्ता भए ? — याे साह्रै मर्मान्तक प्रश्न उठेकाे छ । अब याे निकृष्ट छिमेकी व्यवहारबारे र आफ्नाे देशकाे राष्ट्रिय स्वाभिमान अपमानित भएकाे विषयमा अरु के भन्ने ? दशैँकाेे कुरा गर्दा दशाकाे कुरा हुन जानेछ ।
अब दशैँ त दशैँ भयाे र नै हाे, भावना त मर्न र मारिन सक्दैन । हाम्राे निजी हकमा भन्नुपर्दा हाम्राे यसपालाकाे दशैँ हाम्रा आठाैँ र नवाैँ पनातिबाबू Aroon Albert Cheenath “Sumukh” तथा Arwin Anderson Rimal “Shushovan”काे आगमनले आनन्दमग्न, आल्हादित भएकाेले साे हर्षाेल्लास सबैमा बाँड्ने अनुमति चाहन्छाैँ ।
एकपटक फेरि सबैमा जय नेपालकाे अभिवादनसहित बडादशैँका मुरीमुरी शुभकामना।??
यस पाला, २०७९ सालकाे दशैँ ! तेस्राे अनुभूति!
यतिबेला नेपाल राष्ट्र राजनीतिक- कूटनीतिकरूपले मात्र हाेइन, स्वास्थरक्षाकाे हिसाबबाट पनि “डेङ्गू”काे महामारीले ग्रस्त छ ! यसले गर्दा नेपाली जनतालाई देशकाे सार्वभाैमिताकाे संरक्षणमा र स्वस्वास्थ्यकाे रक्षामा दिनरात एक गर्नु परिरहेछ । आज, साँच्चै भन्दा, राष्ट्रकाे अङ्गमा लागेकाे घाउचाेटमा नूनखाेर्सानी छरिए झैँ भएकाे छ! ठीक ७ वर्षअघि अहिलेकै समयमा दिल्ली लाल किल्लामार्फत लैनचाैरे एजेन्सीले रातिराति जजसलाई “दशैँखर्च” बाँड्ने गर्थ्याे, तिनै “नाकाबन्दी भएकै हाेइन, भएकै छैन” भन्ने नारा लगाउँदै सडक भाड्न लगाउने राजनीतिक तत्त्वबाट बनेकाे गठबन्धन शासनतन्त्रकाे हालिमुहालि छ, देशमा ! कालचक्रका कारण आमनिर्वाचन गराउनेमात्र हैशियत रहेकाे सत्तागठबन्धन राष्ट्रकाे सार्वभाैमसत्ताकाे रक्षामा अडेकी राष्ट्रपतिमाथि युद्धकाे घाेषणा गर्न उन्मादी भइरहेछ । राज्यमाथिकाे यस खुला डकैतीसरहकाे कर्तूत शब्दबाट भन्दा पनि शब्द नै लज्जित हुने जस्ताे भाव उजागर भइरहेकाे छ । अर्काेतिर, विश्वजगत यतिबेला आफू त युद्धविना टिक्न नसक्ने, अरुलाई पनि शान्तिपूर्वक बाँच्न नदिने सात समुद्रपारिकाे कुनै खास एक महाशक्तिराष्ट्र अर्काे महाशक्तिराष्ट्रकाे सभ्यता- जातियतामाथि घात गर्ने दुस्साहसले गर्दा कल्पना पनि गर्न नसकिने नाभिकीय विनाशकाे संघारमा उभ्भिएकाे छ ।
तर नेपाली त नेपाली नै हुन्– भगवद्भक्त,आशावादी, सद्भावनाका पुजारी ! मा नवदुर्गाले यस सङ्कटबाट हाम्राेमात्र हाेइन, जगतकै रक्षा गर्नेछिन् भन्ने श्रद्धा, विश्वास राखेर समस्त नेपालीजनमा जनकवि धर्मराज थापाकाे “धानकाे बाला झुल्याे हजूर, देशै रमायाे/ रमाइलाे”का वाणी पछ्याउँदै बडादशैँकाे प्रारम्भ दिवसमा हार्दिक शुभकामना अर्पण गर्ने अनुमति चाहन्छु।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



