अब प्रत्येक बाआमाले ‘छोरा’ र ‘छोरी’ दुबैलाई ‘मान्छे’का रुपमा हुर्काउने दिन आए

शारीरिक कि दिमागी प्रौढता ?

केशव राज

केही महिना पहिले अलि धेरै नै हल्ला भएको थियो । हल्ला मात्र होइन, आन्दोलन नै चर्केको थियो । तर यसपाली धेरै हल्ला भएन । म स्टारडम प्राप्त दुई हस्तीहरुसँग जोडिएका हालसालका घटनाहरुबारे कुरा गर्दैछु ।

ती पनि मान्छे नै हुन्, झन् अरुभन्दा विशेष अर्थात बाआमाका गौरवशाली ‘छोरा’ हुन् । तिनले पनि जानेर वा नजानेर वा मदले चूर भएर कुनै कार्य गर्न सक्छन् जुन कानूनका नजरमा सजाययोग्य तथा सामाजिक र मानवीय हिसाबले अस्वीकार्य र निन्दनीय कार्य हुन सक्छन् ।

हिजो समय फरक थियो । सामाजिक र मानवीय संवेदना फरक थियो । कानून फरक थियो । तर अहिले समयले गलतलाई गलत भन्न र त्यसको प्रतिकार गर्न सक्ने बनाउँदै छ । तर पनि हाम्रो सामाजिक परिवेशले गर्दा कसैले तत्काल भन्न सक्ने, कसैले अलि समय लिएर भन्न पर्ने अवस्था भने अझै पनि विद्यमान छ ।

जमाना परिवर्तन भयो ‘लोग्नेमान्छे’ अझै बाउआमाले ‘विशेष’ बनाइदिएको ‘छोरो’ हुम् भन्ने भ्रममा बाँचिरहेको छ । फलत् बेला बेलामा विशाल रिजर्वेरबाट यस्ता दुई चार थोपा रसाएर बाटामा पोखिने गर्छन् जसले गर्दा खुद त रछानमा डुब्छन्, समाजमा पनि दुरगन्ध फैलाउँछन् । मलाई लाग्छ, अब प्रत्येक बाआमाहरुले ‘छोरा’ लाई मान्छे बन्न सिकाउने दिन आए । पहिले पहिले ‘छोरा’ र छोरीका रुपमा फरक तरिकाले हुर्काउने गरेका बाआमाले अब सायद दुबैलाई ‘मान्छे’ का रुपमा हुर्काउने दिन आए ।

पद र धनले मान्छेमा मद ल्याउँछ जसले गर्दा विद्यमान धर्म (कानून) लाई मिच्न खोज्छ अनि यस्ता घटना कहिलेकाहीँ बाहिर आउने गर्छन् । तर्क धेरै गर्न जरुरी छैन । कुनै बल, पद वा धनको प्रभावमा पारेर वा गलत आश्वासन दिएर गरिने कुनै पनि कृत्य बलत्कार हो तथा नाबालिगको हकमा त त्यो अपराध नै हो । उमेर पुगेका, आर्थिक, सामाजिक र पदीय हिसाबले समान स्तरका पुरुष र महिला बीच आपसी सहमतिमा हुने गरेका शारीरिक सम्बन्धलाई भने सायद बलत्कार भन्न मिल्दैन होला ।

पहिला निकै सोझो र सज्जन लाग्ने मान्छेले अचानक प्रचुर धन वा पद प्राप्त गर्यो भने त्यसको रापतापले मदमत्त भएर कल्पना नै गर्न नसकिने कार्य गर्न सक्छ । वास्तवमा त्यसलाई पूँजीवादी समाजको उप उत्पादनका रुपमा पनि लिन सकिन्छ । त्यही सिद्धान्त हिजो राजतन्त्रात्मक राज्य व्यवस्था हुँदा राज परिवारका सदस्यहरुका र हामीले भगवान मान्ने गरेका नेताहरुका अहिलेका काम कार्बाईका हकमा पनि लागू हुन्छ ।

कतै कतै सूचना प्रविधि र समाज विकास भएको कारण मानिसमा पहिलाको भन्दा कम उमेरमा धेरै चेतना र मानसिक विकास भएकाले नाबालिग मान्ने उमेरको सिमा घटाउने बेला आएको हो कि भन्ने तर्क पनि सुन्न, पढ्न पाइन्छ । तर मेरो विचारमा नाबालिग उमेर घटाउने वा बढाउने बारे छलफल गर्नु भन्दा नेपालमा अब कानूनी र सुरक्षित सेक्सस्थलहरु स्थापित गर्ने बारे छलफल गर्नु जरुरी देखिन्छ जहाँ कानूनले तोकेको उमेर काटेका सेक्स वोर्करहरुले आफ्नो आवस्यकता तथा मानसिक अवस्था अनुरुप सेक्स किन्न वा बेच्न सकुन् ।

आदौ चित्ते तत: काये सतां सम्पद्यते जरा ।
असतां तु पुन: काये नैव चित्ते कदाचन ॥

भावार्थ: असल मान्छेका मामिलामा शरीरमा भन्दा पहिले दिमागमा प्रौढता आउँछ । मुर्ख मान्छेको शरीर बुढो भइसकेको हुन्छ तथापि दिमागमा परिपक्वता आएको हुँदैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button