झल्याँस्स निजामती दिवस र डोलिडारको याद

केही अवलोकन, केही अनुभूति

केशवराज

साविकको स्थानिय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) अन्तर्गतका योजनाहरुमा मैले धेरै लामो काम गर्ने मौका त पाइन । तर मैले त्यहाँ काम गर्दा मेरो व्यवसायिक जीवनमा सबैभन्दा बढी सन्तुष्टि प्राप्त गरेँ । मैले सो विभाग अन्तर्गतका योजनाहरुमा खासै उल्लेखनीय व्यवसायिक सेवा दिन सकिन होला तर सो विभाग र त्यस अन्तगर्तका योजना कार्यालयहरुले मेरो कामलाई दिएको सम्मान मेरो जीवनको अमूल्य पूँजी हो ।

डोलिडारबारे मात्र कुरा गरेँ भने मैले अरु विभाग तथा संस्था माथि अन्याय गरेको ठहर्न सक्छ किनकि अन्य संस्थाहरुमा पनि मलाई अत्यन्तै प्रेम गर्ने र मेरो कामलाई सम्मान गर्ने आदरणीय सरहरु र मित्रहरु हुनुहुन्थ्यो, हुनुहुन्छ । मेरा बानी, व्यहोरा, बोलीचाली आदि आफ्ना ठाउँमा होलान् तर एकजना व्यवसायिक व्यक्तिका रुपमा मलाई नरुचाउने सर र मित्रहरु मेरो व्यवसायिक जीवनमा मैले निकै कम भेटेँ ।

तर खुद मलाई पनि आफूले केही सहयोगी भूमिका खेल्न सकेको तथा उहाँहरुले मेरो कामलाई सम्मान गर्ने गरेको जति अनुभूति मैले डोलिडारमा गरेँ त्यति अरु कहिँ गर्न सकिन भन्न सायद मैले संकोच मान्नु हुँदैन । नेपाल करीब करीब सबै घुमिसकेको र नेपाली भूगोलको केही जानकारी राख्ने मान्छेको हैसियतमा मलाई डोलिडार (हाल डोली) जस्तो प्रकृतिको संस्था हाम्रो देशलाई अति आवस्यक हो भन्ने लाग्थ्यो, लाग्छ । तर त्यही संस्था माथि नै घन हानिनु तथा त्यसलाई पेंडुलमको अवस्थामा राखिनु सायद हाम्रो प्रवृत्तिको द्योतक हो ।

सेप्टेम्बर ०८ अर्थात निजामती कर्मचारी दिवस भन्ने कुराको ज्ञान पनि मैले डोलिडारबाट नै पाएको हुँ । त्यहाँको योजना सिद्ध्याएर अन्तै काम गर्न जाँदा पनि उहाँहरु सँधै मलाई सम्झिने गर्नुहुन्थ्यो । लामो अन्तराल भएछ मैले त हिजो धन्नै निजामती कर्मचारी दिवस भन्ने नै भुलेछु ।

प्रिय अनुज जनकराज पन्तले लेखेको स्ट्याटस देख्दा पो झल्याँस्स निजामती कर्मचारी दिवस र डोलिडारको याद आयो । जनकजी एक असल र देशलाई प्रेम गर्ने युवा हो । म कामना गर्छु उहाँको त्यो प्रकृति कायम रही रहोस् तथा समयले त्यसलाई ओइलाउन वा धुमिल पार्न नसकोस् ।

मेरा सबैभन्दा नजिकका नातेदार, आफन्ती, प्रियजन, मित्रहरु र साथीहरु निजामती सेवामा छन् । म पहिले लेख्दैनथेँ । तर अचेल कहिलेकाहिँ लेख्न रुचाउँछु । राजनीतिकबाजहरु भन्दा बढी निजामती कर्मचारी माथि बढी लेख्ने गर्छु ।

किनकि म राम्रोसँग परिचित छु यो देशका सबैभन्दा तेजिला र क्रिम दिमागहरु निजामती सेवामा रहेका छन् । मलाई थाहा छ समय सँगै त्यस्ता तेजिला र क्रिम दिमागहरु किन धुमिल हुँदै जान्छन् । तर समयसँगै ती तेजिला र क्रिम दिमागहरु धुमिल हुँदै जानुमा खुद निजामती कर्मचारी संयन्त्र पनि कम जिम्मेवार छैन । म त भन्छु सबैभन्दा बढी जिम्मेवार छ । कुनै तालिमका कार्यक्रममा खरीद सम्बन्धी विद्यमान ऐन र नियमावलीका प्रावधानहरुको मर्म, भाव के हो र तिनलाई कसरी सही तरिकाले व्यवहारमा ल्याउन सकिन्छ सर भनेर सोध्नुको बदलामा जब निकै ताजा, क्रिम र तेजिला दिमागहरुले समेत कुनै काम गरे पछि त्यसबाट बच्ने तरिका के हो भन्ने पाराले जिज्ञासा वा प्रश्न राख्छन् मलाई त्यो क्षण सबैभन्दा पिडादायी लाग्ने गर्छ ।

मेरो विचारमा भ्रष्टचार, अराजकता र बेथितिले सारा समाज गाँजिएको अहिलेको अवस्थामा एक्लो निजामती कर्मचारी संयन्त्रले मात्र केही गर्न सक्दैन । तर के कुरा सोह्रै आाना सत्य हो भने साँच्चै आँट गर्ने र दृढ ईच्छा शक्ति राख्ने हो भने यो देशको एक मात्र ‘संयन्त्र’ निजामती कर्मचारी प्रशासन हो जो जहाँ पनि विद्यमान रहन्छ र जसले लोभीपापी राजनीतिकबाज, संवैधानिक निकायका पदाधिकारीलगायत सबैलाई नाकमा नत्थी लगाउन तथा निजी निकायलाई आफ्नो उचित स्थान र हैसितमा बस्न बाध्य पार्न सक्छ ।

त्यति गरे देश र समाजमा क्रमशः आफसे आफ सुधारको शुरुवात हुनथाल्छ अरु केही गर्नै पर्दैन ।

हत्तेरिका ! पख्नुस्, पख्नुस् मेरो कुरा सिद्धिएको छैन ।

त्यसका लागि देशका सबैभन्दा ‘क्रिम’ दिमागका निजामती कर्मचारीहरुले सबैभन्दा पहिले आफू ‘मान्छे’ रहेको नभुल्ने मात्र होइन, लोभ र पापले निर्देशित भएर राजनीतिकवाजको चाकडी र तिनका नाजायज माग पूरा गर्दा गर्दा विस्मृत भएको दिमागमा सर्वसाधारण पनि आफू जस्तै ‘मान्छे’ रहेको तथ्यलाई भुल्नु हुँदैन ।

सम्पूर्ण मित्रजनहरुमा निजामती कर्मचारी दिवसको मंगलमय शुभकामना !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button