
मैलो धुने पर्व ऋषिपञ्चमीको मैलो कुरा
विद्या खड्का
कथा,
कसैले थाहा नपाएको कुरा
यस्तै लाग्छ कथाहरू सुन्दै गर्दा, बुझ्दै गर्दा
आज ऋषिपञ्चमी
कहिले रहरले
कहिले आमाको कहरले
कहिले पाप लाग्ने डरले
धेरै पटक मनाएँ ऋषिपञ्चमी
धेरै पटक सुनेँ ऋषिपञ्चमीका कथाहरू कथाको भाव नबुझुन्जेल
मैले बुझे अनुसार
वर्षभरिको शरीर र मनको
मैलो धुने पर्व हो ऋषिपञ्चमी
३६५ पटक गनि गनी
दतिवनले दाँत माझ्नु,
माटो, गोबर र पानी आदिले नुहाउनु
सायद उतिबेला सरसफाईको चेतना नहुँदा
यो नियम बनेको हुनुपर्छ
एउटी नारीले रजस्वला हुँदा भान्सामा छोएको पापले
उनको श्रीमानले समेत सजाय पाएको
जसलाई हटाउन पञ्चमी पुजा लगाईएको
कथा सुनाईन्छ
यो कथा कसले, कहिले र किन बनायो थाहा छैन
सदियौंदेखि अनुसरण गरिंदैछ
धर्मका नाममा
यसको मतलब परिवारमा एक जनाको गल्तीको
सजाय सबैले बेहोर्नु पर्छ भन्ने हो
वर्ष दिनभरी ढाँट्ने, छल्ने,
सँधै अरूको कुभलो चिताउने,
आफ्नै मात्र दुनो सोझ्याउने
अनि एक दिन पुजापाठ गर्नाले के पाप पखालिन्छ ?
वर्ष दिनभरिमा एकदिन नुहाउँदा के स्वस्थ भईन्छ ?
हामी नारी जातिले एक दिन धर्म गर्दा
परिवारका सबैको पाप पखालिन्छ ?
तन, मन, वचन र कर्मले हरपल शुद्ध रहने
प्रयत्न गर्ने कि ?
३ सय ६४ दिन कुकर्म गरेर
वर्षको एकपटक पखाल्ने
निर्णय हजुरहरूको हातमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



