तीजमा गरिमालाई झनै नरमाइलो

विमला केसी रानाभाट

जब जब तीज पर्व आउँछ, तब तब गरिमाको मन धेरै गरुँगो भएर आउँछ ।

उसको विवाह सानै उमेरमा अशोकसँग भएको थियो । चटक्क परेको आकर्षक जिउडाल र सलक्क परेको रुपरङ्ग भएको अशोक दुब्लो र पातली गरिमाको बिहेको एक दुई बर्ष त रामै बित्यो । तर जब अशोक र गरिमाको सन्तानको रुपमा छोरीको जन्म भयो, तब उनीहरुको जीवनको नयाँ अध्याय शुरु भयो ।

कहिले गरिमा नराम्री हुन थाली भने कहिले अशोकको स्तरमा स्तर नमिल्ने । कुनै बेला अशोकको लागि शान्त र सरल गरिमा छोरीको जन्मपछि अलच्छिनि हुन थाली । पहिलेदेखि नै रक्सी पिउने अशोक यही बहाना बनाएर झन् धेरै रक्सी पिउन थाल्यो । रक्सी पिएर अनेकौं बहाना र लान्छना लगाएर गरिमालाई कुटपिट गरी उसको जीवनबाट निस्केर जाने धम्की समेत दिन्थ्यो तर विवश र लाचार गरिमाको जाने ठाउँ थिएन ।

गरिमा सानै हुँदा बुबाआमाको दुर्घटनामा मृत्यु भएको थियोे । उसको आफ्नो कोहि थिएन । उसलाई बुबाको गाउँका आफन्तले पालनपोषण गरेर सानैमा बिहे गरिदिएका थिए । कहिलेकाहीँ अशोक र उसका परिवारले यही कुरामा निहुँ झिकेर मानसिक र शारीरिक यातना समेत दिन्थे । हरेक बर्ष तीज र अरु चाडपर्व आउँदा गरिमाले घर परिवारबाट अनेक खालको घोचपेच सुन्नु पर्थ्यो । पहिलेदेखि धेरै रक्सी पिउने अशोक यस्तै यस्तै बहाना बनाएर रक्सीको नशामा झन् धेरै डुब्न थाल्यो । उसलाई गरिमा र छोरीको कुनै मतलब हुँदैन थियो । घर परिवारले पनि गरिमालाई अलच्छिनि भन्दै अनेकौं लान्छना लगाउन थाले । गरिमा पनि सधैंको तनाव र मानसिक यातनाले कमजोर हुँदै गइै ।

गरिमाको जन्म घरमा त कोहि पनि थिएन तर कर्म घरमा पनि उसलाई बुझ्ने कोहि पनि भएन । सधैंभरि ऊ मात्रै नराम्रो । अशोक बिस्तारबिस्तारै झन् धेरै नशामा डुब्न थाल्यो अनि उसलाई नराम्रो रोग लाग्यो । अन्तत् उसले गरिमा र पाँच बर्षको छोरीलाई छोडेर यस संसारबाट बिदा लियो अनि गरिमा पनि यस रङ्गिन दुनियाँमा बेरङ्गी हुन पुगी । पहिलेदेखि नै आफन्त नहुँदा चाडपर्वमा रमाउन नसकेको उसको मन अशोकको मृत्युुपछि त झन् रमाउन सकेन ।

उसका लागि तीजका रङ्गिन चुरा पोते उसलाई गिज्याउने हाउगुजी भयो । समाज जतिसुकै परिवर्तनको नारा बोकेर हिँडे पनि एउटा विधुवा नारीले सिन्दुर र पोते लगाएको कुनै पनि हालतमा स्विकार्न सक्दैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button