
नायक कि खलनायक ?
कविता
पेशल आचार्य
सब समयका खेल हुन्
रङ्गमञ्च
खेलाडी
कथा
परिवेश
अभिव्यक्ति
सबैसबै,
राज्य उही छ
निश्चल
निर्निमेष
अपलक
सञ्चालकहरू फेरिए
हिजोका नायकहरू
आज खलनायक लागेका छन्
जनताका नजरमा,
क्यारिष्मेटिक
भीमकाय व्यक्तित्व
प्रचण्ड
बौद्धिक उफान चलाउने
बाबुराम
प्रजातान्त्रिक समाजवादका अनुयायी
शेरबहादुर
वामपन्थी आन्दोलनका पर्याय
झलनाथ र माधव कुमारहरू
मधेशका मसीहा
उपेन्द्र समेत
समयका फेरबदलसँगै
नायक हुन् या
खलनायक
नागरिक झुक्किएका छन्,
देश
फरक परिवेशमा गयो
पार्टीहरू बोधा भएका छन्
निर्विष
पानी सर्प (ढोडिया साँप) भएका छन्
न टोक्नै सक्ने
न विषै लाग्ने,
बजार अहिले स्वतन्त्रहरूको
गर्माएको छ
बोली यतिखेर स्वतन्त्रहरूको
फैलिएको छ
हिजो एक दिनका लागि
हिन्दी सिनेमामा
अनील कपुर नायक बनेथे
अहिले बालेन
महानगरमा
पाँच वर्षका लागि
नायक भएका छन्,
टिक्न सके भने
र ‘लेन’ नछोडी हिँडे भने
बालेन
नायक हुनेछन्
नत्र समयले
अरुहरू नायकलाई झैँ
उनलाई पनि
शनैःशनैः
खलनायकमा
अनुवाद गर्नेछ,
बालेन–
नायक बन्नु छ भने
कुराजस्तो काम गर
कामजस्तो कुरा गर ।।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



