तीजैको मुखमा मनै हल्लाउने चिठ्ठी माइतीलाई

गीत लामिछाने

प्रिय माइती !

वर्षौंअघि तिम्रो घरमा खुसी ल्याउने मै थिएँ, तिमीलाई आमा–बुवा भनेर पुकार्ने मै थिएँ । म रुँदा तिमीहरूको कलेजो चिरिन्थ्यो । मलाई चोट लाग्दा तिमीहरूलाई दुख्थ्यो । हर दिन पूजा गरेपछि मलाई लक्ष्मी मानेर टीका लगाई ढोग गरिन्थ्यो । मैलाई दान गरेर हो तिमीले हजार गाई दान गरे बराबरको पुण्य पाउने लोभ गरेको ।

तर, त्यो अदृश्य–अमूक पुण्यको लोभमा यस्तरी दान गर्‍यौ कि म तिम्रो लागि १० घर परको छिमेकी भएँ, जो तिम्रो घर आउन त पाउँछु तर तिम्रा घरका एक ईट्टामा पनि हक जमाउन पाइन्न । भान्छामा पसेर आफै झिकेर खान डराउनु पर्छ । अब त्यो घरको दराजको चाबी माग्न पाउन्न । यतिसम्म कि तिम्रो घर आउन अब म त्यो पराई मान्छेको साथ लाएर आउनु पर्छ । किन बुवा शरीरको अङ्ग यसरी काट्न सक्छ र कसैले ? म हाँसीखुसी पहेलपुर भएर आउँदासम्म त राम्रै स्वागत गर्छौ तर दुःख सुनाउने अधिकार नि खोस्यौ । हिजोसम्म काँडा बिझ्दा नि तिम्लाई रुँदै सुनाउँथे, आज मन दुख्दा नि सुनाउन सक्दिनँ, सुनाए नि तिमीसँग रेडिमेड उत्तर छ– छोरी, होस्, सहनु पर्छ, हाम्रो इज्जत जान्छ ।

ए बुवा, किन, यो ईज्जतले आँसु पिउन भन्छ, किन ज्यान नै फाल भन्छ ? के छ ईज्जतमा । जुन मेरो जिन्दगीभन्दा अमूल्य छ ? दाजुभाइको जन्म दर्तामा बुवाआमाको नाम जे छ मेरो जन्म दर्तामा नि त्यही छ, दाजुभाइले म फलानोको छोरा भनेर जसको नाम लिन्छन्, म नि फलानोकी छोरी भनेर उसकै नाम लिन्छु । हिजोसम्म कसैले घर कहाँ भन्दा, म त्यही घरको ठेगाना बताउँथे । मेरो मनपर्ने फूलहरु त्यही आँगनमा फुलाएथें । त्यो घरको सजावट मैले आफ्नो तरिकाले गरेथें । त्यो आँगन त्यही हो, दाजुभाइ र म सङ्गै खेल्थ्यौँ, त्यो काख नि त्यही हो, जहाँ म दाजुभाइसँगै लुटुपुटु गर्थें ।

आमाको छाती उति नै चुसेँ मैले, जति दाजुभाइले । म नि आमाको गर्भमा त्यति नै समय बसें, जति दाजुभाइ । म नि त्यही प्रसव पीडाको साथ जन्मेकी हुँ, जुन प्रसव पीडाको साथ दाजुभाइ जन्मे । फेरि किन किन बुवा एक चिम्टी सिन्दुरको पर्खाल यति अग्लो भयो ? आज कुटाई खाएर यातना सहेर नि म किन तिम्रो घरमा ओत लाग्न पाउन्न ? किन अब यो घर तेरो होइन भनेर टाढा बनाउनुहुन्छ ? जन्मेको घरको अधिकार त पाइनँ भने हिजो गएको घरमा म के अधिकार खोजुँ ?

विवाह दर्ताभन्दा पहिलो पहिचान त मेरो जन्मदर्ता हो । सिउँदोमा जसलाई राखे नि रगतमा त माइती नै हुन्छन् । सिउँदोको रङ्ग मेटाउन नि सकिन्छ तर रगत फेर्न सकिन्छ र बुवा ? पण्डितको मन्त्रले गोत्र फेरिएला, बाउ फेरिन्छ र बुवा ? हिजो सँगै खेलेको आँगनको एक छेउ तलाई भो चेली भन्न किन सक्दैनन् दाजुभाइ ? हरेक साल तेलले बाटो छेकेर ओखरमा यमराजलाई फुटाएर दीर्घायुको कामना गर्ने चेलीको आँसु कसरी हेर्छौं ? त्यो सप्तरङ्गी टीकाको एक रङ्ग आफ्नी चेलीलाई दिन सक्दैनौं ?

प्रिय माइतीहरु ! दिनदिनै मरिरहेका चेलीहरुमा भोलि तिम्री चेलीको नाम नि आउला अनि तिमी नि लास बोकेर सडकमा बस्नु पर्ला । त्यो भन्दा अगावै आफ्नी चेलीको असली माइती बन, अप्ठ्यारोमा साथ मात्र देऊ, आफ्नो बाटो आफै खन्न सक्छन् चेलीहरु । आफ्नो रगत, आफ्नो संस्कारमाथि विश्वास गरेर हेर, कुनै माइती रुनु पर्दैन । कुनै माइतीको ईज्जत नि जान्न र कुनै माइतीले आफ्नी चेलीको लास बोक्नु पर्दैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button