गुरुपूर्णिमा: अरविन्दको श्रीसद्गुरु कनेक्सन अलौकिक

ॐ: गुरुपूर्णिमाकाे उपलक्ष्यमा श्रीसद्गुरु वन्दना

अरविन्द रिमाल

ॐ अखण्ड मण्डलाकारं
व्याप्तं येन चराचरम् ।
तत् पदं दर्शितं येन
तस्मै श्री गुरवे नम:।।

२०५५ सालदेखि २०६० सालसम्मकाे गुरुपूर्णिमाका आनन्द उर्मीला र मेरा लागि कल्पना गर्न नसकिने एवम् अप्रतिम रहेका थिए– सद्गुरुदेव स्वामी सत्यदेवज्यूकाे सान्निध्यबाट, त्यतिञ्जेलसम्म गुरुदेव हामीमाझ रहनुभएकाेले गर्दा ! हाम्रा अग्रज गुरुभाइबहिनीहरुले भने त्यस्ताे साैभाग्य धेरै वर्षअघिदेखि पाइआएका थिए । यी सबै कुरा आफूले ‘गुरुवाणीबाट अमृतप्रवाह’ पुस्तकका ‘गुरु आश्रममा गुरु महाेत्सव’ र ‘श्रीसद्गुरुदेवकाे पावन स्मृतिमा’ विस्तारपूर्वक लेखेकाे हुनाले तिनलाई आज दाेहाेर्‍याउन सम्भव छैन ।

एकएक दृश्य आँखाअघिल्तिर नाचिरहन्छन्, यी शब्द लेख्दा ! अनेक राष्ट्रियता तथा जातियताका भक्तहरुका गुरुदेव, सदा प्रफुल्ल, जाज्वल्य गुरुदेवका मुहारमा हामीहरुलाई आफूमाझ पाउँदा विशेष आनन्दभावकाे दर्शन पाउँदथ्याैँ हामी ! उहाँका पावन चरणकमलमा आफ्नाे श्रद्धा- भक्ति चढाउँदा उहाँका सुमधुरवाणी गुञ्जिन्थे: ‘ओहाे, कहिले आयाै ?’

‘गुुरुदेव, दुईघण्टा जतिअघि ।’

‘अनि, कहाँ बसेका छाै ?’

गुरुआश्रमका काेठाहरु गुरुका भक्तविशेषहरुले आफ्नै खर्चले बनाएका हुनाले स्वभावत: भरिभराउ हुन्थे । त्यसैले गुरुदेवकाे याे चिन्ता मिसिएकाे भाव !

‘प्रभु, हामी सन्यास आश्रममा बसेका छाैँ ।’

‘ए, बडाे राम्राे भयाे । त्याे पनि मेरै आश्रम हाे ।’

हामीलाई प्रत्येक वर्ष त्यस्ताे भीडभाडकाे अवसारमा पनि कि शङ्कराचार्य चाैकस्थित सन्यास आश्रममा कि कनखलस्थित नारायण भवनमा बस्ने अवसर जुट्दथ्याे– चमत्कार झैँ ! अनि जुन आश्रमकाे बास पनि गुरुकृपा नै हुन्थ्याे ! अत: ‘ए, राम्राे भाे ! त्याे पनि मेरै आश्रम हाे’ भन्ने वाणी अत्यन्त सार्थक थियाे ।

गुरुपूर्णिमाका उत्सवपछि हामी ऋषिकेषस्थित हरिगरि आश्रममा केही दिन गएर बस्ने विन्ती गर्दा गुरुदेवकाे आनन्दकाे साधीँ हुँदैनथ्याे– उहाँकाे शिक्षा- दीक्षा क्रममा, अनि पछिकाे साधनामा काली कम्बली आश्रमजत्तिकै याेगदान रहेकाे थियाे, हरिगिरि आश्रमकी महन्त श्री सावित्री माताकाे माया- प्रेमले गर्दा । अनि सावित्री माता, भानु माता, धर्मानन्द स्वामी, भण्डारघरकी अधिकारी भगवती नानीबाट गुरुदेवका बाल्यावस्था, शिक्षार्थीबेला, साधनाक्रमका अनेक वृत्तान्त हामी हर्षविभार भएर सुनेकाे हिजाेजस्ताे लाग्छ ।

जीवनका ती अमूल्य आध्यात्मिक कृपा एवम् उपलब्धिहरु वर्तमान जीवनक्रमलाई यस स्तरमा ल्याउनमा अतुल्य सहयाेगी भएकाे प्रत्यक्ष अनुभव गर्दा आज कृतकृत्य नभइरहन सकिँदैन ।

त्यसैले त हाे नि याे भजन गाइने गरिएकाे

‘गुरु अनन्ता गुरु कथा अनन्ता ।
कहहुँ सुनहुँ बहुविधि सब सन्ता ।।’

सन् १९८० काे अक्टाेबर २८ तारीखका दिन भारतकाे उज्जैन नगरमा पूर्णकुम्भकाे अवसरमा गुरुदेवकाे २५ ओैँ शुभ -जन्माेत्सव मनाइँदा उहाँले यी शब्दकाे आशीर्वचन दिनुभएकाे रहेछ: ‘गुरु शब्दले ठूलाे यश एवम् अपयश पाएकाे छ जति आडम्बर यस नामबाट गरिए र गरिन्छन् ती पनि सर्वविदित छन् । तथापि याे शब्द त्यति नै पावन एवम् उज्ज्वल छ जत्तिकि बिहानीपखकाे सूर्य ।

त्यसैले त ‘श्रीगुरुगीता’ले यसरी गुरुमहिमा गाएकाे रहेछ;

‘गुरुर्ब्रह्मा गुरुर्विष्णु
गुरुर्देवाे महेश्वर:।
गुरु: साक्षात् परब्रह्म
तस्मै श्रीगुरवे नम:।।’

२०५८ सालकाे असोजकाे पहिलाे साता !

‘अरविन्द, के गरिरा’ छाै?’

घण्टी सुनेर फाेन उठाउनासाथ गुरुदेवका प्रेमपूर्ण सम्वाेधन कानमा पर्ने बित्तिकै ‘प्रभाे, जय हाेस्’ का आभार निस्किन्छ !

‘अँ सुन, हामीभाेलि तिमीकहाँ बस्न आउदैछाैँ। उर्मीलालाई भन्देउ, अघिल्लाे पटक आउँदा दिउँसाेका खानेकुराकाे स्वाद बिर्सेका छैन, हामीले ।’

असाेज ५ गते बिहान ८ बज्दाे हाे! भक्तहरुले भरिभराउ काेठा, चाेटामा व्याप्त प्रफुल्लताबीच गुरुदेवका सुमधुर आवाज गुञ्जिन्छ: ‘अरविन्द, कापीकलम ठीक छन् ?’

‘छन्, प्रभु !’

‘ल ,त्यसाे भए, सबैजना काेठामा आऊ ! अँ,ल, टीप, अरविन्द:

‘उत्सवकाे आनन्द लिएर जीवनयापन गर ।’

‘सबभन्दा ठूलाे पुस्तक मनुष्य जीवन हाे । जीवनलाई प्रस्टसँग पढ्दा तिमी आफै ज्ञानी हुनेछाै ।’

‘विकारकाट उत्पन्न उपासनाले विकारबाट मुक्ति दिन सक्दैन ।’

‘जहाँ भीड हुन्छ, त्यहाँबाट सत्य बिलाउँछ ।’

‘टिप्याै ?’

‘टिपेँ, गुरुदेव ।’

‘खै, देखाऊ त !’

केही बेरपछि

‘ल, ठीक छ ।’

याे क्रम असाेज १५ गतेसम्म चल्दछ । यस्ताे अमृतवाणी प्राप्त गर्ने साैभाग्य २०५९ सालकाे जेठ २५ गतेदेखि असार ५ गते, त्यसपछि २०६० काे फागुन ५गतेदेखि २६ गतेसम्म पनि जुर्दछ ।

फागुन २७ गते अपराह्न एक भक्त, हाम्री कान्छी छाेरी सविता घिमिरकाे अनुराेधमा सद्गुरुदेवबाट हामीले अन्तिमरूपमा याे सन्देश पाएकाे रहस्य उहाँकाे शरीर २०६१ साल, जेष्ठ कृष्ण तृतीया ( सन् २००४, मे ७ तारीख) का दिन बदरीनाथधाममा रहस्यात्म रूपले छुटेपछि खुल्याे !

‘हे हृदयेश्वर, हे प्राणेश्वर
हे परमेश्वर, हे सर्वेश्वर !
तूँ ही सब का सच्चा प्यारा,
मेरे हृदय में निवास तेरा ।
श्वाँसाे बनकर तूँ ही बहता
मैं बनकर तूँ ही ताे रहता ।।
हे हृदयेश्वर, हेप्राणेश्वर…
स्वार्थ लाेभ के मन्दिर, झूठे,
देव में जीवन बिताया,
जीवन दीप अब बुझने काे है,
ज्ञान,ध्यान शान्ति नहीँ पाया ।।
हे हृदयेश्वर, हे प्राणेश्वर…
मन काे समेटुँ अपने में ही
श्वासडाेर में तूम्हे बाँध लूँ ।
अनहद नाद की गीत सुनाकर
परम माैन में लूँ विश्राम ।।
हे हृदयेश्वर, हे प्राणेश्वर !’

गुरुदेवका श्रीमुखबाट स्वत: प्रवाहित यी वाणी मैले कापीमा उतारेकाे मुसुमुसु हाँसी हेरिरहनुभएका गुरुदेवले आफ्नाे वाणी बन्द गरेपछि भन्नुभयाे: ‘लाै, देखाऊ त, अरविन्द, के सारे छाै ?’

मैले विनम्रभावले टक्य्राएँ !

‘ए, राम्ररी टिपेछाै !’, आज्ञा हुँदै मधुर तवरले मुस्काउनु भयाे !

याे मुस्काउनुकाे रहस्य, अर्थात् आफ्नाे शरीर अप्राकृतिक रूपले छुट्ने पूर्वसूचना गुरुदेवले त्यसै अपराह्न हाम्राे घर पाल्नुभएकी सुधामाता स्वामी स्वरूपानन्द सरस्वतीलाई सुटुक्क बताउनुभएकाे रहेछ । कस्ताे ,रहस्य, ऋषिकेशकाे सुविख्यात शिवानन्द आश्रमकी शिक्षार्थी तथा शिष्या सुधामाता र ऋषिकेशवासी स्वामी सत्यदेवज्यूकाे पहिलाे पटक भेट हाम्रै घरमा त्यसै दिन भएकाे थियाे ।

सुधामाताकाे पनि सान्निध्य हामीले पाएबाट प्रसन्न गुरुदेवले याे खबर उहाँलाई दिन उपयुक्त ठान्नुभएकाे रहेछ ।

‘मैले धेरै भीड बढाउने एवम् बजार लगाउने कुरा छैन । तिमीहरुमध्ये दुईचार जनाले मेराे उपदेशकाे सार सम्झेर त्यसै अनुसार शान्ति एवम् प्रसन्नताका साथ जीवन-यापन गर्नसके, त्यही ठूलाे उपलब्धि हुनेछ’ भन्ने परम कृपालु पतितपावन सद्गुरुदेवका स्मृतिमा ‘गुरुगीता’का यी शब्द ‘ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिं । द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्ष्यम् । ऐकं नित्यं विमलमचलं सर्वधीसाक्षिभूतं । भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि ।’ बाट श्रद्धासुमन अर्पण गर्दछु ।

मातृभूमि नेपाललाई अत्यन्त माया गर्ने यी सन्तमा जय नेपाल !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button