बस् ! बसमा दिदी रातभर खेलौना बनिरहिन्

कति समयसम्म म शोषित हुनुपर्ने हो ?

बसन्ता पोख्रेल
धुर्कोट-१ नयाँगाउँ, गुल्मी

कति समयसम्म म मेरा पीडा लुकाएर जिन्दगी काट्ने हो ?

म घर, समाजको इज्जतको लागि कति पटक शोषित हुनु पर्ने हो ? अझै कति समय लाग्छ मेरो समाजलाई बुझाउन ? मेरो मस्तिष्कले हरेक पटक यही प्रश्न दोहोर्‍याउन पुग्दछ ।

म नियाल्छु मेरा बहिनीहरूको पीडा । म नियाल्छु दिदीहरुको कुरा र भाउजुहरुको पीडा अनि बुझ्ने कोसिस गर्छु, कसरी अन्यायमा परिहे, कति सहिरहे, कति दबिए ती अन्जान रूपमा भएका दुर्व्यवहार । मलाई आवाज उठाउन मन लाग्छ ती पुरुषसँग माया, लोभ र मोह देखाएर कसरी उठाउन सक्छन् ती निर्दोष नारीमाथि स्वार्थ ? के पश्चाताप लाग्दैन ती पुरुषलाई ?

म कहिलेकाँही पराइ मान्छेले पनि आफ्नै घरको गार्डेनको रूपमा मलाई ख्याल गरेको पाउँछु त कहिले मेरो भबिस्यको चिन्ता गर्ने पुरुष भेट्छु । अन्जान हुन्छन् तर मनको गहिराइ छुने पुरुषदेखि समाजमा शोषित महिलाको पीडासँग तुलना गर्छु । म हरेक दिन आत्मग्लानीमा निर्मलाले न्याय नपाउँदा मर्छु । हो, म हरेक दिन मर्छु ।

म बुझ्ने कोसिस गर्छु अन्जान रूपमा गरेका दुर्व्यवहार । म आवाज उठाउन खोज्छु । तर म विलिन हुन्छु । मेरो आवाज सुन्दैन, कोही सुन्छ केवल पीडित । यदि मसँग शक्ति र शक्तिशाली पद हुन्थ्यो भने बलात्कारीलाई मृत्युदण्ड होइन, आँखा निकालिदिन्थेँ । हात काटिदिन्थेँ । एसिड प्रहार गर्नेको औंला भाँचिदिन्थेँ । म पनि यस्तै घटना देख्दै हुर्केकी निर्दोष तर अन्याय भएको सहन नसक्ने एक नारी हूँ । मेरो प्रश्न न कसैले सुन्छ तर म लेख्न भने छोड्दिनँ, तबसम्म छोड्दिनँ जबसम्म गरिबको लागि न्याय बन्दैन । यदि अपराधीले सजायँ पाएन भने साँच्चै न्याय मरेको छ ।

मानिस स्वतन्त्र रूपमा बाँच्न चाहन्छन् । पोथी बासेको राम्रो हुँदैन भनेर भन्ने समाजलाई भन्न मन छ, के भालेले अण्डा दिन सक्ने आँट गर्छ ? मेरो प्रश्नको जवाफ दिने को छ ?

धेरै पहिलेको कुरा हो । रात्रीकालीन यात्रा थियो, पोखरादेखि काठमाडौंसम्म । निशान नाम गरेको गाडीको सिंगल सिटमा बसेर यात्रा गर्दैगर्दा मैले देखेकी थिएँ । एक विवाहित दिदीले ड्राइभरनजिक बस्दै गर्दा असहज महसुस गरेको । म देखिरहेँ ड्राइभरले अनेक बाहनामा उनको शरीर स्पर्श गरेको । म रिसले आगो भएँ अनि पछि दिदीलाई पानी पिउने बाहनामा आवाज उठाउन आग्रह गरेँ । तर मलिन हुँदै भनिन्, ‘बहिनी, म एक बुहारी हुँ, बुढासँग भनुँ, कसले भन्यो नजिक बस्न भनेर मलाई उल्टै गाली गर्छ । जेनतेन उठायो भने पनि फलानाको बुहारी यस्तीउस्ती भन्दै एककान द्इकान मैदान हुन्छ । समाज नारीकै दोषी देख्छ । बहिनी तिमीप्रति म निकै आभारी छु । तिमीले जस्तै समाजले यसरी कुरा बुझ्ने भए म अघिदेखि डराउनु पर्दैन थियो ।’

त्यसो भन्दै रोएको देखेर मैले मन थाम्न सकिनँ न त एक्लै आवाज उठाउन नै सकेँ । बस्, उनी खेलौना बनिरहिन् रातभर । उनको लागि त्यो रात वर्ष भन्दा कम थिएन अनि मेरो रिस विस्फोट हुनसकेको थिएन ।

अझै कति समय म यसरी अन्याय खेप्नु पर्ने भन्दै आँसु बगाउँदै उनी पुन त्यही सिटमा बस्न बाध्य भइन् । म पनि हेरिरहेँ ।

के म पनि अरु जसरी मौन बस्न सक्छु ? आफैले आफूलाई अनेक प्रश्न गर्दा रात बितिरहेको थियो । गाडीमा सबै आनन्दसँग सुतिरहेका थिए ।

(नोटः कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हो ।)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. सत्य ,दोहरिरहने ,मौन तर अमानवीय र पुरुष प्रदान्ता को पराकाष्ठा

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button