अहिले त हाम्रै पार्टीले लिड गर्न थालिसक्यो

लघुकथा: बधाई तथा शुभकामना

गंगा खड्का

रातभर मतदानको नतिजा कुरेर बसेका व्यक्तिहरुमा धनबहादुर पनि थिए । कहिले कुन पार्टीले अग्रता लिन्थ्यो भने कहिले कुन । ‘अहिले त हाम्रै पार्टीले लिड गर्न थालिसक्यो । सायद अब पछाडि पर्दैन होला’, प्रायः सबै प्रतीक्षार्थीहरुले बोल्ने साझा बोली थियो यो ।

अन्तिम नतिजा सार्वजनिक हुनासाथ जित्ने र हार्ने पक्षका बीचमा केही व्यक्तिहरुको आवेगले गर्दा लफडा सुरु भयो । एकजनाले ताकेर हानेको इँटाको डुठ्ठाले धनबहादुरको कन्चेट फुटायो । उनलाई दस टाँका लाउनुपर्‍यो । भोलिपल्ट फेसबुकमा टहलिँदै उनी मोबाइल चलाइरहेका थिए ।

हार्ने वडा अध्यक्षले आफूलाई नै पराजित गर्ने र विजय उत्सवले रङ्गिन बनेका अर्को पार्टीका वडा अध्यक्षसँग बसेर खिचेको आफ्नो फोटो एक मिनेट अगाडि पोस्ट गर्दै क्याप्सनमा लेखेका रहेछन्, ‘सिद्धान्त र राजनैतिक धार फरक भए पनि गाउँ ठाउँ आफ्नै हो । प्रतिस्पर्धामा कसैको जित र कसैको हार शाश्वत कुरा हो । जसले जिते पनि हाम्रो वडाले सारथि पाएको छ । मेरो तर्फबाट साथ, सहयोग र सद्भावको लागि प्रतिबद्धता छ । सफल कार्यकालको लागि बधाई तथा शुभकामना !’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button