
मुर्दावाद र जिन्दावाद भन्न आएन अनि परदेश हिँडे
बाध्यताले परदेश हिँडे
बसन्ता पोख्रेल
धुर्कोट, नयाँगाउँ, गुल्मी
मेरो सर्टिफिकेटले कुनै ठाँउ पाएन
परदेश हिँडे
धितो राखेको ऋण तिर्न सकिन
अनि परदेश हिँडे ।
रातमा निद्रा लाएन
अनि परदेश हिँडे
आत्माले शान्ति पाएन
अनि परदेश हिँडे ।
बजार गए, मसँग शिक्षा छ भन्दा
मेरो शिक्षाले नुन तेल पाएन
अनि परदेश हिँडे ।
साहु बारबार आएर लालपुर्जा माग्न थाल्यो
आमाले तिलहरी दिँदा पनि पत्याएन
अनि परदेश हिँडे ।
खास म कुनै पार्टीको झोले हुन्थेँ भने
जीवन सहज हुन्थियो होला
झुटमा साथ दिँदै मुर्दावाद र जिन्दावाद भन्न आएन
अनि परदेश हिँडे ।



