तराइदेखि सगरमाथासम्म केवुलकार !

स्पष्ट भिजनः लघुकथा

मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी, हालः तिलोत्तमा -२, रुपन्देही

‘हाम्रो पार्टीको प्रमुखबाट पार्टीको घोषणा पत्र सार्वजनिक गरिदिनुहुन अनुरोध गर्दछु’, उद्घोषकले उद्घोषण गर्यो ।

‘अरु पार्टीले जस्तो हाम्रो पार्टीले निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य सेवा, गाउँ गाउँ कालोपत्रे सडक, स्वच्छ पिउने पानी, वृद्ध भत्तामा बढोत्तरी आदि जस्ता हावादारी गफ गर्दैन’, प्रमुखले आफ्ना भनाई राख्दै थिए ।

एकजनाले विचैमा प्वाक्क प्रश्न तेर्सायो, ‘यी कुरा त आधारभूत आवश्यक्ता हुन् त नेता ज्यू, कसरी हावादारी भए ?’

‘हो यही त जनताको कमजोरी हो । अझै जनताको वुझाइको स्तर माथि उठ्न सकेको छैन र त ठग्छन् अरु दलहरुले’, प्रमुखले जवाफ दिए।

‘अनि सत्य कुरा के हो त ?’, अर्कोले जिज्ञासा राख्यो ।

‘यही सत्य कुरा त हाम्रो घोषणा पत्रमा छ । जनताका आधारभूत आवश्यक्ता पुरा गर्न त पहिले भरपुर र दीगो स्रोतको आवश्यक्ता पर्छ नि । ‘विना धन केही नभन’ भने जस्तै विना धन कसरी विकास गर्न सकिन्छ ? कसरी जनताका आधारभूत आवश्यक्ता पुरा गर्न सकिन्छ ? कुराको चुरो नै यहीँ छ । हाम्रो पार्टीले चुनाव जितेर सरकार बनाउन पायौँ भने हामीले वैदेशिक ऋण लिएर भए पनि सर्वप्रथम तराइदेखि सगरमाथासम्म केवुल कार चलाउँछौँ;, प्रमुखले चुरो कुरो खोले ।

उपस्थित समुदाय जिज्ञासु भावमा ट्वाल्ल परे ।

प्रमुखले अझ कड्कँदै व्याख्या गरे, ‘जब हामी राष्ट्रिय गौरवको सगरमाथा केवुल कार निर्माण गर्छौँ तब विदेशी पर्यटकको घुइँचो थामी नसक्नु हुने छ । त्यसपछि त देशमा पैसो फल्छ ।आम्दानीको दीगो स्रोत जुटेपछि विकास भटाभट भै हाल्छ । अनि त हाम्रो देश सिङ्गापुर, स्विजरल्याण्ड हैन, संसारकै उत्कृष्ट बन्छ।सानातिना कुरामा अल्झन्न हाम्रो पार्टी । हामीसँग स्पष्ट भिजन छ । तसर्थ तपाइहरु भ्रममा नपर्नुस् यो पटक भोट हामीलाई दिनुस् ।.

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button