मतपत्र छिनमै पुग्छ, जहाँ बालबालिकाले पढ्ने पुस्तक वर्षौंसम्म पुगेका छैनन्

सुप्रिया खनाल

४५ डिग्रीको घाममा पसिना बेच्न लाचार नेपाली
परिवार छोडेर विदेशिन बाध्य
अपराध गर्नेहरू नै ओहोदामा रहेर धनाढ्य
अब पनि मेरो देशमा केही राम्रो होला ?

हजुरआमाले नातिनी चिन्न पाएकी छैनन्
हजुरबुबा छोरासँग हिँड्न पाएका छैनन
हिजो काँधमा बोकेर हिँडाएको छोरालाई
आज बासमा उठाउनु परेको छ
जो एक्लो थियो बुढेसकालको सहारा
उसकै काजकिरियाको सामान जुटाउनु परेको छ
खै अब त विश्वास पनि लाग्न छोड्यो
हर नेपालीको मुखमा सुखको गाँस होला र ?

जो गलत हुन्छ उसको नै जित भएको छ
मान्छे मार्ने एउटा उदाउँदो रित भएको छ
हर चेलीको ईज्जत दिउँसै लुटिन्छ यहाँ
गर्भदेखि नै छोरीको दिल पराकम्पित भएको छ
आफ्ना बाबुले नै जन्म दिएको छोरी भन्न छाडे
दाजुभाइले नै दिदीबैनीको नाता गन्न छाडे
अब पनि नेपालमा गर्वलायक केहि खास होला र ?

हुम्ला जुम्ला जाजरकोटको हाल देख्दा
मुटु फुट्छ जनताको सवाल देख्दा
के थाहा उनीहरुलाई जो दुःखमा डुबेका छैनन्
मतपत्र छिनमै पुग्छ त्यहाँ जहाँ बालबालिकाले पढ्ने पुस्तक वर्षौंसम्म पुगेका छैनन्
सत्ताभित्र अपराधी अनि भ्रष्टाचारी अटिरहेका छन्
डोल्पामा एक प्याकेट जीवनजलका लागि जनता छट्पटी रहेका छन्
सायद यही नै होला विकास अनि समृद्धि
के लाग्छ, अझै हाम्रो नेपालको विकास होला र ?

पुगेपछि ठाउँमा गरिबको घाउमा नुन छर्न पुग्छन्
जब आउँछ चुनाव त्यही पाउमा पर्न पुग्छन्
खै कस्तो अचम्मको रहेछ यो नीति
न त कुनै आचारसंहिता न त कुनै थिति
यहाँ त जताततै पावर अनि पैसाको खेल हुन्छ
केही लागेन भने उही हो बैँसको खेल हुन्छ
संविधान सीमित रह्यो मात्र कागजको पानामा
वर्षौं कुराइदिन्छन् यहाँ यो गर्छु भन्ने बहानामा
हे पशुपतिनाथ लौन बताइदिनुस्
यो बाट छुटकारा पाउने कुनै निकास होला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button