जिन्दगी: आज छ, भोलि छैन

सुप्रिया खनाल

आजको यो युग अनि यो विकृति
भाइरलको नाममा नाङ्गिएका शरीर
अनि उटपट्याङ हर्कत
कुनै प्रकारको उत्साह अनि उमङ्ग
बिहानीको चिसो सिरेटोको साथको चियासँग सोच्ने गर्छु
किन देखाउँछन् विकृति ?
किन बेच्छन आफ्नो इज्जत ?
किन गुमाउँछन् आफ्नो अस्तित्व ?
आज जति नै मै हु भने पनि
अरूको सहारामा चल्नु नै छ एकदिन

बा बस्नुहुन्छ पिढीँको डिलमा
अनि भन्नुहुन्छ
हिजो टेर्नेले आज फर्केर हेर्दैनन्
अब त लठ्ठीको सहारा चाहिन थाल्यो
हिजो कति छाक भोकै बस्नसक्थेँ
आज अलिकति आहारा चाहिन थाल्यो
भो बाँच्दिन अब भान भएको छ
त्यही पिढीँको डिल पनि मुग्लान भएको छ
सुन्दा सुन्दै बर्सिन्छन् आँशुका ढिका
अनि सोच्छु, किन घमण्ड ?
बस् ढिलो चाँडो न हो
अरूको इशारामा चल्नु नै छ एकदिन ।

जिन्दगी के हो के लाग्छ ?
जिन्दगी यस्तै छ आज छ, भोलि छैन
हरियो बाँस छ तर रातो सिँगारिएको डोली छैन
सेतो मन नपर्ने नै सेतो लुगामा बेरिएका छन्
बाँच्न नदिने नै मरेको अनुहार हेर्न घेरिएका छन्
किन लडाउन खोज्छन् आफ्नाले नै खुट्टा तानितानी
जिन्दगी बिर्सिएर मृत्युको रङ्ग दल्नु नै छ एकदिन ।

आखिर धनी पनि गरीब पनि जल्ने त्यही नै हो
सिङ्गो शरीर खरानीमा बदल्ने त्यही नै हो
के का लागि तुजुक अनि के का लागि घमण्ड
किन देखाउँछन् शान अनि किन हुन्छन् उदण्ड
भन्दै छ आर्यघाट ले पनि बिस्तारै
सबै बिर्सिएर मैत्रीभावमा रमाऊ
जति पैसा भए पनि आगोको रापमा जल्नु नै छ एकदिन ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button