‘प्रअम’ र ‘रूसी दलाल कम्युनिष्टहरुको मार्क्सवादी कक्षा’ सम्झाउने पुस्तक
अरविन्द रिमाल
पुष १ गतेको कठोर दिनको सम्झनामा लामो पोष्ट फेसबुकमा पठाएपछि दिउँसो मध्यान्हको रापिलो घामको सुखद समयको आनन्द भतिजीबुहारी मञ्जु रिमालको चोकमा बसेर बिताइरहेको बेला ‘यो पुस्तक सरलाई कपिल लोहनीले पठाउनुभएको’ भद्र स्वर कानमा गुञ्जियो । आँखा खोलेर हाँस्दै ‘ओहो ! धेरै धेरै धन्यवाद भन्दिनु है, कपिलबावुलाई, है बावुू’ भन्दै पाकेट हातमा लिएँ ।
कपिल भन्नासाथ प्रचीनकालदेखिका, २००७ देखिका मित्र लोहनीजीको सम्झना आयो । लोहनीजी हाम्रो लागि गोविन्दप्रसाद लोहनीको पर्याय थियो । पाकेट खोल्नेबित्तिकै यही फोटोसँग स्वागत अभिवादन भयो । मधुर मुस्कानसँग आफ्नै प्रभाव छाड्ने फोटो अनि तीक्ष्ण बौद्धिकताको परिचय दिईहाल्ने फोटो ।
पुस्तकको शीर्षकले उत्तिखेरै तानेर २००८ मा फर्काई हाल्यो, जतिबेला प्रगतिशील अध्ययन मण्डल(प्रअम)मा हामीले, चन्द्रधर उप्रेती, मधुसुदन शर्मा र अरविन्द रिमालले लोहनीजीसँग नियमित दौँतरीपन कायम गरिसकेका थियौँ । उप्रेती काठमाडौंका, मधु र म कलकत्ताका र लोहनीजी बनारसका राजनीतिक उत्पादकहरुको अनुपम सङ्गम ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक जनरल सेक्रेटेरी पुष्पलालले कलकत्तामै मलाई काठमाडौं गएपछि सबभन्दा पहिले यही प्रअमको स्थापना गर्ने जिम्मेदारी दिएका थिए । फलस्वरूप मेरा बाल सङ्गातिमित्र, छ-सात सालको सेरोफेरोमा प्रजा परिषदका समर्थक भई नेपाली काङ्ग्रेसको नेपाल छात्र संघको पूर्वी शाखाका कर्मठ कार्यकर्ता रहेका उप्रेती तथा हरिचरण श्रेष्ठलाई लिएर सरस्वतीप्रसाद रिमालको पुतलीसडकको घरमा प्रअम खोल्यौँ । महासचिव भए उप्रेती । यसबारे लामो कथा मेरो ‘१९९७ देखि २०१७ साल एक अवलोकन’मा ।
प्रअमको दैनिक भेटघाट, छलफल, बहसपछि शहरका अन्य कमरेडहरुको लागि टुँडिखेलको महाङ्कालस्थान पछाडिको खास तोकिएकै ठाउँमा ठूलो घेरा बनाएर खुला राजनीतिक छलफल कार्यक्रम चल्दथ्यो, लोहनीजीको अध्यक्षतामा । ईर्ष्यालु एवम् विरोधी राजनीतिबाजहरु यसलाई रूसी दलाल कम्युनिष्टहरुको मार्क्सवादी कक्षा भन्दथे । भन्ने पनि भए, लोहनीजीको ‘यो हो सोभियत रूस’, ‘कमरेड जाने होइन’ आदि रचनाहरुले विरोधीपक्षको मथिङ्गल खल्बलाइदिसकेका थिए । साथै, तात्कालिक पत्रिकाहरुमा ‘उग्रवादी’ लोहनीजीका थप लेखहरुले झन् रिसको आगोमा घ्यूू थप्ने काम गर्ने गर्दथे ।
९३ वर्षीय लोहनीका वागी आवाज पुस्तकका पाना पल्टाउँदै जाँदा घन्किन्छ । कतिपय ठाँउ र व्यक्तिविशेषको शब्दवर्णनमा आफू पनि सम्मिलित र सहभागी नभइरहन सकिन्न । सबै सजीव वर्णन, हिजोकै दिनहरु आज सिनेमाका फ्ल्याव्याकहरु जस्तै गरी आँखाअघिल्तिर आउन थाल्दछन् ।
आजका काङ्ग्रेसजनहरुले पढे भने यी कम्युनिष्टहरु ‘कहिल्यै सप्रन्नन्, आज पनि उत्तिकै सङ्कीर्ण’ विरोधी ?’ नभनीरहन सक्दैनन् होला भने नयाँ वर्गमा उन्नयन भएका आजका अधिकांश प्रगतिवादीलाई तिनताक त्यस्तै सङ्घर्षशील, त्यागी, निष्ठावान, भातृत्वपूर्णू जमात थियो होला कम्युनिष्टहरुको भनेर लाजले टाउको निहुँरिदो हो । जे होस् !
अतीत भनेको हिजोको वर्तमान, त्यसकारण आज पनि लेखकले त्यसलाई हूबहू पुनर्प्रकाशनमा ल्याउनुको अर्थ हो उनी आज पनि पूर्ववत अडानमै, निष्ठामा अडेका छन् ।
सात ताल्चाले बेरिएको घोर सामन्ती नेपाल । २००६ का राजनीतिक सडक तताई र २००७ सालको क्रान्तिको लगत्तैपछि यस्तो मानसिक वैचारिक दृष्टिबाट शताब्दीलाई नै पछाडि पारेर अगाडि बढेको ज्यूँदो जीवन्त साक्षी प्रमाण हो, यो पुस्तक ।
त्यसकारण त्यस अवधिका हामी साक्षी पुस्तालाई यो पुस्तकले नझक्झकाईरहन, नहल्लाईदिरहन सक्दैन, जबकि हामी त त्यस गौरवपूर्ण यात्रामा सहभागी नै थियौँ । पुस्तकमा व्यक्ति र घटनाक्रमको सन्दर्भमा शब्द वा विशेषणको प्रयोग अतुल्य छन्, अनुपमीयरूपले मौलिक छन् । अनि हामी हाम्रालाई विदेशीसँग दाँज्ने बानी परेकाहरुले यो कथासङ्ग्रहमा कतै चेखभ, लू शुन, कृशनचन्दर, मण्टो त कतै ख्वाजा अहमद अब्बास, अमृत राय आदि पनि नभेटिरहन सक्दैनन् ।
साँच्चै, गोविन्दप्रसाद लोहनीकृत ‘नेतृत्वको भोक र अन्य कथाहरु’ लाई पुनर्प्रकाशनमा ल्याएर कपिल लोहनीले विलक्षण गुण एवम् योग्यताका धनी साहित्यकार पिताप्रतिको निजी कर्तव्य मात्र होइन, पूरै राष्ट्रको साहित्य सम्बर्द्धनमा प्रेरणादायी योगदान गरेका छन् । उनलाई साधुवाद ।
हाल अकस्मात शारीरिक अवस्थ्यताले गर्दा काठमाडौंको एउटा निजी अस्पतालमा उपचार गराइरहेका मित्र लोहनीजीलाई शीघ्रतिशीघ्र स्वाथ्यलाभको शुभकामनासहित जय नेपालको अभिवादन गर्दै आभारका शब्द यहीँ टुँङ्ग्याउँछु ।