किसुनजी स्मृति: ‘बाबु ! म त धेरै पटक ‘च्युत’ भएको छु, तिमी ‘च्युत’ नहुनु, ‘अच्युत’ नै रहनु’

ज्ञानमित्र

सत्कार्यको परिणाम सत्, असल र कल्याणकारी नै हुन्छ । पौराणिक कालदेखि आधुनिक युगसम्म यस विषयका अनेकौं उदाहरण पढ्न पाइन्छन् । राजा हरिसचन्द्र, पान्डव बन्धु, धु्रव, प्रह्लाद आदिजस्ता पौराणिक पात्रहरुको जीवनबाट यसको पुष्टि हुन्छ । आधुनिक कालका सुकरात, जिसस, विवेकानन्द, योगानन्द, छत्रपति शिवाजी, गुरुनानक, योगमाया, महात्मा गान्धी हुँदै हाम्रो देशका सम्माननीय पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईज्यूको जीवनमा यस्को प्रत्यक्ष प्रभाव र परिणाम पाइएको सबैका सामु छर्लङ्ग छ ।

कृष्णप्रसाद भट्टराईले राजनीतिमा रहेर पनि एउटा सन्त जस्तै जीवनशैली अपनाउनु भयो, उहाँ सन्त नेताकै रुपमा नेपालभर मात्र नभइ दक्षिण एशियामै प्रख्यात हुनुहुन्छ । लामो समयसम्म प्रजातन्त्रका लागि लडिरहेको नेपाली कांग्रेसको नेतृत्व गर्ने भट्टराईजी दुई पटक देशको प्रधानमन्त्री हुन पुग्नुभयो । उहाँको प्रधानमन्त्रीत्वकाल वेदाग भ्रष्टचाररहित रहेको कुनै बेलाका प्रधानमन्त्री माधवकुमार नेपालले एउटा सभाबीच घोषणा गर्नुभएको थियो ।

केही बर्षअघि तिनै सन्त नेताको ८६ औं जन्मोत्सवको अवसरमा ओशो तपोवनले आयोजना गरेको ‘चार्वाक द बुद्धा’ आन्दोत्सवमा जन्मदिनको बधाई दिन पुग्दा अढाई महिनादेखि काठमाडौं प्रवासका दौरान मन चित्तमा उम्रेका नैराश्यताका काला बादल ओशो प्रेमी र सन्यासीहरुका बीच शुभ्र धवल वस्त्रमा सुशोभित किसुनजी देख्दा अनन्ताकाशमा विलीन भए । मनमा आशाको संचार भयो, रोम रोम प्राणवान भयो । मसंगै गएका डा. रामप्रसाद उप्रेती, डा. के.के. ओलीलगायत तपोवनको वातावरणलेमन्त्र मुग्ध भए । जीवनमा सज्जनताबाहेक केही नकमाएका किसुनजी नै आजको युगमा ‘त्येन त्यक्तेन भुंजिथाः’ को जीवन्त उदाहरण हुनुहुन्थ्यो भनेमा किचिंत पनि अतिश्योक्ति हुन्न । आफु बस्ने छानोसम्म नजोडेका किसुनजीलाई पुर्ववर्ती सरकारले बस्नलाई आश्रम बनाइदिएको थियोे, बुढेशकालमा जीवनयापनलाई मध्येनजर गरी देश र जनता प्रति गद्दारी गर्दै अकुत सम्पति सोहोर्नेहरुले यही घटनाबाट पाठ सिके हुन्थ्यो । यदि देश र जनताप्रति आफ्नो कर्तव्य पालना भएको छ भने त्यो त्याग र उत्सर्ग खेर जान्न, त्यसको मूल्याकन राज्यले गर्छ ।

धन्यभागी हुनपुगेका थिए, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालजी ! भट्टराईजीको ८६ औं जन्मोत्सवमा पुर्ववर्ती सरकारले बनाइदिएको आश्रम कृष्णप्रसाद भट्टराई ट्रष्टलाई हस्तान्तरण गर्ने क्याविनेटको फैसला सुनाउदाँ उपस्थित जनसमुहले करतल ध्वनिका साथ उहाँलाई बधाई ज्ञापन गरेको थियो ।

भट्टराईजी र ओशो दुवैबाट आफु प्रभावित भएको र दुवैबाट आफुले प्रेरणा पाएको भनी त्यति बेलाका माओवादी सर्वोच्च नेता प्रचण्डले सभालाई अचम्भित र विस्मित पारिदिउ । ओशो तपोवनका सन्यासीहरुको ‘वर्क एज मेडिटेशन’ देखेर त्यहाँ पुग्ने जो कोहिलाई पनि सुखद् अनुभूति भएको आगनतुकहरुको मुखाकृति हेर्दै थाहा भइरहेको थियो । त्यसमाथि तपोवनको शान्त, निरभ्र उल्लासमयी वातावरणले विमोहित बनाएको थियो । प्रधानमन्त्री माधवजीलाई त भगवावस्त्रधारी सन्यासीहरुको प्रभाव यति गहिरो प¥यो कि उनले भने, ‘हामी यहाँ उपस्थित भएका नेताहरुको मन पनि भगवानरुपी बनाएर पठाइदिनुहोस्, हामी सबै आफ्नो स्वार्थ छाडी देश र जनताका लागि काम गर्न सकौं ।’ यस्तो अभिव्यक्ति सुन्दा आफ्नो गलामा रहेको खादा उहाँलाई लगाइदिदै मैले भने, अरुको नभए पनि तपाइको मन भगवान होस् भनी आफ्ना ईष्टसंग प्रार्थना गर्छु, उनले सहर्ष स्वीकार गरे ।

किसुनजीसँग प्रेरणा लिने देशका तमाम व्यक्तिमध्ये एकजना म आफुलाई पनि रहेको जान्दछु । भैसेपाटी स्थितिमा निवास पुग्दा उनले नाम सोधे, अच्युतम भट्टराई सुन्दा उनले तत्कालै भने,, ‘बाबु म त जीवनमा धेरै पटक ‘च्युत’ भएको छु तिमी ‘च्युत’ नहुनु, ‘अच्युत’ नै बनी रहनु ।’ सहर्ष स्वीकार गदर्छु अहिलेको सन्यासी जीवनसम्म आईपुग्दा पनि कुनै दिन पनि मैले उनले मप्रति आशा राख्दै दिएको आशीर्वाद बिर्सेको छैन, त्यस आशीर्वादले यस जीवनलाई सम्यक गोरेटोमा हिडाउन अनमोल मणिकै भूमिका निर्वाह गरेको छ ।

त्यस आनन्दोत्सवमा भट्टराईजीको मुक्तकण्ठले प्रशंसा गर्नेहरुमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, सुभाष नेम्वाङ्ग, रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, स्वामी अरुण आनन्ददेखि लिएर तमाम वरिष्ठ व्यक्तित्वहरु थिए ।

मनुष्य जीवन भोगमय छ । भोगबाट विरक्ति भएपछि योगको बाटो खुल्छ । किसुनजीले जीवनलाई सम्यक भोग गरे । एउटा जीवनमा सबैखाले भोग विरलैले भोग्ने मौका पाउँछ । किसुनजीको ८६ औ जन्मोत्सवमा भोगको पूर्णता भएको थियो, त्यस्तो सम्मान सायदै कसैले पाएको होला, त्यो पूर्णताले आफुलाई आफ्नो पथ शुन्यको अनुभूति दियो, आखिर त पूर्ण नै शुन्य हुन्छ, शुन्य नै पूर्ण हुन्छ ।

एकजना पूर्व प्रधानमन्त्रीले भावुक हुदै भने, ‘स्वामीजी यदि राजा ज्ञानेन्द्रबाट शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउनुको सट्टा किसुनजीलाई त्यसबेला प्रधानमन्त्री बनाइएको भए देश आज यो दुरावस्थामा पुग्ने थिएन, मैले राजालाई किसुनजीलाई प्रधानमन्त्री बनाउने परामर्श दिएको थिएँ । तर उहाँ (राजा) सुन्ने सबैको गर्ने आफ्नै मनको ……’, यसो भन्दै गर्दा भावुकताले उनको गला नै अवरुद्ध बनाएको हेर्दा सोच्न बाध्य भएँ, ‘यो राष्ट्रका प्रमुख पदमा आसीन हुनेहरुबाट कहिले होला सबैको सल्लाह र परामर्श अनुसार हिड्ने परम्पराको थालनी ! ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button