
टौदहमा अरुले भाषण गरे, मैले कविता भनेँ
विश्व सिमसार दिवस
जय भण्डारी
टौदहमा विश्व सिमसार दिवस मनाईएको छ । कार्यक्रम किर्तीपुर नगरपालिका वडा नं को आयोजनामा सम्पन्न भएको थियो । प्रमुख आतिथ्यता किर्तिपुर नगर प्रमुख रमेश महर्जनले गरका थिए भने वडा प्रमुख न्हुछे महर्जनले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
कार्यक्रमको प्रमुख आकर्षण भने नेदरल्याण्डबाट आएर तीस बर्षदेखि नेपालमै बसेर नजिकबाटै टौदहको अवस्थाबारे जानकारी लिएका र यहाँ आउने चराहरुको अनुसन्धान गरिरहेका डच नागरिक आरण्ड भान राईजन थिए । उनले ‘टौदहः हिजो आज र भोलि’ शिर्षकको अनुसन्धनात्मक लेख प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पंछी संरक्षण समितीका तर्फबाट विमल थापाले वातावरण तथा पर्यावरणलाई असर नपर्ने गरी विकास योजना अगाडि बढाउनु पर्छ भने ।
कार्यक्रममा म पनि सहभागी थिएँ र कविता पाठ गरेको थिएँ ।
चरालाई बस्ने ठाउँ पक्कि चाहिन्छ
त्यसैले प्राकुतिक तलाउ वरिपरि
पक्की पर्खाल लगाउनु पर्छ
चरा स्वच्छ र खुला आकाशमा उड्छन्
त्यसैले वरिपरिका रुखहरु पनि काटिदिनु पर्छ
चराहरुलाई उज्यालो चाहिन्छ
बासस्थानमा बत्ती बालिदिनु पर्छ
चराहरु पनि सफा हुनु पर्छ
त्यसैले नुहाउनको लागि
आधुनिक फाउन्टे सेट गरिदिनु पर्छ
वातावरण आधुनिक पाराले जोगाउनु पर्छ
त्यसैले सकेसम्म जताततै एसी ल्पान्टको निमार्ण गर्नु पर्छ
चरा र जीवजन्तुलाई पनि आधुनिक विकासको स्वाद चखाउनु पर्छ ।
बनपाखा, खोलानाला, प्राकृतिक श्रोत साधनमै डोजर चलाउनु पर्छ
किनकि मान्छेको उपकारबाहेक
अरुको भलो सोच्नु आधुनिक विकासको विरोधी बन्नु हो !
