सुर-तालको खरी झरेछ क्यारे ! जीवनको लय बिग्रिएको छ

कविता: देशको भविष्य

जमुना पौड्याल
विराटनगर-३

धेरै भयो सुसंस्कृतिको
मादल बज्न छोडेको
सुर, तालको खरी झरेछ क्यारे
जीवनको लय बिग्रिएको छ !

झ्याम्टा, खैजडी र ढोलकका उत्सवहरू
सुरक्षित छन् इतिहासको पोल्टाभरि
दुना र टपरीमा चुहाउँदै खाएको भतेर
बिदा भयो होला गाउँघरबाट
पञ्चेबाजाको तालमा
दौरा सुरुवालको तुना हल्लाउँदै
नाच्न छोडे दमाइ दाइहरू !

घाम तापेका शिखरहरू हेर्दै
सुसेलीमा कैद गरी सौन्दर्य
सुसेल्दै हर्ष र उमङ्ग
वस्तु चराउँदाको गोठाले यौवनले
छोडिसक्यो कुत्कुत्याउन
चुट्का, दोहोरी र असारे भाकाका
प्रेमिल गीतले बाँधेको लगनगाँठो
कता पुग्यो छैन पत्तो !

Advertise
Hike & Write

आफ्नै पाखा पखेरामा
खेलेका गट्टा र गुच्चा
बाल्यपनको चौतारीमा
विश्राम गर्दै होलान्
हजुरबा हजुरआामाका
अर्ति उपदेशहरू
छट्पटाउँदै होलान्
वृद्धाश्रमका कोठाभरि
सोच्नै सकिएन
के नपुगेर विदेशियो संस्कृति
किन मातेका छन् हाम्रा संस्कारहरू
बाँसुरीको धुन बजाएर
विरह ओकल्दै खोज्दै होलान्
सहिद र पुर्खाहरूले
देशको भविष्य !!


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button