प्रेम अमर हुन्छ, विवाह एउटा सम्झौता हो

मनका कुरा

सुप्रिया खनाल

जीवनको परिभाषा नजान्ने म । यही जीवनको परिभाषा खोज्न हरेक ठाँउँ भौतारिरहेँ । आखिर के हो जीवन ? पीडाको पोखरीमा पौडिदै गर्दा खुसीको खोजमा यत्रतत्र पागल झै रुमल्लिरहेँ ।

खुसीको अनुभव त प्रेम रहेछ, तिमीसँगको प्रेमपश्चात थाहा पाएँ । तिम्रा ती निर्दोष नयनमा मैले संसारका खुसी भेट्न थालेँ ।कति प्यारो छौ, तिमी मेरो लागि जसरी घामलाई जुन प्यारो छ अनि आकाशलाई धर्ती, तिम्रा यादहरु पनि उतिकै प्यारा छन् मेरा लागि । बयान गर्न सकिँदैन ।

तिम्रा यादका अनौठा स्पर्शहरु तिमीजस्तै चन्चल बनेर बेइमानी बनिदिन्छन् । रुमानी साँझमा नयनहरु फेरि ऐनामा पुगिदिन्छन् र म बैजनी रङ्गमा मिसिएर गुलाबी बनिदिन्छु अनि हृदयको आहाटमा तिनै नाम गुन्गुनाईदिन्छ । एक तवरले त तिमी अपराधी हौ कि झैँ पनि लाग्छ । साँच्चै तिमीलाई मैले अपराधीकै संज्ञा दिएँ । कति मिठो अपराध गर्दिन्छौ तिमी । नजरको गोलीले जति चोटि हान्छौ, झन् झन् नयाँ जिन्दगी पाए झैँ लाग्छ ।

साँच्चै तिमी र म कस्तो अनौठो प्रेम गर्छौं है ? जिन्दगीभर सँगै साथ हुने ठेगान पनि छैन । तिमी मेरो मात्रै हो अनि म तिम्रो मात्र भन्न अधिकार पनि छैन तर पनि रक्सीको भन्दा मायाको नशा चढेको छ हामीलाई । हुन त कृष्णले रुक्मिणीसँग बिहे गरे, राधासँग प्रेम गरे । हामी राधाकृष्णको पुजा गर्छौँ । किनकि, प्रेम अमर हुन्छ, विवाह एउटा सम्झौता हो । यही सोचेर हामी एक अर्कालाई आफ्नो प्राणलाई भन्दा बढी प्रेम गर्छौं । तिम्रो जीवनको म राधा हुँ या रुकमनी, त्यो त मलाई थाहा भएन तर मेरो जीवनको तिमी राम हो, जसको लागि मैले अग्निपरीक्षा नै दिन परे पनि पछि हटने छैन ।

Advertise
Hike & Write

सासले त जिन्दगी सबैको चल्छ तर यहाँ कसैको झिनो आशले जिन्दगी चलाउने भेटिन्छन् भने त्यसमा तिमी अनि म पनि पछौं सायद । मलाई आजभोलि मेरो आफ्नै शरीर खुब प्यारो लाग्छ । किन थाहा छ ? तिमीले हरेक पल मायाले चुमेका मेरा हरेक अङ्गअङ्गहरुले गुलाफले बास्ना फैलाए झैँ तिम्रो मीठो सुगन्ध फैलाइरहेका हुन्छन् । साटिएका कफीका कपमा केवल मिठास भेटिएला तर तिमीले चुमेका ओठहरुमा सदावहार याद ।

प्रेममा तिमी, बोलीमा तिमी, कल्पनामा तिमी, सम्झनामा तिमी, रातमा तिमी, दिनमा तिमी, बातमा तिमी, हर यादमा तिमी, शब्दमा तिमी, सायरीमा तिमी, मनमा तिमी, मष्तिस्कमा तिमी, मेरो चाहनामा तिमी, हरेक बहानामा तिमी, आँखामा तिमी, आशामा तिमी, बस् । तिमी मलाई के चाहन्छौ भनेर सोध्छौ नि, मलाई घरी घरी दङ्ग हुन मन छ । मेरै आँखा वरिपरि बसिराख तिमी, मलाई तिमीसँग हुन मन छ ।

सासले त साथ छोड्छ एकदिन, मलाई चङ्गा हुन मन छ, उडिरहन्छु म आकाशमा, तिमी हावा बन्नु, मलाई तिमीसँग हुन मन छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button