
दोश्रो पुस्ता नै भएन म्याम, केहि गरौं भने
शौर्या खनाल
स्कुलको लागि जग्गा हेर्ने क्रममा भक्तपुर पुगेकी थिएँ । त्यहाँ एक सज्जनको अथाहा जग्गा जमिन रहेछ तर उद्यममा लगानी गर्न केही जोश रहेनछ ।
‘मेरो दोश्रो पुस्ता नै भएन म्याम, केहि गरौं भने’, भन्नुभयो ।
छोरा विदेशमा छन् रे । फर्कन्न भन्छन् रे ।
‘छोरीलाई पढाई सकाएर बिहे गरिदिनु पर्यो अनि सानो बाबु सानै छ’, भन्नुभयो ।

उहाँको कुरा नेपाली परिवेश अनुसार सहि हो । भोलि लिगेसी थाप्ने रगतका नाता कोहि नहुने भए किन लगानी गर्नु ? तर के छोराछोरीबाहेक अरू देशवासीले उत्तरदायित्व लिन, भोगचलन गर्न, लिगेसी लिन नहुने हो र ? भन्ने प्रश्न चाहिँ मैले मनैमा राखेर गुनिरहें ।
विदेशमा पुँजीपतिहरूले छानिछानी, आइडियामा, स्क्ल्डि, प्यासोनेट र इनर्जेटिक मान्छेमा लगानी गर्छन् । यहाँ भने ३-४ रोपनी जग्गामा लगानी गरिदिन खोज्ने लगानीकर्ताहरू नभेटेर डाँडाकाँडा चहार्नु परेको छ । अनि कतै भेटि हले त्यही समाजका रैथाने जमिन्दारहरू ठूलो भाग नपाएर भाँडभैलो मचाउन पो लागिपर्छन् । जबसम्म सामुहिक हितको लागि समाजका गन्यमान्य, पुँजीपति व्यक्तिहरू निस्वार्थ लाग्दैनन्, उनीहरूका आफ्नै विदेशिएका छोराछोरी पनि फर्कने छैनन् ।
अहिले त यो कुरा ठूलो नलाग्ला तर पक्कै पनि जिउको बल सकिएपछि जब एक दिन छोराछोरीको कमि महसुश हुन थाल्छ, तब देश धनी र सम्पन्न नभै आफूमात्र सम्पन्न भएर केही काम छैन रहेछ भन्ने महशुस हुनेछ तर त्यस बेला ढिला भैसक्नेछ । अहिले नै मुठ्ठी खोल्ने हो कि ?
सके सामाजिक हितका परियोजनाहरूमा लागौं, नसके कमसेकम भाँडभैलो चाहिँ नमचाऔँ ।
‘A society grows great when old men plant trees in whose shade they shall never sit.’ -Greek Proverb.
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)