हामीलाई छोरी दिए पुग्छ हजुर, अरु केहि चाहिँदैन

कविता

शारदा पान्डे

हामीलाई छोरी दिए पुग्छ हजुर
अरु केहि चाहिँदैन
बिहेमा आउने हजार जन्ती पालिदिए पुग्छ हजुर
अरु केही चाहिँदैन ।

अलि अलि मात्र ढोगभेट गरिदिए पुग्छ हजुर
अरु केही चाहिँदैन
समाजको अगाडि हेर्ने लायक भए हुन्छ हजुर
अरु केही चाहिँदैन ।

एउटा सुनको औंठी ससुरालाई
एउटा सुनको हार सासुलाई
सिरमा सुनको सिरफुल नन्द आमाजुलाई
सुटको कपडा इत्यादी अरुलाई
बस यति भए पुग्छ हजुर
अरु केही चाहिँदैन
समाजको अगाडि हेर्ने लायक भए हुन्छ हजुर
अरु केही चाहिँदैन ।

Ad

कोठाको सामान त अलि अलि परिहल्यो नि हजुर
अरु त केही चाहिँदैन
बस एउटा फ्रिज र डाइनिंग टेबल पनि भए हजुर
अरु त केही चाहिँदैन
एउटा बाइक त कत्रो न कुरा हो र हजुर
यो पनि भैइदिए अरु त केही चाहिँदैन
समाजलाई देखाउनु पर्ने भएकोले हो हजुर
नत्र त केही चाहिँदैन ।

गाग्री, ग्याम्पो र खडकुलो त आइहाल्ला नि हजुर
अरु त केही चाहिँदैन
चाँदीको पनि एक दुइटा सामान भए त हजुर
अरु त केही चाहिँदैन ।

हामी त समय अनुसार चल्छौँ हजुर
दाइजो साइजो केही माग्दैनौ हजुर
हजुरले हेरेर बुझेर सक्ने गर्नुहोला
हामीलाई त छोरी दिए पुग्छ हजुर
अरु त केहि चाहिँदैन ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button