
माइतीको सम्झना नआइदिने कुनै चक्की पाइन्छ ?
माइतीले नसम्झिँदा
मीरा पुडासैनी
उर्मिला बिहानैदेखि पनि के बहाना बनाऊँ भनेर सोच्दै थिई ।
भोलिको चैते दशैं, आमा पनि बितेपछि त दाजुभाइको परिवारले उसलाई निक्कै कम मात्र माइतीमा बोलाउने गर्थे। यो चैते दशैंमा पनि उसलाई माइतीले बिर्सिएका थिए तर सासू ससुरा भएको घरमा नजिकै रहेको माइतीले बोलाएनन् भन्नु त्यति सजिलो थिएन ।
उसका घरका परिवारलाई त बुहारी माइत नगइदिएकै राम्रो, पकाउने, तुलाउने, भाडा माझ्ने झन्झट नहुने भएर नै त बुहारीको माइतीले बोलाए नबोलाए पनि केही फरक पर्दैनथ्यो ।
आमा बितेको चार पाँच बर्षयता, कम्तिमा दुईपटक माइतीको आँगन टेकेकी उसले त्यसयता माइतीको बोलावटको आशै पनि गर्दिनथिई ।
किन्तु उर्मिलाले के सोच्थी खै, आफ्ना घरमा नन्द र बुढी भइसकेकी आमाजू पनि चाडवाड, तिथि श्राद्द, संक्रान्ति, पुर्णिमा सबैमा आईरहन्थे । उसलाई नि त्यहि भएर माइती जाने रहर हुन्थ्यो । माइतीको आँगन सबैलाई उत्तिकै प्यारो त हो नि । सधैंको भात भान्सा र चुलो चौकोबाट एकदुई छाकको निम्ति छुट्टि पाईन्छ कि भनेर पनि हो कि सायद दाजुभाइले बोलाइदिए हुने थियो भन्ने मनमा लाग्दो हो । अनि माइतीको बोलावट नआउँदा घरकाले पनि हेला गर्ने हुन कि भन्ने डर पनि थियो कि । तर माइती र चेलीको सम्बन्ध कहाँ सधैं सबैको एकनासको हुन्छ र ?
छोरीले जन्मदिने बुवा आमा हुदाँको जस्तो मनलागेको बेला माइतीमा नबोलाए पनि जान मिल्ने पनि हुँदो रहेनछ । यहि सम्झिएर उर्मिलाले आज पनि आफ्ना मरेका बा आमालाई धेरै नै सम्झिएर आँसु खसाली तर मन खोलेर रून भने सकिनँ ।

कहिले टाउको दुखेको, कहिले पेट दुखेको, कहिले के कहिले के, बहाना बनाउँदा बनाउँदा अब त उसँग त्यस्तो कुनै बहाना नै बाँकी थिएन ।
दाजुभाइले बेला बेलामा फोन गर्ने गर्थे तर भाउजू बुहारी कसैको फोन आउदैनथ्यो। हुन त उसका भाउजू बुहारी सबै कामकाजी महिला थिए । भाउजू सरकारी विद्यालयमा पढाउँथिन् अनि बुहारी प्राइभेट कम्पनीमा । तर निजी र सरकारी दुवैमा पाइने विदाको बारेमा उसलाई थाहा नभएको त हैन ।
यस्ता विदाको समयमा चाडबाड मनाउने भन्दा पनि दाजुभाइको परिवार घुमघामको निम्ति निक्लिने गर्थे । उसलाई माइतीमा बोलाउने फुर्सद कसलाई र खै ?
तर यो पटकको चैते दशैमा कोहि कतै गएका थिएनन् । तर पनि उसलाई दाजुभाइले सम्झिएनन् ।
घरकाले पनि उसलाई माइत जान्नौ त भनेर सोध्न छोडिसकेका थिए । उसका घरकालाई पनि माइतीले बोलाउँदैनन् भन्ने कुरा पक्का थियो ।
तर उर्मिलाले भने कुनै बहाना बनाएर आफुले आफुलाई सान्त्वना तथा माइतीका दाजुभाइलाई घरकाले केही नभनुन भन्ने लाग्दो हो ।
माइतीले बोलाएनन् नि भनेर सुन्नु पर्दाका पिडाबोध जन्मेको घर छोडेर आएका छोरीहरूलाई भन्दा अरू कसलाई पो हुन्छ र ?
आफू जन्मिएर हुर्केको घरमा जान अरूको अनुमति लिनु पर्ने संस्कारमा हुर्किएका छोरीहरूलाई अझ बाबू आमाको शेषपछि दाजुभाइको परिवारले बोलाउँछन् कि बोलाउँदैनन् होला भनेर बस्नु पर्ने जस्तो कठोर स्थिति के नै हुन सक्ला त ?
यहि छट्पटी र मानसिक स्थितिबाट उर्मिलाजस्ता कैयौ छोरीचेलीहरू गुज्रिरहेका होलान् ?
उमेरसँगै घर व्यवहारको चपेटामा दिदीबहिनी, दाजुभाइ सबै पर्दै जानु पर्छ । तर जन्मेको घर छोडेर आएका छोरीचेलीलाई कमसेकम बर्षको एक दुई पटक माईतीमा भात खान बोलाउँदैमा माइतीको भण्डार रित्तिने त हुँदैन नि ।
उर्मिलाजस्तै छोरी चेलीका निम्ति माइतीका ढोका कहिल्यै बन्द नहोऊन है । माइतीको त कुकुरै पनि प्यारो हुन्छ रे नि त भन्ने उखानै छ त ।
विवाह गरेर पठाइसकेका छोरीहरूमा नबोलाई त कुकुर त जाँदैन, हामी कसरी र किन जाने भन्ने धक किन पलाउँछ होला है । उर्मिलाले यस्को उत्तर कहिल्यै भेटिन ।
उर्मिलालाई जस्तै सबै छोरीचेलीमा यस्तो धक फुकाउने ओैषधी केही छ कि ? पाए हामीलाई पनि काम लाग्थ्यो होला है । वा माइतीको सम्झना नआइदिने कुनै चक्की पनि पाइन्छ कि ? त्यो पाए त झन् कति जाति है ? उर्मिला प्राय यस्तै सोचिरहन्थी ।
उर्मिलाले यो चैते दशैंमा बनाएको बहानालाई उसका घरकाले पत्याएकी पत्याएनन् होला है, किनकि टाउको, पेट, कम्मर जे दुखे पनि उसलाई भात भान्सामा कसैले सघाउने हैनन्, अनि बुहारी तिमीलाई सन्चो छैन, बस हामी पकाउछौं भनेर कसैले कहिले पनि भने गरेका छैनन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)