परिवारैलाई लाग्यो तर कसरी पराजित भयो कोभिड ?
आचार्य मोहनकुमार तामाङ
२०७६ को चैतदेखि कोभिड महामारीको कारणले देशभर लकडाउन भयो । घरबाट ननिस्कने सरकारी उर्दीलाई शिरोपर गरेर कतै गइएन । कतिपय मानिसहरु निस्फिक्रि घुम्ने पनि थिए । टोलका साथीहरु रक्षाकवच लगाएर कडा रुपमा निगरानी गर्न पनि बसे । तैपनि केटाहरु फुटबल खेल्ने र मोटरसाइकल सिक्नेहरुको घुइँचो छतबाट देख्न सकिन्थ्यो । तर, हामी घरबाट निस्केनौं । घरका जागिरेहरु पनि ‘वर्क फ्रम होम’ गर्न थाले । यसरी नै बित्यो लामो समय ।
लकडाउन खुले सँगै चहलपहल बढ्न थाल्यो । म पनि काममा निस्कें । अति सावधानीका साथ काम गर्न थालें । मसँग क्यामेरा पर्सन हुन्थे, उनीसँग सँगै काम गर्नु पर्ने बाध्यता थियो । अनुसन्धानको काम भएकोले फिल्ड पनि सँगै जानु पथ्र्यो । हामीले सँगै काम ग¥यौं । अधिकांश समय घरमा बसेर अध्ययनमा नै व्यतित गर्दथें । गत असोज ६ गते अकस्मात विराटनगर जानु पर्ने भयो । भाइको गाडीमा भाइ र म बिराटनगर गयौं । सात दिन विराटनगर, झापा र इलाम बसेर काठमाडौं फर्कँदा क्यामेरा पर्सन साथीलाई कोभिड पोजिटिभ भएको खबर सुनें ।
बाहिरबाट आएर सरासर होम क्वारेन्टाइनमा बसें । बाटोमा आउँदा टाउको दुख्ने र वाकवाकी लाग्ने भयो । घरमा तीन दिन बसेपछि केहि राहत महसुस भएता पनि क्वारेन्टाइनलाई निरन्तरता दिइनै रहें । क्वारेन्टाइनमा बस्दा ल्यापटप चलाउने गर्दथें । विसेक होला भनेको त झन् गल्न थालें । मैले चलाएको ल्यापटप छोरीले पनि चलाएको हुँदा छोरीलाई पनि रुघा लाग्न थाल्यो । उनी पनि क्वारेन्टाइनमा बस्न थालिन् । विस्तारै गल्न थालेकोले पिसिआर टेस्ट गर्न गएँ । नतिजा नेगेटिभ आयो । खुसी लागेको थियो तर झन् गल्न थालें । अझ ज्वरोले च्याप्न थाल्यो । फेरि तीन दिन पछि अर्को परीक्षण गराउँदा पोजिटिभ आयो । ज्वरो १०४ पुग्न थाल्यो, सिटामोलले ३ घण्टाभन्दा बढी थाम्न छाड्यो ।
छोराले अस्पताल लगेर गयो । तागत नभएकोले स्लाइन र अन्य औषधी लगाउने काम भयो । करिब १० घण्टा अस्पतालमा बसेपछि घर फर्किएँ । औषधीले काम ग-यो । ज्वरो घट्यो । त्यसअघि नै भिटामिन सि, मल्टीभिटामिन, भिटामिन डी, गुर्जो, अश्वगन्धा र बेसार पानी खाइरहेको थिएँ । अझ सात दिनको एन्टीबायोटिक पनि खाएँ । सायद त्यसले मलाई निमोनिया हुन दिएन । एक्स रे रिपोर्ट पनि राम्रो आयो ।
दिउँसो ठीकै हुन्थ्यो तर रात परेपछि भने रोगले च्याप्दो रहेछ । राती निद्रामा तल खस्दैछु भन्ने भान हुन्थ्यो । तीन रात जति राती चिच्याएँ पनि । त्यो सबै अक्सिजनको मात्रा घटेपछि हुने रहेछ तर यो कुरा पछि मात्र थाहा भयो । अक्सिजन ९४ भन्दा माथि कहिल्यै पुगेन । राती घट्दो रहेछ तर थाहा भएन । यस रोगले आक्रमण नै श्वासप्रश्वासमा गर्दो रहेछ अनि आफूभित्र रहेको रोगलाई कैयौं गुणा बढी सक्रिय गराउँदो रहेछ । धन्य ! त्यसबेला मेरो मधुमेह भने नियन्त्रणमा थियो । नत्र मलाई फर्कन गाह्रो हुने थियो होला । खोकीले गर्दा फोनमा कुरा गर्न पनि सम्भव थिएन । शरिर पसिनाले निथु्रक्क भिज्थ्यो । करिब सात दिन मैले मोबाइल पनि चलाइन रहेछु ।
विस्तारै रोगले छाड्यो । घर बाहिर निस्कन मलाई एक महिना तीन दिन लाग्यो । परीक्षण गराउँदा रिपोर्ट पनि नेगेटिभ आयो । तङ्ग्रीएँ । बिस्तारै बाहिर निस्किएँ । घरबाट एक मिनेटको दुरी के पार गरेको थिएँ ! फर्केर आउन हम्मेहम्मे भयो । बिस्तारै बानी पारें । यसले हाम्रो सबै शक्ति क्षीण गराउँदो रहेछ भन्ने थाहा भयो ।
छोरीलाई सामान्य ज्वरो आयो । ५ दिनमै उनी ठीक भइन् । हामी सबै आ–आफ्नो काममा फर्कियौं ।
गत तिहारमा छोरालाई ज्वरो आउन थाल्यो । टाउको दुख्न र खोक्न थाल्यो । सामान्य पिनास होला भनेर त्यसको उपचार गरियो तर ठीक भएन । पिसिआर टेस्ट गराइयो । नतिजा पोजिटिभ आयो । बुहारी, ज्वाईँ अनि श्रीमतीको पनि पिसिआर टेस्ट गराइयो । सबै पोजिटिभ देखिए । सबैलाई आइसोलेसनमा राखेर उपचार सुरु गरियो । छोरालाई अस्पताल लगेर मेरै जस्तो उपचार गराए पनि उसको ज्वरो पनि कम भएन र खोकी पनि रोकिएन । झनै रोग बढेर जानथाल्यो । खानेकुरा खान सक्न छाड्यो । उसलाई पूनः अस्पताल लैजानु प¥यो । अक्सिजन लेभल घटेर ८८ देखाउन थाल्यो । अस्पताल हत्तपत्त लग्यौं ।
१०२ को सेवा लिनु पर्ने भयो । समयमा नै उनीहरुले सेवा दिए । धन्यवाद् । पाटन अस्पतालको फिभर क्लिनिक पनि धेरै राम्रो लाग्यो । त्यहाँका डाक्टरहरुले अस्पताल भर्ना गर्नु पर्ने सल्लाह दिए पछि भर्ना गरियो । खोकी र ज्वरो अत्यधिक भएकोले उसलाई अति नै गाह्रो भएको थियो । एक्लै राख्नु पर्ने बाध्यताले नियास्रो पनि लागेको थियो । छोरासँग घरीघरी अपडेप लिइरहेको हुन्थें भने टेलिफोनबाट नर्सहरुसँग जानकारी पनि लिइरहन्थें । तीन दिन अस्पताल बस्दा पनि केहि सुधार नदेखिँदा अनि खोकी र ज्वरो नघट्दा छोराले निराशजनक म्यासेजहरु पठाउन थाल्यो । डाक्टरहरुसँग सल्लाह गरेर भाइरल लोड कम गर्ने औषधीको इन्जेक्सन दिने निर्णय गरियो । बाहिरका डाक्टरहरुको पनि सल्लाह लिएर औषधी दिने काम भयो । उसका अफिसका सबैले ढाडस दिने कार्य गरिरहे । आर्थिक, मानसिक तथा अन्य कुनै पनि सहयोगमा सदा तत्पर रहेको बताइरहे । यसले मलाई हौसला दिई नै रह्यो । मैले सबैकुरा छोटकरीमा छोरालाई सुनाउने गर्थें । मानसिक रुपमा केहि हुँदैन भन्ने कुरामा ध्यान पु¥याउने कुरा गर्न केहि कसर छाडिनँ ।
पहिलो दिनको दुई डोजसम्मले केहि भएन तर भोलिपल्टको डोजपछि भने उ निदाउन सक्ने भयो । बल्ल खोकी र ज्वरो नियन्त्रणमा आयो । भगवानसँग प्रार्थना गर्दै बसें । औषधी लगेर अस्पताल जाँदा अन्य बिरामीहरुको डेथ सर्टिफिकेटमा सहि गर्न आउने मानिसहरु देख्दा आफै पनि मानसिक रुपमा विक्षिप्त भइएला कि भन्ने डर थियो । यता घरमा श्रीमतीको ज्वरो घटेको थिएन । अक्सिजन लेभल ८४, ८० देखाउँथ्यो । मेरो भोक–निद्राभन्ने कता भाग्यो थाहा भएन । १०३ ज्वरो घट्नै नमान्ने ।
उता बुहारी र ज्वाईँ पनि आइसोलेसनमा । खाना पकाउनु पर्ने । अढाई वर्षको नातीको हेरचाह गर्नु पर्ने । पानीमात्र पनि दिनमा १० पटक उमाल्नु पर्ने । धेरै कठिन समय । अक्सिजन सिलिन्डर लिन जाने बेलामा केहि होला कि भन्ने डर !
श्रीमतीलाई घरमै राखेर उपचार गर्ने निर्णय गरें । भारी शरिर भएकोले अस्पतालको उपचारमा कठिनाई देखें । अस्पतालले दिएको औषधीलाई ठीक समयमा ख्वाउन थालें । प्रत्येक आठ घण्टामा दुई गोली सिटामोल र एण्टीबायोटिक ख्वाइरहें । तीन दिन पछि ज्वरो कम भयो । तर, अक्सिजनको मात्रामा सुधार भएन । दिउँसो बढीमा ९२ सम्म देखाउँथ्यो । रात परेपछि घटेर बढीमा ८८ हुने गथ्र्यो । बल्ल १० दिन पछि अक्सिजन लेभलमा सुधार आयो । उसलाई निमोनिया देखिएकोले चिसोबाट जोगाउन हर प्रयत्न गरें । अलि न्यानो भयो कि पसिना आउने र लुगा भिज्ने, भिजेको लुगालाई तुरुन्त फेर्नु पर्ने । यसरी १० दिन एक घण्टा पनि नसुती स्याहार गरेपछि बल्ल सुधार आयो । छोरा पनि ठीक भयो । अस्पतालबाट फर्कियो । सबैको नतिजा नेगेटिभ आयो ।
कोभिड अन्य रोगलाई कैयौं गुणा बढाउने रोग हो जस्तो लाग्छ । यो बेसार पानीले निको हुने रोग होइन । भाइरल लोड कम गराउन धेरै नै कठिन छ । रोग प्रतिरोधात्मक क्षमता बढी भएकाहरुलाई यसले खासै असर गर्न सक्दैन भन्ने लाग्छ । किनकी मेरै परिवारका दुई जनालाई सामान्य लक्षण मात्र देखाप-यो । यो रोगले हामीलाई प्रकृतितर्फ फर्क भनेर आव्हान गरेको जस्तो लाग्यो । तथाकथित खाना भनिने चाउचाउ तथा सिन्थेटिक खानालाई हामीले बहिष्कार गर्नु पर्छ जस्तो लाग्छ ।
मेरो अनुभवमा निम्न व्यक्तिहरुलाई कोरोनाले सजिलै आक्रमण गर्दछ ।
१. दीर्घ रोगीहरु
२. तथाकथित रेडिमेड खाना खानेहरु
३. पर्याप्त निद्रा नपु-याउनेहरु
४. व्यायाम नगर्नेहरु
५. वातानुकुलित (एसी) मा बस्नेहरु
६. खानामा ध्यानन पु-याउनेहरु
यो रोगले छानीछानी आक्रमण गर्छ । कतिपयको प्लेटलेट्स पनि घटाउँदो रहेछ । होस पु¥याउनु अति नै जरुरी छ । कतिपयले यो रोगलाई सजिलै जित्न सक्छन् तर रोग बोकेर हिड्ने गर्दछन् । उनीहरु परिवारको कमजोर सदस्यको लागि घातक सावित हुन सक्छन् । नियमित मास्कको प्रयोग र हात धुने गरेमा ९० प्रतिशत रोगबाट जोगिन सकिन्छ भन्ने लाग्दछ । तर सानो गल्ती महँगो सावित हुन सक्दछ ।
सावधानी अपनाउने विधि
१. नियमित मास्कको प्रयोग
२. साबुन पानीले हात धोइरहने
३. भिडभाडमा जाँदै नजाने
४. परिवारमा दीर्घ रोगीहरुलाई जोगाउने
५. झोल पदार्थ सेवन गर्ने
६. चिसो लाग्नै नदिने
७. नियमित दिनमा तीन पटक वाफ लिने
८. जथाभावी नछुने
९. केही होइन भन्नेहरुलाई सकेसम्म सम्झाउने
१०. जथाभावी अक्सिमिटर खरिद नगर्ने
११. रोग प्रतिरोधात्मक खानेकुरा तथा चिकित्सकको सल्लाह बमोजिम औषधी लिने
१२. ज्वरो आयो भने सरकारी अस्पतालमा गई सेवा लिने
१३. सम्बन्धित चिकित्सकसँग परामर्श लिने
१४. राती विरामीको हेरचाह राम्ररी गर्ने
१५. तीन दिनसम्म पनि ज्वरो घटेन भने अस्पताल जानै पर्छ
१६. जुन पायो त्यही औषधी सेवन नगर्ने
१७. जो पायो त्यही व्यक्तिसँग औषधी मागेर नखाने
सरकारले फिभर क्लिनिक खोलेको छ । सित्तैमा सेवा लिन सकिन्छ । कोही कसैलाई लक्षण देखापरे त्यही अस्पताल जाने सल्लाह दिनुहोस् । उच्च मनोबल सदैव राख्नु पर्दछ ।
अरुको ज्यान बचाउनुभन्दा अर्को पूण्य छैन । सचेत भई सबै लागौं । कोरोना भगाऔं । हामी सक्छौं ।
सबैको सुस्वाथ्यको कामना ।
…
(प्रिय पाठक !
तपाईका पनि यस्तै वा अन्य कुनै पनि खालका अनुभव लेख्नोस् । र, आफ्नो स्पस्ट परिचयसहित पठाउनुस् । nepalnamcha@gmail.com नेपालनाम्चामाको इमेल । सम्पादक, नेपालनाम्चा ।)