बाको चौरासी पूजा

कथा

गुरुदत्त ज्ञवाली
तिलोत्तमा १, रुपन्देही

‘सुन्नु भो ? अहिले बाआमाकहाँ नपस्नुहोला, मेरी बहिनीलाई लिएर आउनुहोला । नन्द पनि पछि आउनुहुन्छ’, श्रीमती चम्पाले आफ्नो श्रीमान्लाई थर्काउँदै भनिन् ।

दिनेश–चम्पाका श्रीमान्, समाजले दिनेश सर भन्छ । उनीहरूका तीन भाइ छोरा छन् । तीनै भाइ पढाइमा इन्जिनियर हुन् । संयोग भन्नुपर्छ, तीनै भाइ बेलायतको लन्डनमा छन् । दिनेश सरको आम्दानीको लेखै छैन । छोराहरूको बिहे भएको छैन । नेपाल फर्केपछि बिहे गर्ने रे, अझ दुई वर्षपछि मात्र ठुलो छोरो आउने । बाँकी दुई बाहेकको अर्को वर्ष एकैचोटि बिहे गर्ने भन्ने कुरा चम्पाबाटै फुस्केकोे हो ।

दिनेश सर पेशाले सरकारी जागिरे तर हाल अवकाशप्राप्त । सहरको नजिकै, अझ ठाउँमै भनूँ, बुटवलनजिकै शङ्करनगरमा राम्रो आकर्षक घर र ८-१० कठ्ठा खेत । त्यो ठाउँमा ८-१० कठ्ठा खेत भनेको करोडपतिको हैसियत हो । सबै जग्गा पिच बाटाले छुन्छ, पूरै घडेरीको मूल्य ।

अवकाशपछि दिनेश सरले घरगृहस्थीमा समय बिताउँछन् । यसो फुर्सद हुँदा सडक चोकतिर डुल्छन् तर खासै घर छोड्ने मान्छे चाहिँ होइनन् । चम्पा– अँ, दिनेश सरकी श्रीमती, उनी भने कहिल्यै घर कम्पाउन्डभन्दा बाहिर निस्केको देखिएन । यसो छरछिमेकमा पूजाआजा हुँदा र मर्दापर्दा दे्िखन्छिन्, त्यो पनि कसैसँग बोलचाल भएको थाहा पाइन्न । घरबाट निस्किन्छिन्, माइक्रो बस कुर्छिन्, बस चढ्छिन् र जान्छिन् । साँझ घर फर्किन्छिन् । कहाँ जान्छिन् ? के गर्छिन् ? दिनेश सरलाई पनि थाहा होला जस्तो लाग्दैन । किनकि उनले पतिलाई पटक्कै टेर्दिनन् ।

दिनेश सर कर्मचारी भएकाले सबैले सर भन्ने गरेका हुन् । त्यसो त पढेलेखेका मान्छे, समाजसँग बोल्दा हाँस्दा रमाइलो लाग्छ । राम्रै मान्छे भन्नुपर्छ । तीन तीन भाइ छोराहरूलाई इन्जिनियर पढाए, विदेश पठाउन सफल भए, समाजको नजरमा राम्रै मान्नुपर्छ । दिनेश सरले त्यति गफ त गर्दैनन्, श्रीमती चम्पाले कहिलेकाहीँ उनको घरमा गएर उनकै प्रशंसा गर्ने हो भने कुरा फुस्काउँछिन् । छोराहरूको कमाइबाट काठमाडौँमा एउटा घर किनेर एउटा फ्ल्याट आफूलाई राखेर बाँकी भाडामा छ रे ।

दिनेश सर आफूहरू पनि तीन भाइ हुन् । जेठा आफै, माइला पत्रकार छन् बुटवलमा र कान्छा व्यापारी–उनी पनि बुटवलमै छन् । पत्रकार चाहिँको पत्रकारिता गर्दासम्म चलेकै हुन्छ, छोड्दा सडक छाप, सबैले जानेको कुरा हो । तै दिनेश सर जागिरमा बहाल छँदै सुकुम्बासी समस्या समाधान आयोगमा काजमा परेका रहेछन्, पत्रकार भाइलाई बुटवलको बेलबासतिर सानो टुक्रा जग्गा मिलाइदिएका हुनाले जहान बच्चासहित धुकुर धुकुर चलेका छन् । तै भाउजू चम्पाले थाहा पाइनछन् नत्र के दिन्थिन् ? पत्रकार भाइको गुनासो हो यो । कान्छा भाइको सानो किराना पसल छ बुटवलमै । पसल पनि त्यस्तै छ । बिक्री भएको पैसाले पेट पाल्नै प¥यो, माल थप्ने अवस्था छैन, छोडिहाल्ने अवस्था पनि छैन । तै कान्छा भाइको सन्तान नभएकाले ठुलो खर्च छैन । बसाइँ डेरामा छ, बाँचेकै छन् ।

दिनेश सरको पुख्र्यौली घर कहाँ हो ? ख्याल भएन । बुढो घर अर्थात् बाआमा भएको घर बर्दिया हो । बर्दियाको राजापुरनजिकै घर भएकाले तीन भाइको पढाइ राजापुरको हाइस्कुलमा पूरा भयो । दिनेश सर चाहिँ लोक सेवामा पास भएछन्, राम्रै ठाउँमा जागिर पाए । नेपालको सरकारी जागिर खुट्टो टेक्न बेर हो, भित्र र बाहिरको आम्दानीले कोरियाको जागिरलाई उछिन्छ । त्यसैले त बुटवल शङ्करनगरमा घरजग्गा र छोराहरूलाई इन्जिनियर पढाउन सफल भए । दाजुकै आशामा बुटवलमा आएका उनका दुई भाइले के कति सहयोग पाए कुन्नि ? भाउजू चम्पाले सुइँको पाएकाले भेटघाटसम्म पनि हराएको छ । चम्पा अलि कडा र खराब मिजासकी महिला हुन् भन्ने कुरा उनले दिनेश सरलाई थर्काएको सुन्दा थाहा भयोे ।

परार साल छिमेकी खरेल काइँली आमाको चौरासी पूजा बडो धुमधामले गरे उनका छोरा बुहारीहरूले । पोहोर पनि नेपाले बाको चौरासीमा रमाइलै गरेका थिए । अस्ति भर्खर भनूँ, एक महिनापहिले ज्ञवाली बाको चौरासीमा पनि उनका छोरा बृहारीहरूले बेसरी रमाइलो गरेका थिए । सबै चौरासीमा दिनेश सर नजाने त कुरै भएन, चम्पा पनि गएकी थिइन् । उनलाई रमाइलो लागेछ कि क्या हो ? मुखबाट फुत्किहाल्यो, हाम्रा सासूससुराको पनि यस्तै गरी चौरासी गर्न पाए त हुने थियो नि । सँगै बसेका छिमेकी दिदीबहिनीहरूले कुरो समाते । ‘तपाईंका सासूससुरा पनि हुनुहुन्छ र दिदी ?’

‘हु्नुहुन्छ’, चम्पाले जवाफ दिइन् । त्यसभन्दा पहिले न चम्पाले न दिनेश सरले न उनका भाइहरूले आफ्ना बाआमाका कुरा गरेका थिए, न त ती बुढाबुढी छोरा बुहारीको घरमा नै आएका थिए । यो कुरा चाहिँ पछि चम्पाले सबै बताइन् ।

बर्दियाको राजापुरनजिकै ८४ वर्ष पूरा भएका बा र ८० वर्ष पुगेकी आमा एउटै छाप्रामा बस्छन् । सम्पत्तिमा खेत कर्णालीले खायो । कसरी निर्वाह गर्छन् ? चम्पाले कुरो मिलाउँदै जवाफमा भनिन्, देवरले पाल्नुभएको छ । उनले त्यस्तो भने तापनि दुइटै देवर बुटवलमा भएको र उनीहरूको बर्दिया पुग्ने बाटाखर्चसमेतको समस्या भएकाले देवरले पाल्ने वा हेरचार गर्ने सम्भावना थिएन । बेलाबेलामा दिनेश सरले चम्पाले थाहा नपाउने गरी केही पठाउँदा रहेछन् र बुढाबुढीलाई थोरै सहारा भएको रहेछ ।

चम्पा परिबन्धमा परिन् । उनको अनुमतिविना दिनेश सरले न बाआमालाई भेट्न जान सके न आफ्नो घरमा ल्याउन सके, न त चम्पाको अनुमतिले वा थाहा पाउने गरी खर्च पठाउन सके । आज चम्पाले सासूसुराको चौरासी पूजा गराउन बाध्य भइन् । समाजको डरले बाध्य भइन्, इच्छाले पनि होइन, रहरैले पनि होइन । क्षणिक भावनामा आएर फुस्काएको कुराले पोइका बाआमाको पूजा गर्नुपरेको पछुतो पनि लागेको थियो ।

ठिकै छ, बाआमाको चौरासी पूजा हामीले पनि रमाइलैसँग गरौँ । साँझको घर–सल्लाहमा दिनेश सरले कुराको सुरुवात गरे । उनका दुवै भाइ त्यो घर–सल्लाहमा सहभागी त थिए तर बिचराहरूको आर्थिक हिसाबले सहभागी हुने औकात थिएन । दाइभाउजुले आँट्नुभयो भने हामी उतार्न तयार छौँ । जे भए पनि दाजु भाउजू भनेको बाआमासरह हो, जे भन्नुहुन्छ, मान्न तयार छौँ भनी पत्रकार भाइ चाहिँले मिलाएर कुरा गरे । योजना बन्यो, सरजाम जुट्दै गयो । निम्ताकार्ड छापिन थाले या भनौँ बाँडिन थाले ।

हुँदाहुँदा अब किटान गरिएको दिन पनि नजिक आउँदै गयो । ४-५ दिन मात्र बाँकी थियो । इष्टमित्र, नातागोता जुट्न थाले । बाआमाको चौरासी पूजामा तुलादान, रथयात्रा सबै कार्य भव्यताका साथ गर्ने निर्णयानुसार तयारी हुँदै गयो । उता बेलायतमा रहेका दिनेश सरका तीनै भाइ छोराहरूले खबर पाए तर आउन नपाउने खबर आयो । हजुरबुवालाई राम्रो सम्मान गर्नू, अब सधैं राख्नू, फेरि बर्दिया नपठाउनू भन्ने कुरा दिनेश सरका जेठा छोराले आफ्ना बाआमा अर्थात् दिनेश सर र चम्पालाई फोनबाट भनेका थिए । ‘एस’ वा ‘नो’ भन्ने त्यसको प्रतिक्रिया भने आएको थिएन ।

दिनेश सर पश्चिमतिर हिँडे सालीलाई लिन । सालीको घर धनगढी हो । आफ्नी बहिनीको चाहिँ कञ्चनपुर जिल्लाले छुन्छ, धनगढी नजिकै हो घर । साँच्चै भन्ने हो भने कञ्चनपुरकी बहिनी, धनगढीकी साली र बर्दियाका बाबुआमा सँगसँगै लिएर आउन सकिन्थ्यो । तर त्यसो भएन र पनि साली र बहिनीलाई फोनबाट पूर्वजानकारी थियो, आफै पनि आउन सक्ने थिए । दिनेश सर खुसुक्क राजापुर गएर बाआमालाई लिएर आउनुपर्ने थियो । श्रीमती चम्पाको कडा निर्देशन भयो हिँड्ने बेलामा । उनले हुन्छ–हुन्न केही नभने पनि चम्पाको बानी थाहा थियो । आउँदा बाआमालाई सँगै ल्याएको भए घरमा बस्न–खान हुने थिएन । सरासर धनगढी गएर साली टिपेर आए, आफ्नी बहिनीलाई राजापुर पसेर बाआमालाई ल्याउने निर्देशन दिएर ।

चौरासी पूजा हुन दुई दिन मात्र बाँकी थियो । दिनेश सरको घर उज्यालो छ, झलमल्ल छ, सिङ्गारिएको छ । सबै मान्छे प्रसन्न छन् । सबै सरसामान लगभग तम्तयार छ । बाआमाबाहेक सबै पाहुनापाछा र इष्टमित्र आइसके । दिदीबहिनी, भान्जाभान्जी जुटिसके । कञ्चनपुरकी बहिनी पनि त्यसै दिन आइन् अर्थात् दुई दिन पहिले । तर, साथमा बाआमालाई नलिइकन ।

‘खोइ त बुवाआमा ?’, भाउजू चम्पाले नन्दलाई प्रश्न गरिन् ।

‘आउनुभा’छैन र ?’, नन्दले प्रतिप्रश्न गरिन् ।

एकखाले चसक्क मन भयो दुवै पक्षमा । नन्दले पक्कै दाजुले ल्याउनुभयो होला भन्ने लख काटिन् । दिनेश सर बहिनीको भर परे । जान त दिनेश सरकी बहिनी राजापुर गएकी रहिछन् । दुई दिन पहिले कुनै मान्छेले कार लिएर आएर बुढाबुढीलाई लिएर गएको भन्ने खबर छिमेकीबाट सुनेकाले हो न हो चौरासीमा जानुभएछ भन्ने परेछ । एकछिन खलबल प¥यो घरपरिवारमा । त्यो दिन साँझ परिसक्यो, पर्सि त चौरासी नै हो, भोलि एक दिन मात्र बाँकी छ ।

राति अबेरसम्म बसेर एउटा निष्कर्ष निस्कियो । दिनेश सरले लागेको खर्च दिने भए । चम्पाले खर्च गर्ने मन्जुरी दिइन्, नत्र इज्जतको सवाल भयो । देखाउन भए पनि इज्जत जोगाउनु थियो । त्यसो त यतिन्जेलको तामझाम सबै देखाउनका लागि थियो । र पनि त्यही देखाउने ठाउँसमेत उदाङ्ग होलाजस्तो भयो । माइलो भाइ पत्रकार, कान्छो व्यापारी गरी दुई भाइ राति नै जिप भाडामा लिएर जाने निधो गरे । जाने भन्ने बित्तिकै एउटा टाटा सुमो गाडीको समेत व्यवस्था भयो ।

गाडी रातारात लाग्यो पश्चिमतिर । बिहान झिसमिसेमै बर्दिया र कैलालीको साँध कर्णाली चिसापानी पुग्यो । दुवै भाइ र चालकले चियासिया खाएपछि गाडी फेरि हिँड्यो । लम्कीबाट दक्षिण टीकापुर हुँदै सत्ती बजार पुग्यो । त्यहाँबाट बर्दियाको राजापुर जान पुनः कर्णाली नदी तर्नुपर्ने हुँदा सबै पैदल जाने निधो गरे । राजापुरका मान्छे सत्ती बजार आउनु–जानु सामान्य कुरो हो । नदीदेखि पश्चिम सत्ती बजार पूर्वतर्फ राजापुर नदीको धार झन्डै दुई किलोमिटर छ । त्यसमध्ये थोरै जङ्गल, बगर र डुङ्गामार्ग पर्छ । दिनेश सरका भाइहरूले पुनः त्यहाँ चियानास्ता गरेपछि पूर्वपरिचितहरूसँग गफगाफमा लागे । राजापुर छोडेको धेरै वर्ष भएकाले हरेक कुुरा नयाँ लागेको थियो । कुरैकुरामा बाआमालाई लिन आएको कुरो गरे या भनौं, बाको चौरासी पूजाको कुरा गरे । स्थानीय परिचितका अनुसार उनका बाआमा केही दिनदेखि घर छोडेको वा भनौं घरमा बस्ने–खाने समस्या भएकाले टीकापुरस्थित वृद्धाश्रममा स्थानीय समाजसेवीको सहयोगमा आश्रय दिएको जानकारी प्राप्त भयो । उनीहरू एकछिन त छाँगाबाट खसेजस्ता भए र दुख व्यक्त गरे तापनि धेरै वर्षदेखि नै हेरचाह नगरेकाले त्यो दुख वा त्यो दिनको नरमाइलोपनमा बनावटी त थिएन ? प्रश्न गर्ने ठाउँ छ । र पनि उनीहरू सत्ती बजारबाट जन्मथलो राजापुर, जहाँ उनीहरू जन्मेको छाप्रो भएपनि घर छ, सम्झना छ, स्नेह छ, मातृत्वको सुगन्ध छ त्यहाँ पुगेनन् । फुर्सद थिएन उनीहरूको शब्दमा । गाडी हुइँकिएर टीकापुर पुग्यो । वृद्धाश्रमको खोजी भयो । आश्रम टीकापुरको पार्क सीतापुर भन्ने ठाउँको नजिकै रहेछ, जहाँ एउटा मन्दिर छ, पौवा–पार्टी पनि रहेछन् । वृद्धवृद्धाहरू आआफ्नै निर्दिष्ट ठाउँमा भूत, भविष्य र वर्तमान कालसमेतलाई बिर्सेर निराकार शून्यवादलाई भगवान्, स्वर्ग मानेर जीवनपछिको काल्पनिक सुख सम्झेर दिन काटेका छन् । आश्रमको व्यवस्थापनले संरक्षक, सन्तति वा भनौं देवदूतको भूमिका निर्वाह गरेका छन् । निःशुल्क सेवा, नितान्त निःशुल्क ।

Ad

गाडी टक्क आश्रमको गेटैनजिक पुगेर रोकियो । छोराहरू आश्रमभित्र प्रवेश गरे र आफ्नो समस्याको कुरा गरे । स्थानीय निकायबाट आफन्त कोही नभएका वृद्धवृद्धा भनेर प्रमाणित भएकाहरूको हकमा पुनः आफन्त हो भन्दै लैजानका लागि पालनपोषणका जिम्मा लिन्छौं भन्ने कबुलियत वा जमानत प्रमाणित नहुँदासम्म बाआमालाई लैजान नपाइने आश्रमको नियम रहेछ । छोराहरुले एकछिन फेरि जिल खाए । उनीहरूले बाआमासँग भेट गर्न भ्याएका थिएनन् । आश्रम प्रशासनसँग भेट गर्ने अनुमति मागे र प्रशासनले स्वीकृति दियो पनि । गए सरासर, भेट भयो ।

पुरुषतर्फ वृद्ध बा हुनुहुन्थ्यो, महिलातर्फ आमा । क्रमैसँग भेट गरे । बा !, आमा ! भनेर बोलाए । निराकारलाई जीवन मानेर बसेका बाआमा एकैछिन त निकै टोलाए र दुखका हुन् वा सुखका हुन्, हर्षका हुन् वा आश्चर्यका हुन् अथवा निराकार जीवनका हुन्, बरर आँशु खसालेर रोए । अनि छोराहरू लामो झरीले मूल फुटेको मुहान झै बर्बरी आँसु खसालेर रोए । आश्रमका कर्मचारीहरूको मानवता रोयो । सँगै गएको गाडी चालक किन हो कुन्नि ? डाको छोडेरै रोयो, मानौं त्यो क्षण रुने पर्व हो । एक कान दुई कान मैदान भनेझैँ आश्रमभरि त्यो खबर पुग्यो, वृद्धवृद्धा सबै रोए ।

झन्डै तीन–चार घन्टाको छलफल र धरौटीपछि चौरासी पूजा सकिएको दुई दिनभित्र आश्रममा फर्काउने सर्तमा बाआमा छोराहरूको जिम्मामा गए । वृद्धवृद्धालाई पनि त्यो सर्त मञ्जुर भयो, खुसी लाग्यो । गाडी फक्र्याे, झमक्क साँझमा घरमा पुगे ।

चौरासी पूजा किन हो किन धुमधामसँग सम्पन्न भयो । भोलिपल्ट सबै खर्चपर्च र कामको समीक्षा भयो । बाआमाको हिजो–अस्तिसम्मको अवस्थाको बारेमा कुरै हुन पाएको थिएन । त्यस दिन तीन भाइ छोरा तीन ओटी बुहारी, बाआमा र अरु केही नजिकका आफन्तसहित बसेर सबै कुरा भए । दिनेश सर, चम्पालगायत सबै आफन्तहरू बाआमाको विषयका कुरा सुनेर घुँक्कघुुँक्क गरेर रोए । बुढाबुढीले कति कुरा बुझे त्यस रुवाइको र कति बुझ्न सकेनन्, उनैले जानून् । टीकापुर आश्रमको न्यानो माया उनीहरूकै शब्दमा स्वर्ग र त्यस चौरासी पूजाको औपचारिकताको आडम्बर कति फरक छ, छुट्याउन सके सकेनन् त्यो पनि समीक्षाको विषय बन्ला । त्यस परिवारको जमघट र त्यो अश्रुधारा आफ्नै कारणले हो भन्ने कुरा राम्ररी बुझे ।

बाआमालाई वृद्धाश्रमतर्फ फर्काउने सर्तको अवधि पुरा भयो । फर्काउनुपर्ने बेला भयो । तीन भाइ छोरा फेरि एकान्तमा बसे । चौरासी पुजामा झन्डै तीन लाख खर्च भइसकेको थियो । त्यो खर्च न बाआमाको पालनपोषणमा खर्च भयो, न कुनै उपचारमा । पुनः आश्रममा फर्काउनु तिनै भाइ छोराहरूका लागि जिउँदै मर्नु बराबर थियो । राजापुरको पुरानो आवास साल्ट ट्रेडिङका नुनका बोरा पग्लेर सकिए झैँ सकिएको थियो ।

मैले पाल्छु भनेर कुनै छोराको मुखबाट आवाज आएन । लन्डनमा भएका नातिहरूले हजुरबुवा र आमाको त्यो अवस्था र ढोँगी चौरासी पूजाको विषयमा थाहा पाएछन् । तीन भाइ छोराको फोन आयो दिनेश सरलाई । पालैपालो कुरा भयो, वृद्धाश्रममा गई क्षमा याचनासहित हर्जाना तिर्नुपरे तिर्नू र हजुरबुवा आमाको नाममा निश्चित अङ्क तोकेर अक्षयकोष खडा गर्नू । कुनै हालतमा पनि उहाँहरूलाई ससम्मान सँगै राख्नू भन्ने जानकारी दिए । यो कुरा आमा चम्पाले पनि सुनिन् । चम्पाका छोराहरूले यो पनि चेतावनी दिए, यदि अब उप्रान्त हजुरबुवा र हजुरआमालाई अपमानजनक व्यवहार भयो भने हामी तीनै भाइले सोही व्यवहार गर्नुपर्ने हुन्छ भन्दै ढ्याक्क फोन राखे । चम्पाले चोर औँलो टोक्दै ढोकामा उभिएर फेरि रोइन् । यसरी रोइन्, मानौँ अब त्यस घरको सत्ता हस्तान्तरण भएको छ ।

यसपालि भने अर्को कोठामा बसेका वृद्धवृद्धा किन हो कुन्नि मुस्कुराउँदै छोराहरू भएको कोठामा पसे । चम्पाले बल्ल खुट्टा समातेर ढोगिन् । यो ढोग विगत २० वर्षपछिको पहिलो ढोग थियो सायद र रुँदै विगतको बारेमा माफी मागिन् । अब साँच्चै नै हर्षका आँसु आए सबैका आँखाबाट ।

दिनेश सर वृद्धाश्रमको सर्त पालना गर्न, उनैका छोराहरूको सल्लाहअनुसार अक्षयकोषको व्यवस्था गर्न टीकापुर जाने निधो गर्दै आश्रममा फोन गरे । आखिर छोराछोरी छोराछोरी नै हुन् । आश्रमले पनि नाइनास्ती गर्ने कुरो थिएन । चौरासीको औपचारिक पूजा हिजो भए पनि साँच्चैको चौरासी पूजा आज भयो । सबैको मनमा प्रसन्नता छायो । त्यो दिन गाउँभरिकै जनता भावनात्मक सम्मानजनक पूजामा रमाए । वृद्धवृद्धा साँच्चै नै जिउँदा भगवान् सावित भए । यसरी सकियो बाको चौरासी पूजा ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button