राजा महेन्द्रले बेलायतमै भने, ‘यादव ! नेपाल आएर मलाई भेट’
अशोक सिलवाल
रेडियो नछोड्दै यादव खरेल नदेखिने कलाकारिताबाट देखिने कलाकारितामा पनि आइसकेका थिए । यद्यपि त्यसअघि पनि उनले रंगमञ्चमा मञ्चित नाटकहरूमा पनि खेलिसकेका थिए । बालकृष्ण समको ‘मुकुन्द इन्दिरा’मा समेत खेलिसकेका थिए । श्यामदाश बैष्णव, भीमनिधी तिवारी र विजयबहादुर मल्लको नाटकहरूमा पनि उनलै गतिलै ‘रोल’मा अभिनय गरिसकेका थिए ।
त्यहीताकाको कुरा हो । ‘माइतीघर’ सिनेमामा नायक सीपी लोहनीको साथीको भुमिकामा अभिनय गर्दै थिए । सुन्दर नगरी पोखरामा सुटिङ भइरहँदा नायिका माला सिन्हाका पिता अल्बर्ट सिन्हा र उनी गफिदै थिए ।
अल्बर्टले भने, ‘तपाई अर्थशास्त्रमा एमए गरिसकेको मान्छे । यस्तो मान्छले यस्तो सामान्य रोल गरेर के बस्नु भएको ? तपाईं डाइरेक्टर हुनु पर्छ । भारतको पुनामा फिल्म निर्देशनको अध्ययन गर्न जानु होस् ।’
‘कुरा त ठिक हो । मैले अल्बर्टले भने झैं गर्नु पर्छ । म डाइरेक्टर हुनु पर्छ’, यादवले मनन गरे ।
त्यसरी सिनेमा निर्देशक हुने सपनाको बीउ अल्बर्टले कलाकार यादवको टाउकोमा हालिदिए, जसरी गीत र कविताको बीउ अलि अघि नै केशरीले हालिदिएका थिए ।
त्यसअघि उनलाई अभिनय गर्ने रहर मात्र थियो । बढी से बढी हिरो हुने रहर थियो ।
सिनेमा पढ्न उनी भारतको पुना त गएनन् । तर, ०२५ सालतिर ब्रिटिश काउन्सिलको स्कलरसीप मिलाएर चलचित्र निर्माण र निर्देशन पढ्न बेलायत उडे ।
बेलायत जानुअघि नै नारायणगोपालले गाएको ‘पिउँदापिउँदै जिन्दगी यो …’ देखि फत्तेमान, तारादेवी, प्रेमध्वज, पुष्प नेपाली, योगेश वैद्यलगायत थुप्रैले गाएका उनका थुप्रै गीतहरू लोकप्रिय भइसकेका थिए ।
कवि, गीतकार, रेडियो प्रस्तोता, नाटक र चलचित्र कलाकार, अर्थशास्त्रमा एमएम, कानुनमा स्नातक । त्यो बीचमा उनका कविताका किताब पनि आइसकेका थिए ।
बेलायतको लन्डन युनिभर्सिटी अन्तर्गतको लन्डन फिल्म स्कुलको पूर्णकालीन विद्यार्थी थिए उनी । तर, त्यही बीचमा बीबीसी नेपाली सेवा भर्खर सुरु भएको थियो । रेडियोको चर्चित नाम भइसकेका यादव लन्डनमै उपलब्ध हुनु बीबीसी नेपालीलाई ढुँगा खोज्दा देउता मिले झैं भएछ ।
उनी पूर्णकालीन विद्यार्थी भए पनि बीबीसीले नै सबै बाधा अड्काउ फुकायो । त्यति बेला यादवलाई बीबीसी नेपाली सेवा नभई बीबीसी नेपाली सेवालाई यादव चाहिएको थियो । पूर्णकालीन विद्यार्थी यादवले बीबीसी नेपाली सेवामा पनि काम गर्न थाले । नेपाल छाडे पनि उनले नेपालमै जसरी बीबीसी नेपाली सेवामार्फत नेपाली आकाशमा आफनो स्वर फालिरहे ।
त्यहाँ उनले दुई बर्ष काम गरे । राजा महेन्द्र, युवराज वीरेन्द्र, बालचन्द्र शर्मा, ईश्वर बराल, डा. रामप्रसाद पोख्रेल र अरु थुप्रैसँग उनले अनेक विषयमा अन्तर्वार्ता गरे । वीपी कोइरालालाई भेटे पनि राजनीतिक कारणले अन्तर्वार्ता गर्न नपाएको सम्झँदा उनलाई खल्लो लाग्छ ।
बीबीसी नेपाली सेवामार्फत नेपालभित्रै कमाएको लोभलाग्दो लोकप्रियतामा उनको अर्को स्तर थपियो ।
बिदामा युरोपका विभिन्न भुगोल चहारे । बाहिरी विश्वमा पुगे । संसार त अर्कै रहेछ, व्यापक रहेछ भन्ने लाग्यो । यसरी उनले जीवन र जगतको पाठशालाबाट ज्ञानको आयतन अझ फराकिलो बनाउँदै लगे ।
बेलायतमा बस्दा उनले ‘समुन्द्रपारी’ भन्ने यात्रा किताब लेखे ।
चलचित्र निर्माण निर्देशनमा डिप्लोमा गरेपछि बीबीसीको जागिर छाडेर उनी नेपाल फर्के । उनलाई त्यहाँको ‘रेड कार्पेट’ले मोहनी लगाउन सकेन । नेपाल आएर उनलाई सिनेमा निर्देशन गर्नु थियो । आफ्नै देशको माटोमा उभिएर, हिंडेर धेरै गर्नु थियो ।
राजा महेन्द्रले बेलायतमै भेट्दा भनेका थिए रे, ‘यादव ! तिमी नेपाल आउनु पर्छ । यता आएर तिमीले केही गर्नु पर्छ । आएर मलाई भेट ।’
महेन्द्रको सोच थियो रे, ‘नेपालमा हिन्दी सिनेमाको प्रभाव छ । त्यसलाई नेपालीले प्रतिस्थापन गर्नु पर्छ । नेपाली चलचित्र बनाउनु पर्छ । उद्योगको रुपमा यो क्षेत्रलाई अगाडि बढाउनु पर्छ ।’
नेपाल आएको केही समयपछि शाही नेपाल चलचित्र संस्थान खडा भयो र उनी त्यसको कार्यकारी अध्यक्ष भए । एउटा सिनेमाको निर्देशकभन्दा पनि नेपाली सिनेमा उद्योगकै पो निर्देशक भए ।
राष्ट्रकवि माधव घिमिरे, नाट्यसम्राट वालकृष्ण सम, श्रीधर खनाल त्यसको सदस्य थिए ।
तर, उनमा सिनेमा निर्देशन गर्ने सोच र सपना थियो । संस्थानमै रहे पनि उनी निर्देशन र प्रविधितर्फ मात्र हेर्ने जिम्मा लिन चाहन्थे । तर, त्यो सम्भव भएन । राजाको इच्छाले उनले त्यो जिम्मेवारी लिनै परेको उनी सुनाउँछन् ।
त्यसपछि निर्देशक प्रकाश थापालाई बोलाएर उनले ‘मनको बाँध’ बनाउन लगाए । उनी भने नयाँ अड्डाको पूर्वाधार, नीति, योजना र कार्यक्रम बनाउनमै सक्रिय भए । आफैले सिनेमा निर्देशन नगरे पनि बेलायतामा सिकेको सीप उनले उद्योग बनिनसकेको सिनेमा क्षेत्रको विकासका लागि समर्पण गरे । सिने क्षेत्रमा यसरी उनी नेपाली सिने इतिहासको जगैमा देखिने नाम बने ।
उनी त्यहाँ दुई बर्ष रहे । एक खालको आधारशीला तयार गरे ।