दशैसँगै तिम्रो पसिनाको अलिकति कमाई आउँछ

सुफल थपलिया

दशै आउँछ अनि तिहार आउँछ
मित्रहरुको शुभकामना सन्देश आउँछ
शुभकामनाले मात्र टर्दैन चाडवाड अनि
कमाउन हिँडेका मान्छेको याद आउँछ ।

आउन त आउँछ उत्तरबाट भेडा र च्यांग्रा आउँछ
दक्षिणबाट मखमली र सयपत्री आउँछ
बजारभरि चामल र तेलको भाउ बढेर आउँछ
यसपालि पनि आउन मिलेन नि काली भनेर नआउने त
तिमी नै हौ प्यारा, त्यसैत मझेरीभरि तिम्रो याद छरपस्ट आउँछ ।

दशैसँगै तिम्रो पसिनाको अलिकति कमाई आउँछ
पैसाभन्दा अगाडि ऋण तिर्नुपर्ने साहुको उर्दी आउँछ
जसोतसो व्यवहार मिलाउँदै नयाँ कपडा आउँछ
अनि घरमा छोराको रमाइलो दशै आउँछ ।

उन्मादी ती नवजोडीहरुको खुसी बाटोभरि आउँछ
लट्ट्टे पिङ्ग र दोहोरीको रमाइलो माहोल आउँछ
मेरो हाल छ के सोच्छौ प्रिय,
पूर्णिमाको जूनले सकेन प्यास मेट्न
त्यसैले त तिमीसँगैको ती रगिंन रातको याद आउँछ ।

कमाए रमाउँला, मरे बाकसमा भन्दै
विदेशिएका परदेशीहरु
माथ्लोघरे साइला दाईको लाश आउँछ
छिमेकी भाउजूको विजोग देखेर
आखाबाट आँशु आउँछ
हरेक पल झस्कन्छ मुटु
विधुवा हुने अब कसको पालो आउँछ ?

दशै आउँछ अनि तिहार आउँछ
मित्रहरुको शुभकामना सन्देश आउँछ
शुभकामनाले भरिन्न पेट अनि
कमाउन हिँडेका मान्छेको याद आउँछ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button