गुमिसकेको बाबाको काख किन्न सक्ने सामर्थ्य त आमामा पनि छैन

सुप्रिया खनाल

यो अभाव नै अभावको जिन्दगी अनि यो अभावमा गुज्रिरहेको म । जिन्दगीमा जे कुराको अभाव हुन्छ, त्यसको नै महत्त्व बढी हुनेरहेछ । यदि पैसाले पुरा हुने अभाव भए त पुरा पनि गर्न सकिन्थ्यो होला । म त आफूलाई नै सक्काए पनि पुरा गर्न नसक्ने अभावमा गुज्रिरहेकी छु । जिन्दगीमा हरेक कुरा किन्न पाइने रहेछ । तर, आमाबाबा काही नाईं न उनीहरूको माया नै । जति बुझ्ने हुँदै गइयो, त्यति नै यो अभाव ले पोल्न थाल्यो । बाँच्दाबाँच्दै पनि बारम्बार चितामा जलेको अनुभव गराउने रहेछ यी अभावले ।

कुनै अप्ठ्यारो पल, कुनै खुसी अनि दुख, बस् हजुरकै याद आउँछ बाबा । पीडामा एक्लै छोडेर जानु भयो हामीलाई, हाम्रो मुहारको मुस्कान अनि जिन्दगीभरीको खुसी पनि सङ्गै लिएर । हजुरको यादले त हरेक पल सताउँछ तर विशेष चाडवाडमा आफ्नो मन सम्हाल्न एकदम गार्हो हुने गर्छ । बस् आँखामा आँशु लुकाएर ओठमा मुस्कान देखाउन बाध्य हुने गर्छु । लाग्छ हजुर हुनुहुन्थ्यो भने मैले कति शब्दहरु कोर्थे होला हजुरको लागि । हजुर कति खुसी हुनुहुन्थ्यो होला ।

अहिले त मैले लेख्छु मात्र । न देख्न सक्नु हुन्छ न त सुन्न नै । बस् महसुस गरिराख्नु भाको छ, यति त थाहा छ, हामीलाई चटक्कै छोडेर हजुर पनि जान सक्नु भाको छैन भलै हजुरको शरीर जलेर खरानी भयो । तर, हजुरको आत्मा अझै पनि हामीसँग नै छ । हाम्रै वरिपरि छ । मान्छेहरूले भन्ने गर्छन्, तलाई त के छ र आमाले हरेक अभाव पुरा गर्दिएकी छ । उनीहरुले यो बुझ्दैनन् मेरी आमाले हाम्रो किन्न मिल्ने हरेक खुसी त किनिदिइन् तर बाबाको माया र उनको गुमिसकेको काख किन्न सक्ने सामर्थ्य त उनमा पनि छैन ।

हरेक पटकको यादमा एउटै फोटो हेरेर चित्त बुझाउने गर्छु बाबा म । यदि मरेपछि साँच्चै भेट हुने पक्का हुन्थ्यो भने म पनि मरेर हजुरसामु आउन तयार थिएँ । सायद कहिल्यै यो मौका नमिलेर होला, एकपटक मात्र त्यो काखमा लुटपुटिन मन छ । रुन मन छ । हरेक सिकायतहरु गर्न मन छ । बस् यी कुराहरू त कल्पनामा मात्र मीठा हुने गर्छन् बाबा ।

आज कुशेऔँसी । धेरै सम्झना अनि मनभरीको माया बाबा । यो जन्म त यतिकै भयो । यदि पुनर्जन्म भयो भने हजुरकै छोरी भएर जन्मिन पाऊँ । जहाँ हुनुहुन्छ, खुसी हुनुस् । हजुरको आत्माले शान्ति पाओस् अनि मलाई आशीर्वाद दिइरहनुस् । मैले जे गुमाएँ, त्यो त कहिल्यै पाउन सक्दिनँ । यति भन्न सक्छु कि मैलेजस्तो कसैले आफ्नो बाबा गुमाउन नपरोस् । तमाम बाबाहरुलाई कुशेऔँसीको शूभकामना ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button