लामाजी ! मस्कोबाट पठाएको आर्टिकल अनुवाद गरिसक्नु भयो ? प्रेसमा पठाउने बेला भयो

ससाङ् लामा
न्युर्योक, अमेरिका ।

‘ए लामाजी ! मस्कोबाट पठाएको त्यो आर्टिकल तपाईंँले अनुवाद गरिसक्नु भयो ? मलाई चाहियो, प्रेसमा पठाउने बेला भयो’, ‘सोभियत भूमि’ पत्रिकाका प्रधानसम्पादक शिवप्रसाद उपाध्यायले आदेशयुक्त स्वरमा भने ।

‘गरिसकेको छैन, यहाँँ नभ्याएर मैले घरमा लगेको छु’, मैले के भनेको थिएँ, बुढा त जंगी हाले, ‘त्यो आर्टिकल तपाईंको घरमा राख्नलाई मास्कोबाट पठाएको हो ?’

‘त्यो अर्टिकल अनुवादसहित भोलि मेरो डेस्कमा हुनुपर्छ’, उनले उर्दी जारी गरे ।

मनको कुरो फिल्टर नगरी फ्याट्टै भन्ने आदरणीय शिवप्रसाद उपाध्याय, कामको सिलसिलामा कहिले काहीँ झर्किन्थे, नत्रभने उनी सरल, सिधा र सौम्य ब्यक्ति थिए ।

नक्साल चारढुङ्गेस्थित सोभियत भूमि पत्रिकाको अफिसको दोस्रो तल्लाको ठुलो कोठामा, अहिले कोरोनाको बेला सामाजिक दुरी कायम गरेजस्तै हामी चारजना चार कुनामा बस्थ्यौँ- शिवप्रसाद् उपाध्याय, सुदर्शन देवकोटा, गिरीप्रसाद् उपाध्याय र म । पहिल्लो तल्लाको बुलेटिन शाखाचाहिँ अरविन्द रिमाल र महेशमणि दीक्षितले सम्हाल्थे, मस्कोस्थित एपीएन (एजेन्सी प्रेस नोभोस्ती) अन्तर्गत सञ्चालन भएको अफिस थियो, विश्वका बिभिन्न देशमा एपीएनले आफ्नो सञ्चार संस्था खोलेको थियो ।

सोभियत संघबाट उच्च शिक्षा हासिल गरेर फर्केलगतै मलाई त्यहाँ कामको अफर दियो । पत्रकारितामा मलाई स्कुल छँदादेखि नै दिलचस्पी थियो । दिवंगत ज्योन्देन उक्याव दाई (भुपु अंचलाधिश) न्युरोडको पिपल बोटमुनि घन्टौँ गफ चुटेर बेलुकी घर फिर्नेबेला मणिराज उपाध्यायको दुइपन्ने दैनिक समाचारपत्र ‘समाज’ ल्याउँथे । त्यो पत्रिका म रिठ्ठो नबिराइ पढथेँ । ‘सोभियत भूमि’ अफिस बन्द नहुन्जेल त्यहाँ काम गरेँ । पत्रकारिताको कखरा त्यहीँ सिकें ।

‘सोभियत भूमि’ अफिसमा शुरुका दिनहरु सजिलो थिएनन् । अंग्रेजी र नेपाली भाषा दुवैमा त्यति दखल थिएन । बोल्नु र लेख्नुमा कति फरक रहेछ भन्ने कुरा मैले त्यहीँ थाहा पाएँ । खसभाषा हामी फरर बोल्छौँ तर कसैलाई एक परिच्छेद् गतिलो पारामा खसभाषामा लेख्न दियो भने त्यसले दश ठाउँमा गल्ती गर्छ । र्ह्स्व दीर्घ त मै हुँँ भन्नेले पनि मिलाउँदैन । हिज्जे, शब्दको चयन, वाक्य संरचना एउटा सफल लेखनको लागि नभै नहुने कुरा हुन् ।

‘सोभियत भूमि’ अफिसमा बढी जस्तो अनुवादकै काम हुन्थ्यो । मेरा शुरुका अनुवादहरु हरेक किसिमले राम्रा थिएनन् । र्ह्स्व दीर्घको त कुरै छोडिदिऊँ । मेरा अनुवादहरुलाई उपाध्यायजी र देवकोटाजीले हल्का सच्च्याउँथे भने रिमालजीले त अत्यासै लाग्नेगरी रातै पाथेँ । मैले हरेस नखाइ लागिपरेँ । मेरा अग्रजहरुले गरेका अनुवादहरु मैले केलाई केलाई हेरें । अंग्रेजी वाक्यहरुलाई नेपाली वाक्यमा ढाल्ने तरिकाहरु सिकेँ । र्ह्स्व दीर्घ, व्याकरणिय नियमानुसार होइन, लेख्दा लेख्दै कण्ठ भयो । काम गरेको एक बर्षपछि म पनि अरुलाई सिकाउने भैसकेको थिएँ । मस्कोबाट पठाएको, रुसीबाट अंग्रेजीमा उल्था भएको केही हरफहरु नबुझेर उपाध्यायजी मलाई सोध्थे, त्यो नमिलेको अंग्रेजी हरफलाई रुसीमा लगेर मैले भाव अर्थ्याउंथें । उनले सदर गर्थे ।

‘राजनैतीक’ नभै ‘राजनीतिक’ लेखिनु पर्छ भन्ने कुरा मेरो मगजमा छापै बसाइ दिए रिमालजीले । एकदिनको कुरो हो, रिमालजीले आफ्नो कोठामा बोलाएर मलाई एउटा साहित्यिक समिक्षा आर्टिकल थमाए र भने, ‘लामाजी ! यसलाई उल्था गर्नुपर्‍यो, यो तपाईंँकै बिषय पनि हो ।’ त्यो मेरो लागि चुनौती र हाँक पनि थियो । ‘अरबातका बालकहरु’ उपन्यास त्यसबेला खुब चर्चामा थियो । अंग्रेजीमा लेखिएको त्यही उपन्यासको समिक्षालाई मैले उल्था गर्नुपर्ने थियो । मन लगाएर अनुवाद गरेँ । त्यस्तो सकस पनि भएन । रिमालजीलाई बुझाएँ । अफिस छुट्ने बेला रिमालजीले भने, ‘तपाईंँको अनुवादलाई मैले मानेँ । ‘आफ्नो काममा दत्तचित्त भएर लागिपरेको परिणाम् थियो त्यो । कम्ता खुशी भएको थिइन, त्यतिबेला ।

‘लामाजी ! तपाईँलाई दिएको आर्टिकल, ४०० शब्दभन्दा नबढाइ अनुवाद गर्नुहोला, फलानो आर्टिकल भोलि मैले प्रेसमा पुर्याइसक्नुपर्छ, घरमै लगेर भए पनि गरिदिनुहोला’ भनेर भन्थे उपाध्यायजी । त्यहीं काम गर्दा पत्रिकाको पेजलेआउट, फर्म्याटिङ आदि आर्टिष्टले गर्ने काम पनि सिकेँ । रुसी हाकिम आएर मलाई पत्रकार सम्मेलनमा उनलाई निम्तो आएको कार्ड दिन्थे र भन्थे, ‘यी बुढाहरुमाझ कति बस्छौ, यो निम्तो कार्ड लगेर काठमाडौका पत्रकारहरुसित भेटघाट गर ।’

पुराना पिढिका नेपाली पत्रकारहरुलाई मैले सोभियत भूमि मा काम गर्दा चिनेँ । हाम्रो अफिसले बेला बेला पत्रकारहरुको भेला गराइ रह्न्थ्यो । कहिले ती भेला रुसी दुतावासमा हुने गर्थे । कतिपय भेलामा मैले दोभाषेको काम पनि गरें । तर त्यो काम मलाई कहिल्यै कम्फोर्टेबल लागेन । भेलापश्चात रुसीहरुले भोडकाले सत्कार गर्थे । पछिपछि पेरेस्त्रोइका लागे । पछि ती भेलाहरु कम् हुँदै गए । एकदिन बाटामा एकजना पत्रकारहरुले मलाई झ्याप्पै समाते र भने, ‘तपाईंँको हाकिमलाई भनेर हाम्लाई बोलाउनु पर्‍यो । नबोलाएको निकै पो भो । रुसी भोडकाको स्वादै बिर्सन लागिसक्यो ।’

महेशमणि दीक्षितको कुरो गरिनँ भने सोभियत भूमिको कथा अपुरो हुन्छ । नितान्त राजनीतिक प्राणी थिए उनी । मिलनसार, हँसिला । अनुवाद छिट्टो गर्नेमा उनी पनि पर्थे । उनको हस्तलेखनचाहिँ अलि खज्मजिएको हुन्थ्यो । कतिले भन्थे, ‘उनको हातभन्दा दिमाग छिटो चल्नाले त्यस्तो भएको हो ।’ हरहमेशा राजनीतिक टर्मिनालोजीहरुको व्याख्यामा घोत्लिएको पाउँथे । एकचोटि भर्र्याङ्बाट ओर्लिँदै गर्दा मैले उनलाई राजनीतिक जोक सुनाएको थिएँ, उनी हाँसो थाम्न नसकेर बीच भर्र्याङमै थुचुक्क बसेका थिए । उनको हस्तलेखनचाहिँ रिमालजी र देवकोटाजीले मात्र् बुझ्थे । एकदिन अचानक जयनेपालदेखि हातिसार जाने मोडमा उनीसित जम्का भेट भयो । ‘न दुआ न सलाम’, एक्कासी यस्तो सवाल तेर्स्याए, ‘राष्ट्रवाद र अन्धराष्ट्रवादको परिभाषा दिनुहोस् त, लामाजी ।’

एक जुग भयो मेरा यी अग्रज सहकर्मीहरुसित देखभेट नभएको । केही त यस असार संसारलाई त्यागेर गइसके । सामाजिक सञ्जालमा अरविन्द रिमाल र मधु बस्नेतसित भच्र्युल सम्पर्क हुन्छ बेला बेला । सामाजिक सञ्जालमा म प्राय लेखिरह्न्छु । मेरो लेखनमा धेरै परिष्करण आएको कुरा पाठकहरुको प्रतिकृयाबाट थाहा पाउँछु । मेरो लेखनको प्रस्थान विन्दु नै सोभियत भूमि पत्रिकाबाट भएको हो । मस्कोमा हुँदा यदाकदा विद्यार्थीहरुले निकाल्ने हस्तलिखित पत्रिकाहरुमा लेख्थेँ । मेरा अग्रजहरु रिमालजी, देवकोटाजी आदिबाट नै मैले लेखन कला सिकेँ । रिमालजी त जीवनको उतरार्द्वमा पनि लेखनमा सक्रिय छन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button